Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०७:२९:००
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

मौन अवधिको पहिलो दिन छिटपुट झडप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २९ बिहीबार ०७:२९:००

निर्वाचनको मौन अवधि सुरु भएको पहिलो दिन सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच सुर्खेत, प्युठान, दोलखालगायतका जिल्लामा झडपका घटना भएका छन् । सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा सत्तरूढ गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमाले समर्थक ३६ वर्षीय सुनील विक र २४ वर्षीय इन्द्र विक घाइते भएका छन् । झडप नियन्त्रण गर्न घटनास्थल पुगेका चार प्रहरी पनि घाइते भएका छन् ।

प्युठानको सरुमारानी गाउँपालिकामा पनि गठबन्धन र एमाले समर्थकबीच झडप भएको छ । झडपमा शंकर विक, टेकेन्द्र मस्र्याङ्गी, गुमानसिंह लम्तरी र रमेश राना घाइते भएका छन् । प्रहरीका अनुसार मौन अवधिमा भोट माग्दै हिँडेको विषयमा दुई समूहबीच झडप भएको थियो । 

मौन अवधिमा मतदाता प्रभावित गर्ने उद्देश्यले गाउँ प्रवेश गरेको भन्दै बुटवल उपमहानगरपालिका–११ स्थित माझगाउँमा बुधबार दिउँसो केही बेर स्थिति तनावग्रस्त बन्यो । एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया माझगाउँनिवासी महेन्द्र आर्यालको घर पुगेकी थिइन् । सोही विषयलाई लिएर गठबन्धन दलका कार्यकर्ताले विरोध गरेका थिए । मायाले माझगाउँका मतदातालाई पैसा बाँडेको अरोप लगाएका थिए । घटनास्थलबाट प्रहरीले पैसा बरामद गर्न नसकेपछि स्थिति मत्थर बन्न पुगेको थियो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले छिटपुटबाहेक मौन अवधिको पहिलो दिन स्थिति शान्तिपूर्ण रहेको बताए । ‘बुधबारबाट मौन अवधि सुरु भएको छ । हालसम्मको अवस्था हेर्दा सबै ठाउँ शान्तिपूर्ण छ । केही ठाउँमा सामान्य खालका घटना भएका छन् । ती सबै नियन्त्रणमा आइसकेका छन्,’ उनले भने ।

बुटवलमा बम विस्फोट
बुटवल/ निर्वाचनको मौन अवधिको पहिलो दिन बुधबार बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकको आकासे पुलको पश्चिमतर्फ मुनि बम विस्फोट भएको हो । प्रहरीले कुकर बम विस्फोट भएको अनुमान गरेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले विस्फोटबाट कुनै क्षति नभएको बताए । प्रहरीका अनुसार बम विस्फोट भएको स्थलमा रातो पर्चा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले पर्चा च्यातिएको अवस्थामा रहेकाले के लेखिएको छ भन्ने अनुसन्धानकै क्रममा रहेको बताए । 

महिलाको हत्या आरोपमा वडाध्यक्षका उम्मेदवारसहित तीन पक्राउ

रुकुम पूर्व/ पुथाउत्तरगंगा गाउँपालिका–११ की एक महिलाको हत्या आरोपमा तीनजना पक्राउ परेका छन् । ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढाको हत्या आरोपमा पुथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा र कुमारसिंह बुढालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू तीनैजना माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकामध्ये जयकुमार बहालवाला वडाध्यक्ष हुन् भने कुमारसिंह माओवादीबाट वडाध्यक्षका उम्मेदवार हुन् । 

उनीहरूमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थपेर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । किटानी जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १९ वैशाखमा चुनावी प्रचारका क्रममा माओवादी र एमाले कार्यकर्ताबीचमा झडप भएको थियो । जसक्रममा केही घाइते भएका थिए भने जुनमाया बेपत्ता थिइन् । खोजतलासका क्रममा बुढाको शव स्थानीय जंगलमा सोमबार फेला परेको थियो ।

शरीरका विभिन्न भागमा चोट रहेको बताइएको छ । एमालेले माओवादी कार्यकर्ताले अपहरण गरी बुढाको हत्या गरेको आरोप लगाएको छ । बुढाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ ।