निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
यम बम काठमाडाैं
२०७९ बैशाख २९ बिहीबार ०६:४२:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दु:खमा बेवास्ता, चुनावमा सुविधा

Read Time : > 5 मिनेट
यम बम, काठमाडाैं
२०७९ बैशाख २९ बिहीबार ०६:४२:००

दुई तस्बिर

०७७ वैशाख पहिलो साता : कोरोना महामारीले काठमाडौंमा अलपत्र परेका हजारौँ नागरिक पूर्वदेखि पश्चिमसम्म घर पुग्न तातो राजमार्गमा साता दिनसम्म पैदल हिँडे, दलले वास्ता गरेनन्

४ वैशाख ०७७ मा काठमाडौं उपत्यका छाडेर पैदल घर हिँडेका नागरिक पृथ्वी राजमार्गमा (तस्बिरमा) । कोरोना संक्रमण बढ्न थालेपछि सरकारले ११ चैत ०७६ देखि लकडाउन गर्‍यो । कार्यालयदेखि उद्योगधन्दासम्म बन्द भएपछि उपत्यकामा रहेका हजारौँ नागरिक बेरोजगार बने । बाँच्न नै गाह्रोे भएपछि उनीहरू बाध्य भएर पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म हिँडेरै घर पुगे । फाइल तस्बिर 

०७९ वैशाख अन्तिम साता : काठमाडौंमा रहेका मतदातालाई गाउँ लैजान दलहरूले लक्जरी बसकै व्यवस्था गरेका छन्, कतिपय उम्मेदवारले त बाटोमा खाना–खाजाको प्रबन्धसमेत गरेका छन्

स्थानीय निर्वाचनका लागि बुधबार (२८ वैशाख ०७९) घर जान काठमाडौंको जडीबुटीमा जम्मा भएका नागरिक । विभिन्न दल र उम्मेदवारले काठमाडौंमा रहेका आ–आफ्ना क्षेत्रका मतदातालाई गाउँ लैजान सुविधासम्पन्न बसको व्यवस्था गरेका छन् । उनीहरूले व्यक्ति–व्यक्तिलाई फोन नै गरेर मतदानका लागि गाउँ जान आग्रह गरिरहेका छन् । तस्बिर : संजित परियार/नयाँ पत्रिका

दु:खमा बेवास्ता, चुनावमा सुविधा

०७४ को स्थानीय निर्वाचनमा झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईले बराबर आठ हजार दुई सय ७५ मत पाए । गोलाप्रथामा काफ्ले विजयी भएकी थिइन् । तेस्रो स्थानमा रहेका माओवादीका विमलकुमार संग्रौलाले एक हजार नौ सय नौ मत पाएका थिए । यो यस्तो उदाहरण हो, जसले निर्वाचन एक–एक मतको अंकगणितको खेल हो भन्ने दर्शाउँछ । त्यसैले दलहरू निर्वाचनका वेला एक–एक मतमा नजर लगाउँछन् र मतदान केन्द्रसम्म पुर्‍याएर आफ्नो अंक बढाउन चाहन्छन् । यसैका लागि उनीहरूले अहिले सुविधासम्पन्न गाडीमा सहरबाट मतदाता गाउँगाउँ लैजादै छन् ।

०७४ मा एक महानगरसहित तीन सय १२ पालिकामा पाँच सय मतको अन्तरले हारजित भएको थियो । त्यसैले अहिले विभिन्न दल र उम्मेदवारहरू सहरमा रहेका आफ्ना मतदाता गाउँ लैजान हरसम्भव प्रयास गरिरहेका छन् । पैसा खर्चेर मतदाता लग्न तँछाडमछाड गरिरहेका छन् । कोभिड कालमा दु:खकष्टसहित गाउँ हिँडेका नागरिकको उद्धारमा भने उनीहरूले खासै ध्यान दिएका थिएनन् । 

नि:शुल्क बस सेवाबारेको सूचना विभिन्न दलका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा राखेको–राख्यै छन् । एमाले नमोबुद्ध–काठमाडौं सम्पर्क मञ्चका शंकर गिरीले लेखेका छन्, ‘भोट हाल्न काठमाडौंबाट नमोबुद्ध नगरपालिकाको कोटतिमालतर्फ रुटमा जानुहुने काठमाडौंमा बसोवास गर्नुहुने सम्पूर्ण महानुभावलाई यातायातको व्यवस्था गरिएको छ ।’ एमालेकै उमेश खड्का लेख्छन्, ‘भीमेश्वर नगरपालिका– ७ मा २८ र २९ गते जानका लागि बसको व्यवस्था छ । दुवै दिन बिहान ७ बजे जडीबुटीबाट बस जाने हुँदा समयमै उपस्थित हुन अनुरोध गर्दछु ।’

कांग्रेस कार्यकर्ता कृष्ण भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भीमसेन थापा गाउँपालिका– २ का लागि कांग्रेसले बालाजु चोकबाट गोरखा हुँदै कयापानीसम्मको यातायातको व्यवस्था गरेको छ ।’ यसैगरी कांग्रेसकै कार्यकर्ता ईश्वर मानन्धर लेख्छन्, ‘काठमाडौंबाट मतदान गर्न भीमेश्वर नगरपालिका आउनुहुनेले बसका लागि सम्पर्क गर्नुहोला ।’ कांग्रेसकै भण्डारी अविरल लेख्छन्, ‘काठमाडौंबाट कोही गाउँ (धनुषा, मिथिला नगरपालिका) फर्किँदै हुनुहुन्छ भने सम्पर्क गर्नुहोला ।’

माओवादीका मिलन तामाङले फेसबुकमा लेखेका छन्, ‘महाभारत गाउँपालिका– ७ घर भई काठमाडौंमा अस्थायी बसोवास गर्दै आएकालाई काठमाडौंबाट घर जानका लागि सम्पर्क गर्नुहोला ।’ माओवादीका अर्का कार्यकर्ता प्रचण्ड अगाई लेख्छन्, ‘स्थानीय चुनावमा भीमसेन थापा गाउँपालिका– २ (गोरखा)का लागि माओवादी केन्द्रका तर्फबाट गाउँ जानका लागि यातायातको व्यवस्था गरिएको अवगत गराउन चाहन्छौँ ।’

स्थानीय चुनाव नजिकिएसँगै दलका सम्पर्क मञ्च, उम्मेदवार र उम्मेदवार समर्थित व्यक्तिहरूले ‘काठमाडौंबाट गाडी छुट्ने समय र सम्पर्क नम्बरसहित सामाजिक सञ्जालमा सूचना राखेका छन् । यसका लागि कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलका उम्मेदवार र समर्थकले गाडी बुकिङ गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अहिले उपत्यकाबाट बाहिरिनेमध्ये करिब ३० प्रतिशत गाडी बुकिङमा गइरहेका छन् । ‘चुनावले बुकिङको माग बढेको छ, चुनाव सकिएपछि यो अवस्था रहँदैन, बढीजसो नियमितमै चल्छन्,’ उनले भने । सिटौला एक सातामा कम्तीमा १० लाखले उपत्यका छाडेको आकलन गर्छन् । ‘एक हप्ताअघिसम्म खाली–खाली जाने बसमा अचेल यात्रुको चाप धेरै हुने गरेको छ,’ उनले भने । उनका अनुसार लामो र मध्यम दूरीमा मतदानका लागि जानेमध्येका धेरै यात्रु बुधबारसम्म गइसकेका छन् । छोटो दूरीमा भने बिहीबार चाप हुने उनले बताए । 

निर्वाचन आयोगले मतदाता लैजाने विषयमा आचारसंहितामा स्पष्ट व्यवस्था नरहेको र उम्मेदवार लिएर गए उसको खर्चमा जोडिनुपर्ने बताएको छ । ‘यो विषयमा आचारसंहिताले बोलेको छैन । चुनावको दिन मतदाता ओसारपसार गर्न पाइँदैन । तर, त्यसअघिको विषयमा ठ्याक्कै भनिएको छैन । मतदाता घर जान त पाउँछन् नै । हामीले सोध्दा मतदाताले आफ्नै खर्चमा गएको भन्ने गरेका छन्,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘यदि उम्मेदवारले लगेका हुन् भने त्यो खर्च उम्मेदवार खर्चमा जोडिनुपर्‍यो । यसका लागि सिलिङ तोकिएको छ, त्योभन्दा धेरै हुनुभएन । उम्मेदवारले सवारीसाधनमा एक लाख ५० हजार र इन्धनमा ४० हजार रुपैयाँ खर्च गर्न पाउँछन् ।’

कतिपय मतदाताले नि:शुल्क जान मानेका छैनन् भने कतिपय आफ्नै खर्चमा गाउँ पुगेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका– १० चन्दनपुर घर भई हाल काठमाडौंको बागबजार बस्दै आएका प्रेमप्रसाद पोखरेललाई कांग्रेस र एमालेका स्थानीय नेताले जिल्लाबाट फोन गरेर भने, ‘काठमाडौंबाट गाडी छुट्दै छ, त्यसैमा आउनुहोला ।’ कामकाज र अध्ययनका लागि सहर पसेका मतदातालाई थातथलो लग्न राजनीतिक दलहरू तँछाडमछाड गरिरहेका वेला पोखरेलले पनि सित्तैमा गाउँ जाने अवसर पाएका थिए । 

दलहरूलाई लोभ थियो, शुक्रबार हुने स्थानीय चुनावमा एक भोट भए पनि थपिन्छ, तर उनी गएनन् । ‘फुर्सद नभए पनि भोट हालेर आउनुपर्‍यो सोचेको थिएँ, तर फर्किँदा आफैँ टिकट काटेर आउनुपर्छ । चुनावपछि त कहाँ हेर्छन्,’ उनले भने । सार्वजनिक यातायातमा काठमाडौं–खाँदबारीको न्यूनतम भाडा दुई हजार रुपैयाँ छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– २ की सुधा नेपाल अफर छाडेर काठमाडौंबाट गाउँ पुगेकी छिन् । ‘बस त आएको थियो, तर कोचाकोच हुन्छ, फेरि फर्कँदा उनीहरू (उम्मेदवार)ले पठाइदिने होइनन् । त्यही भएर आफैँ टिकट काटेर आएँ । आफ्नै हिसाबले आउँदा स्वतन्त्र भएर इच्छाएकालाई भोट हाल्न सकिन्छ ।’

सहरमा अस्थायी बसोवास गर्दै आएका मतदातालाई सित्तैमा लगेर प्रभावित पार्न सकिन्छ भन्ने मनोविज्ञान रहेको पाइन्छ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारीले कोभिडमा भुलेका दलले चुनावमा मतदाता सम्झेको र दलको गाडी चढेर जाने मतदाता दबाबमा पर्ने बताइन् । ‘दलहरूले भोटको मात्र राजनीति गरिरहेका छन् । नागरिकलाई भोट मात्र देख्छन् । भोटको ठेक्का लिएर मतदाता ओसारेर मतदातामाथि मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् । दलले बुकिङ गरेको गाडीमा गएपछि त मतदाता स्वत: दबाबमा हुन्छन् । मतदानमा स्वविवेक प्रयोग गर्न नसक्ने स्थिति पनि हुन सक्छ । नेपालमा मतदातामा पनि जागरुकता छैन, चेतना पनि कम छ,’ उनले भनिन्, ‘भोटको ठेक्का लिने प्रवृत्ति तत्काल अन्त्य हुने पनि देखिँदैन । अवसरवादी भोटको राजनीति भइरहेको छ । मतदाताले आफ्नो विवेकलाई बन्दक राख्नुहुँदैन । कोभिडको वेला राज्य वा दलहरूले श्रमिकलाई हेरेनन् । तर, चुनावमा तिनै श्रमिकलाई ओसारेर गाउँ लगिँदै छ ।’ 

राज्य होस् वा राजनीतिक दल, नागरिकलाई होइन मतदाताका रूपमा मात्र सम्झन्छन् । जसको ज्वलन्त उदाहरण हो, ०७६ चैतमा भएको लकडाउन र त्यसपछि सिर्जित समस्या । लकडाउनका कारण काठमाडौं वा अन्य सहरमा रहेका मजदुर पूर्व झापादेखि पश्चिम कैलाली कञ्चनपुरसम्म हिँडेरै घर पुगेका थिए । तर, दलहरू आफूहरू दुःखसुखमा जनतासँगै रहने गरेको बताउँछन् । 

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मतदातालाई गाउँ लैजाने विषय केन्द्रले नहेर्ने र स्थानीय उम्मेवारको विषय भएको बताए । ‘मतदातालाई गाउँ लैजाने विषय केन्द्रले हेर्दैन । यो विषय उम्मेदवार वा स्थानीय तहमा पार्टी कमिटीले हेरिरहेका हुन्छन् । हामीले नागरिकलाई अरू वेला नहेरेको भन्ने होइन,’ उनले भने, ‘कोभिडको वेला अवस्था फरक थियो, गृह मन्त्रालयले नै सवारीसाधन चल्न नदिएको र एक नागरिक अर्काे नागरिकसामु जान पनि डराउनुपर्ने स्थित थियो । त्यही कारण उद्धार गर्न कठिनाइ थियो । यद्यपि, पछि कतिपय स्थानीय पार्टी कमिटी र स्थानीय तहले नागरिकको उद्धार गरेका थिए ।’

कांग्रेस पार्टी कार्यालय सचिव डा. प्रदीप पराजुलीले आफ्नो पार्टीले मतदाताका लागि सवारीसाधनको व्यवस्था नगरेको दाबी गरे । ‘निर्वाचनमा मतदातालाई ओसारपसार गर्न पाइँदैन । त्यो कानुनी व्यवस्थाविपरीत हो । हामीले मतदातालाई आउजाउका लागि सवारीसाधनको व्यवस्था गरेका छैनौँ,’ उनले भने ।

माओवादीका कार्यालय सचिव श्रीराम ढकालले पार्टीका सम्पर्क मञ्चले निर्वाचनमा साधनहरूको व्यवस्थापन गरेको बताए । ‘सम्पर्क मञ्चहरू (जस्तो, काठमाडौं–रामेछाप)ले गाडीको व्यवस्था गरिरहेका छन् । यस्ता मञ्च ७२ जिल्लामा छन् । ती मञ्चहरूले सहयोग गरिरहेका छन्,’ उनले भने, ‘कोभिडका वेला पनि कार्यकर्ता परिचालन गरेर सचेतना अभियान चलाएका थियौँ, उद्धार पनि गरेका थियौँ ।’ 

३०% गाडी बुकिङमा गइरहेका छन् : सरोज सिटौला, वरिष्ठ उपाध्यक्ष, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधनमध्ये करिब ३० प्रतिशत बुकिङमा गइरहेका छन् । चुनावले बुकिङको माग बढेको छ, चुनाव सकिएपछि यो अवस्था रहँदैन । सबैजसो गाडी नियमित रुटिनमै चल्छन् । एक साताअघिसम्म काठमाडौंबाहिर खाली–खाली जाने बसमा अचेल यात्रु खचाखच भइरहेका छन् । लामो र मध्यम दूरीका ठाउँमा जानेमध्ये धेरै यात्रु बुधबारसम्म गइसकेका छन् । छोटो दूरीमा भने बिहीबार चाप हुन्छ होला । 

बुधबार एकै दिन ६० हजार बाहिरिए

मतदानका लागि घर जान काठमाडौंको कलंकीमा बुधबार जम्मा भएका सर्वसाधारणको भिड । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

बुधबार मात्र झन्डै ६० हजारले स्थलमार्गबाट काठमाडौं उपत्यका छाडेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । घर जानेको भिडले कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत क्षेत्रमा सवारी जाम भएको थियो । बुधबार मात्र नौ हजार नौ सय ५६ सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।

ट्राफिक कन्ट्रोलका अनुसार भित्रिने बसमा यात्रुको संख्या निकै कम हुने गरेको छ । तर, बाहिरिने बसमा यात्रु भरिभराउ हुने गरेका छन् । पछिल्लो एक सातामा मात्र ६६ हजार ६ सय २५ सवारीसाधन बाहिरिँदा चार लाख ३५ हजार ६ सय एक यात्रुले सडकमार्गबाट मात्र उपत्यका छाडेको तथ्यांक महाशाखाको छ । सामान्य अवस्थामा भने दैनिक ४०–४२ हजार यात्रु बाहिरिने–भित्रिने गरेको ट्राफिक महाशाखाका एसपी सञ्जीवकुमार दासले बताए । 

यो पनि पढ्नुहोस् : ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’