मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख २४ शनिबार १४:४९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

स्थानीय तह निर्वाचन : जुम्लामा दलित समुदायबाट दुईजना मात्रै उपप्रमुखको उम्मेदवार

Read Time : < 1 मिनेट
२०७९ बैशाख २४ शनिबार १४:४९:००

आसन्न स्थानीय तह निर्वाचनमा जुम्लाका पालिका उपप्रमुखमा दलित समुदायबाट दुईजना मात्रै उम्मेदवार बनेका छन् । राजनीतिक दलहरूले समावेशिताका नारा घन्काए पनि जिल्लाका आठमध्ये दुई स्थानीय तहको उपप्रमुखमा मात्रै दलित समुदायबाट उम्मेदवार बनाएका हुन् । 

जुम्लामा १४ राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिए पनि नेकपा (माओवादी केन्द्र)ले मात्रै उपप्रमुखमा दलित महिला उम्मेदवार उठाएको छ। उसले चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पूर्णिमा विक र हिमा गाउँपालिकाको उपाध्यक्षमा कल्पना परियारलाई उम्मेदवार बनाएको छ । 

नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत समाजवादी, नेमकिपा, राप्रपा, जसपालगायतका अन्य कुनै पनि दलहरूले दलितलाई प्रमुख वा उपप्रमुखको उम्मेदवार नबनाएका दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम नेपालीले बताए । उनले भने, ‘यसपटकको स्थानीय तह निर्वाचनमा पनि राजनीतिक दलहरूको समावेशिता नारामै सीमित बनेको छ।’ स्थानीय तहको प्रमुखमा झनै कुनै पनि राजनीतिक दलले दलित महिलालाई उम्मेदवार बनाएका छैनन् । 

माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेकी पूर्णिमा विकले जस्तै कानुनी व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशिताको मर्मप्रति जिम्मेवार नदेखिएको बताइन्। देशभर महिला तथा दलित समुदायलाई मुख्य पदमा उम्मेदवार बनाउन प्रमुख दलहरूले आनाकानी गरे पनि माओवादी केन्द्रले आफ्नो क्षमता हेरेर उपप्रमुखको उम्मेदवार बनाएको उनले बताइन् ।

यता जिल्ला समन्वय समिति सदस्यसमेत भइसकेकी हिमा गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार कल्पना परियार दलित समुदायलाई गैरदलित समुदायले अवसरबाट वञ्चित गर्ने गरेको उल्लेख गरिन् । उनले भनिन्, ‘यसपटक माओवादी केन्द्रले हिमा गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाएर जिम्मेवारी दिएको छ। निर्वाचित भएपछि दलितले पनि अवसर पाएपछि काम गर्न सक्ने रहनेछन् भनेर सबैले देख्न सक्ने गरी काम गर्छु ।’