पर्साको छिपहरमाई गाउँपालिकामा आइतबार दिउँसोबाट मतगणना रोकिएको छ। मतगणना पारदर्शी नभएको भन्दै नेपाली कांग्रेसले मतगणना कार्य स्थगित गराएको छ।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर गाउँपालिका अध्यक्षका उम्मेदवार नवीन सिंहले मतदान र मतगणनामा धाँधली भएको भन्दै धाँधली गर्ने कर्मचारीलाई कारबाही गर्न माग राखेका छन्। गाउँपालिकाका निर्वतमान अध्यक्ष मनोज गुप्ताले करारमा आफू निकटलाई नियुक्त गरेर मतगणनामा मनोमानी गरेको सिंहको आरोप छ।
गुप्ताको निर्देशनमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका सहायक मतदान अधिकृत शम्भु साहले एक हजार ५ सय ९० मतलाई १ हजार ६ सय २० बनाएको सिंहले आरोप लगाएका छन्। उनले निवर्तमान अध्यक्ष गुप्ताको वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा पुनः मतदान गराउनसमेत माग गरेका छन्।
चेरगाहा मतदान केन्द्रमा भएको मतदान रद्ध गरेर पुनः मतदान नगरिए पूरै गाउँपालिकाको मतगणना सुरु हुन नदिने उनले चेतावनी दिएका छन्। ‘चेरगाहा मतदान केन्द्रको मतदान रद्ध गरी पुनः मतदानको मिति घोषणा गरिएन भने अवस्था भयावह हुन सक्छ,’ उनले भने, ‘हामी जेल जान पनि तयार छौँ।’ मृत्यु भइसकेका मतदाताको नाममा पनि मत खसाउन लगाएको र त्यसको प्रमाण पनि आफूसँग सुरक्षित रहेको सिंहले बताएका छन्।
पत्रकार सम्मेलनमा कांग्रेसका जिल्ला प्रवक्ता रमेशनाथ पाण्डेले मतदान र मतगणनामा धाँधली गर्ने कर्मचारीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन्।