निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
नवीन प्यासी काठमाडाैं
विनोद विष्ट काठमाडाैं
सागर चन्द काठमाडाैं
२०७७ बैशाख ५ शुक्रबार १०:०३:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
विनोद विष्ट, काठमाडाैं
सागर चन्द, काठमाडाैं
२०७७ बैशाख ५ शुक्रबार १०:०३:००

पृथ्वी राजमार्ग, लकडाउनको २३औँ दिन ।
पछिल्ला दिनमा जस्तै बिहीबार पनि राजमार्गमा ट्रक र केही अत्यावश्यक सेवाका यातायातका साधन मात्र गुडिरहेका थिए । सडककिनारमा भने पैदल यात्रुको भीड । वैशाखकोे दिन, मध्याह्नको चर्को घामले तातिएको सडकमा पैताला खियाउँदै, पसिना बगाउँदै हिँडिरहेका यी मजदुर घुम्न राजधानी आएका होइनन् । पसिना बगाउन र देश बनाउन आएका यिनै पौरखीलाई अप्ठ्यारो वेलामा राज्यले उपेक्षा गर्‍यो, त्यसैले उनीहरू आफ्नै गाउँतर्फको यात्रामा ताँती लागेका छन् ।

चितवनको मौवाखोलाकिनारमा एक हुल यात्रु सुस्ताइरहेका थिए । उनीहरूमध्ये धेरैको खुट्टामा जुत्ता छैन । चप्पल थिए, हिँड्दाहिँड्दा खिइसके । सुन्निएका खुट्टालाई एकछिन आराम दिन बसेका उनीहरूको यात्रा आधा पनि भएको छैन, गन्तव्य हो– बर्दिया, रोल्पा, सल्यान र दाङ । कति दिन लाग्ने हो ? कहाली लाग्छ भनेर उनीहरू हिसाब गर्न पनि तयार छैनन् । 

आफ्नै खुट्टाले पोलिरहेको छ । दाङ, देउखुरीका घनश्याम चौधरी सिन्धुपाल्चोकको बाह्रबिसेबाट हिँडेका हुन् । ३० चैतमा बाह्रबिसेबाट हिँडेका चौधरीले बाटैमा नयाँ वर्ष आएको पत्तो पाएनन् ।

३५ वर्षे चौधरी भन्छन्, ‘रातदिन नभनी हिँडेको ।’ थकानको त कुनै सीमा छैन । डेग चल्न नसक्ने भएपछि उनी यसरी नै सुस्ताउँछन् । गन्तव्य सम्झिएर एकैछिनमा हिँड्न थाल्छन् । निर्माण मजदुरको रूपमा काम गर्ने चौधरी भन्छन्, ‘आफूसँग पैसा थिएन । ठेकेदारले काम नभएको भन्दै पुरानो पैसा दिएन । दुई दिन त गाउँलेसँग मागेर खाएँ । मागेको खाएर कतिन्जेल बाँचिएला भनेर हिँडेको ।’ हिँडेकै दिनदेखि चौधरीको पेटमा भात परेको छैन । ‘बाटोमा मान्छेहरूले चाउचाउ, पानी दिन्छन् त्यही खान्छु,’ उनले भने ।

२१ वर्षीय सुरेश विक काभ्रेमा इँटाभट्टामा काम गर्थे । रोल्पा जान हिँडेका सुरेशले तीन दिनको यात्रा तय गरिसके । उनको टोलीका साथीहरू निदाउन पाएका छैनन् । उनी भन्छन्, ‘सुत्ने ठाउँ पाए निदाउन मन छ, तर कहाँ पाउनु सुत्ने ठाउँ ? मौका मिलेको वेला सडककिनारमै आराम गर्ने हो, त्यहीँ निदाउने हो ।’

जीवनका लागि ‘लङमार्च’मा हिँडेका सुरेश र उनका साथीले गजुरीमा ट्रक पाए, खुसी हुँदै चढे । तर, खुसी लामो समय टिकेन किनकि केही पर मात्रै प्रहरी चेकिङ थियो । डराएका चालकले सबैलाई ओराले । उनीहरू ओर्लिनासाथ ट्रक दौडियो । पोका–पन्तुरा ट्रकमै छुट्यो । ‘ज्याकेट, गुन्टा सबै ट्रकमै थियो,’ सुरेश भन्छन्, ‘अब यो टिसर्टमा मात्र कसरी घर पुग्ने होला ?’

ललितपुरको चापागाउँमा निर्माण मजदुरको काम गर्ने दिलबहादुर चौधरी र उनका ६ जना साथी आफ्नो घर बाँके जान भनेर १९ चैतमै निस्किएका थिए । ‘हामीलाई ठेचोबाटै पुलिसले फर्कायो, तर बस्ने–खाने व्यवस्था थिएन । चाउचाउ पनि किन्न नसक्ने भएपछि ३ गते राति १० बजे उपत्यका छाडियो,’ उनले भने । प्रहरीको आँखा छलेर काठमाडौंबाट निस्कन पाउनुलाई नै उनले जीवनको सबैभन्दा ठूलो उपलब्धि मानेका छन् । यो वेलामा सरकारले गाँस, वास र कपासको व्यवस्था गर्नुपथ्र्यो, राज्य भन्ने परिकल्पना त्यसैका लागि बनेको हो भन्ने हेक्का उनलाई छैन । 

चर्को घामलाई पन्छाउँदै एकैछिनमा झमझम पानी पर्‍यो । सडककिनारमा सुस्तसुस्त हिँडिरहेका जागुराम थारू दौडिँदै छेउको पेट्रोलपम्पमा ओत लागे । यी पैदल यात्रुलाई घाम र पानी दुवैले दुःख दिन्छ । काठमाडौंमा निर्माण मजदुरको काम गर्ने थारू भन्छन्, ‘काम रोकियो, भोकले बस्न नसकेपछि हिँडेको ।’

थारूलाई लकडाउन भएको थाहा थियो । ‘साहुले काम गरेको पैसा दिन्छ कि भनेर यति दिन पर्खिएँ,’ थारू निराश हुन्छन्, ‘साहुले पैसा दिएन, आफूसँग भएको पनि सकिएपछि हिँडेको ।’ 

थारूको काँधमा आठजनाको परिवार पाल्ने जिम्मेवारी छ । यसपटक मजदुरी नै नलिएर घर हिँडेका उनी भन्छन्, ‘घरमा आस त गरेका होलान्, तर आफैँ कसरी पुग्ने हो, ठेगान छैन ।’

महाकालीकिनारको जिल्ला कञ्चनपुर पुग्न हिँडेका छन् नारद राना । उपत्यकाबाट ४ वैशाख बिहानै हिँडेका उनी चर्को घाममा हिँड्नै सकेनन् । ‘घामको रापमा हिँड्नै सकिएन,’ पानी परेकाले उनलाई अलिक सन्तोष भएको छ, भने, ‘अब शीतल हुन्छ कि ?’

बिहीबार साँझ परिसकेको थियो, धादिङको इच्छाकामना गाउँपालिकाको सडककिनारको पेट्रोलपम्पमा ५० जनाभन्दा बढी यात्रु ओत लागेर बसिरहेका थिए । उनीहरूमध्ये कतिपयले ट्रक रोक्ने प्रयास पनि गरे, तर ट्रक तीव्र गतिमा कुँदिरहेका छन् । चालक पनि प्रहरीबाट लखेटिएका छन्, मान्छे बोक्ने अनुमति उनीहरूलाई छैन । 

यही भीडमा छन् सिन्धुपाल्चोकबाट सल्यान पुग्न हिँडेका दलबहादुर कुँवर । विद्युत् टावर निर्माणको काम गर्ने कुँवर थाकेर बोल्नै नसक्ने भएका छन् । चाउचाउ र बिस्कुटको भरमा सिन्धुपाल्चोकबाट उनले १ वैशाखमा सल्यानको यात्रा सुरु गरेका हुन् । बस्ने ठाउँमा रासन भएको भए उनी यो यात्राको दुस्साहस गर्ने थिएनन् । ‘रासन सकियो, पेट भोकै हुने भयो, बाँचिन्छ कि भनेर निस्किएको हुँ,’ उनी भन्छन् । 

उपत्यकामा ह्युमपाइप र इनारको रिङ बनाउने रानालाई साहुले धोका दिए । ‘साहुले पैसा पनि दिएन । आफैँ भाग्यो,’ हाफप्याइन्ट र चप्पल लगाएका राना सुनाउँछन् । उनलाई न आफ्नो साहुको नाम थाहा छ, न आफूले काम गर्ने उद्योगको । मुस्किलले नेपाली बुझ्ने रानाले १३ जनाको परिवार पाल्नुपर्छ । पैसा नलिई घर जाँदै गरेका रानालाई परिवार पनि भोकै मर्छ कि भन्ने चिन्ता छ ।

धादिङ गजुरी, सडककिनारको चौतारीमा सुस्ताइरहेका छन् चन्द्रशेखर यादव र उनका ११ जना साथी । नुवाकोटबाट हिँडेका उनीहरू रूपन्देहीको मर्चवार पुग्ने योजनामा छन् । यी १२ जना कसैको पनि खुट्टामा जुत्ता छैन । नुवाकोटको इँटाभट्टामा काम गर्ने यादव भन्छन्, ‘हामीले त सुरुमा केही थाहा पाएनौँ ।’

नुवाकोटबाट खोला किनारैकिनार हिँडेका यादव भन्छन्, ‘रातभर निदाएका छैनौँ ।’ यादव र उनका साथीहरू बुधबार हिँडेका हुन् । मधेसी लवजका कारण आफूलाई धेरैले भारतीय ठानेकोमा उनी थप दुःखी छन् । २१ वर्षका यादवको घरमा ६ जना छन् । घरमा कमाउने उनी मात्र हुन् ।

घर जाने यो लस्करमा युवा मात्र होइन, वृद्ध पनि छन् । रोल्पा पुग्न हिँडेका ५५ वर्षीय तिलकराम डाँगी थकाइ मेट्दै थिए । लौरी काखी च्यापेर निदाउने प्रयासमा थिए उनी । 

त्यही लौरीको भरमा उनी हिँडेरै रोल्पा पुग्ने यात्रामा छन् । तर, चितवनको सीमा नटेक्दै खुट्टा सुन्निएका छन् । थानकोटको इँटाभट्टामा काम गर्ने डाँगीसँग जम्मा पाँच सय रुपैयाँ छ । उनीजस्तै लस्कर लागेर राजमार्गमा हिँडिरहेका यात्रुसँग साधन र स्रोत सीमित छ, यात्रा असीमित । 

देउखुरी दाङका घनश्याम चौधरी, रोल्पाका सुरेश विक, बाँकेका दिलबहादुर चौधरी र जागुराम थारू, कञ्चनपुरका नारद राना, सल्यानका दलबहादुर कुँवर र रूपन्देहीको मर्चवारका चन्द्रशेखर यादवजस्ता लाखौँ मजदुर परिवार पाल्ने र बालबच्चाको सुन्दर भविष्यको सपना बोकेर काठमाडौं पसेका थिए । तर, अनिश्चित लकडाउन र राज्यको आँखामा नपरेपछि उनीहरू आफ्ना अरू मजदुर साथीसहित भोकोपेट र खालीखुट्टामा ताँती लागेर गाउँ फर्केका छन् । दुर्भाग्य ! यो दुःखमा आफैंले भोट हालेर बनाएको दुईतिहाइको सरकार उनीहरूसँग छैन ।

गायक जेबी टुहुरे भन्छन्, ‘सत्तामा पुगेपछि हिजोका सहयात्री नसम्झिनेहरूलाई गरिब निमुखाको के चासो ?’

जेबी टुहुुरे ७६ वर्षका भइसके, लामो समयदेखि निमोनियाले ग्रसित छन् । चिनी रोग पनि छ, दिनमा तीनपटक पेटमा इन्सुलिनको सुई घोच्नुपर्छ । अस्पतालदेखि घरसम्म, घरदेखि अस्पतालसम्म टुहुरेको दैनिकीजस्तो छ । बिसन्चो शरीर लिएर उनी आफ्नो विगतको यात्रामा बगिरहन्छन् । यी जनवादी गायकलाई रोगले भन्दा विगतको यादले बढी सताउँछ ।

०२६ साल । टुहुरे २६ वर्षकै थिए । वामपन्थी विचारबाट प्रभावित थिए । उनका साथी लव प्रधानले गीत लेखे, 
‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ 
लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ ’ 

टुहुरेले लय झिके, आवाज दिए । यो टुुहुरेको निजी आवाज रहेन । पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । असमानताले थिचिएका विपन्नको आवाज बन्यो र समग्रका परिवर्तनको आवाज बन्यो । 

व्यवस्था परिवर्तन गरौँ, विपन्नताको अवस्था परिवर्तन हुन्छ भन्दै टुहुरेहरू गीत गाउँदै, जनता जगाउँदै हिँडे । उनीहरूसँगै हुन्थे, तत्कालीन मालेका नेताहरू । टुहुरे सम्झन्छन्, ‘अहिलेका शक्तिमा र शीर्षस्थानमा जति पनि नेता छन्, उनीहरूको भाषण सुनिदिने जनता बटुलिदिने काम हाम्रो थियो ।’ नेताहरूमा पनि खासगरी तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे । 

आन्दोलनलाई जनताको माया थियो, तर आर्थिक रूपमा पार्टी कमजोर थियो । त्यसैले टुहुरेजस्ता गायकले पनि संघर्ष गरेर जीवनयापन गरे । त्यो बीचमा कपडादेखि सागसब्जीको व्यापार गरे । किताब पसलदेखि हुँदै होटेल पनि चलाए । सुगामैनाको व्यापार गरे । र, साथमा जनवादी गीत गाउँदै हिँडे । यसबीचमा प्रहरीको कुटाइ खाए, थुनिए । ‘लाखौँ जनताको जीवन परिवर्तनका लागि हामी जे पनि गर्न तयार थियौँ,’ उनी अहिले पनि भन्छन् । 

दलका नेताहरूको आह्वानमा जनता एकाकार भए, देशमा परिवर्तन पनि भयो । आन्दोलनकारी नेताहरू सत्तासीन भए । तर, टुहुरेहरू टुहुरे नै रहे । ‘हाम्रै साथीहरू सत्तामा छन् नि, तर सत्तामा पुगेपछि जोकोही पनि बदलिँदो रहेछ । जनता त सधैँ अन्यायमै हो,’ टुहुरे भन्छन् ।

पसिना बगाउन आएका मजदुरलाई अप्ठ्यारोमा राजधानीले आश्रय दिन सकेन । दुईछाक खाना र एकओत छाना दिन सकेन । त्यसैले मान्छेहरू कुम्लो–कुटुरो बोकेर रातारात सहर छाडिरहेका छन् । राजमार्गमा कोसौँको यात्रा पैदल हिँडिरहेका छन् । टुहुरे भन्छन्, ‘स–साना बच्चा बोकेर सुत्केरी महिला, वृद्धवृद्धाहरू मध्यरातको चिसो र अँध्यारोमा सहर छाडिरहेको समाचार पढ्दा मलाई फेरि ठूलो स्वरमा गाउन मन लाग्छ– लाखौँका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ ।’

गाएको ५० वर्षपछि, दलहरू सत्तामा पुग्न थालेको ३० वर्षपछि पनि यो गीत यति सान्दर्भिक होला भनेर टुहुरेले सोचेकै थिएनन् । आफ्नो गीत फेरि पनि सान्दर्भिक बनेकोमा उनलाई खुसी होइन, पीडा छ । उनी भन्छन्, ‘पसिना बगाउने विपन्नलाई थातथलो छोडेर हिँड्न बाध्य बनाइएको कथा भन्न यो गीत लेखिएको थियो । गरिबलाई गोलबन्द गर्नेहरू अहिले सत्तामा छन् । तर, जनता फेरि पनि भोकै मर्ने अवस्था आएको छ, ज्यान बचाउन फेरि बसाइँ हिँडेका छन् ।’ 

अहिले शक्तिमा भएका नेताहरू हिजो टुहुरेहरूको मादल र बाँसुरी बोकेर हिँडेका थिए, सँगै खाएका थिए, सुतेका थिए । तर, यहीवेला टुहुरेहरूसँग कतिपय अवस्थामा औषधि किनेर खाने पैसा हुँदैन । ‘आन्दोलनलाई बलियो बनाउन हाम्रो पनि रगत र पसिना बगेको छ । तर, ती रगत र पसिना बगरमाथि खसेको पानीको थोपाजस्तै भयो,’ उनी भन्छन् । 

कतिसम्म भने जिम्मेवारी लिइरहेका नेता साथीलाई भेट्न खोज्दा पनि टुहुरेहरूले समय पाउँदैनन् । ‘मेरो मात्र के कुरा, समग्रमा सत्ता र जनताको दूरी नै लामो बनेको छ, । हिजोको सहयात्री नै कसरी बाँचिरहेका छन् भन्ने चासो छैन भने निमुखा जनता रातबिरात कुम्लो बोकेर सहर छाड्दा उनीहरूलाई के चासो हुन्थ्यो !’ उनी भन्छन्, ‘अहिले आएर सत्ताको वरिपरि यस्तो वर्ग निर्माण भइदियो कि उनीहरूसम्म हाम्रो पहुँच नै हुँदैन ।’