मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Thursday, 19 December, 2024
टेकराज थामी काठमाडौं
२o७९ बैशाख ८ बिहीबार o८:१५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकी बाबु र भारतीय आमाबीच सम्बन्ध बिग्रिँदा तनाव नेपालसम्म

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार o८:१५:oo

अध्यागमन विभाग परिसरमै आठ वर्षीया बालिकाको तानातान

श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रेपछि आश्रित सन्तानले कुन हदसम्मको मानसिक तनाव झेल्नुपर्छ भन्ने पछिल्लो उदाहरण हुन्, अमेरिकी नागरिक आठ वर्षीया मेहेर गोयल । बुबा–आमाबीच सम्बन्ध बिग्रिएपछि उनले जति तनाव अमेरिकामा झेलिन्, भारतमा पनि त्यस्तै बेहोरिन् । कतिसम्म भने कुनै साइनो सम्बन्ध नै नभएको नेपालमा समेत उनले अनावश्यक तनाव झेल्नुपर्ने परिस्थिति बन्यो । 

कन्निका गोयल : भारतीय नागरिक
मेरी छोरीलाई करणले अपरहण गरेर नेपाल ल्यायो । छोरी मसँगै रहने आदेश भारतीय सर्वोच्च अदालतले गरेको छ । उनको यो गतिविधि भारतीय अदालतको खिलाप छ । मसँग यसका सबै प्रमाण छन् । करणले दूतावास प्रयोग गरेर मेरी छोरी मसँग खोस्यो । म छोरी पछ्याउँदै नेपाल आएकी छु । मलाई अहिले सहयोगको खाँचो छ ।

आमाबाट छुटाएर नेपाल ल्याइएकी मेहेरलाई लिएर करण गोयल बुधबार कालिकास्थानस्थित अध्यागमन विभाग मात्र के पुगेका थिए, पछ्याउँदै आएकी कन्निका पनि त्यहीँ भेटिइन् । एकाएक आमा देखेपछि मेहेर चिच्याउन थालिन् । छोरीतर्फ अघि बढेकी कन्निकालाई करणका सहयोगीले बीचमै रोके । दिनदहाडै विभाग परिसरमै करण र कन्निका पक्षबीच तानातान चल्यो । स्थिति नियन्त्रणभन्दा बाहिर पुग्ने देखिएपछि अध्यागमनका सुरक्षाकर्मी अघि बढे । तर पनि दुई पक्षबीच तानातान चलिरह्यो । 

तनावपूर्ण वातावरणबीच करणको छातीमा टाँस्सिएकी मेहेर एकोहोरो कराउँदै थिइन्, ‘आई वान्ट टु गो विथ मम । आई वान्ट टु गो विथ मम ।’ तर, मेहेरको चित्कारतर्फ न बुबा करणको ध्यान थियो, न आमा कन्निकाको नजर नै त्यसतर्फ थियो । तनाव बढ्दै गएपछि विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले दुवै पक्षलाई कार्यकक्षमा बोलाए । र, विवाद समाधानको सहजीकरणमा जुटे । तर, विवाद मिल्ने छाँट देखिएन । आठ वर्षीया मेहेर भने एकोहोरो भनिरहेकी थिइन्, ‘आई वान्ट टु गो विथ मम । आई वान्ट टु गो विथ मम ।’

समस्या सुल्झिनेभन्दा पनि बल्झिनेतर्फ अघि बढेपछि विभागले नेपालस्थित अमेरिकी दूतावास र भारतीय दूतावासको प्रतिनिधिलाई बोलायो । दुई पक्षलाई छुट्टाछुट्टै राखेर वार्ता चल्यो । करिब दुई घन्टा दुई पक्षबीच वार्तामा बसे । मिल्ने छाँट नभएपछि विभागका महानिर्देशक भट्टराईले दुवै दूतावासको प्रतिनिधिको रोहवरमा मेहेरलाई बुबा करणकै साथ जिम्मा लगाएर पठाए । ‘श्रीमान्–श्रीमतीबीचको विवाद रहेछ । विवादकै कारण श्रीमती श्रीमान् छाडेर भारत आइछन् । बच्चा पनि आमासँगै रहिछन् । बच्चालाई बुबा करणले आफैँले राख्न चाहेका रहेछन् । तर, आमा कुनै हालतमा नदिने पक्षमा । यो विवाद अमेरिकी अदालत हुँदै भारत आइपुग्यो । अहिले हामीकहाँ आइपुग्यो । घटना सिरियसजस्तो देखिन्छ,’ महानिर्देशक भट्टराईले भने ।

नारायणप्रसाद भट्टराई : महानिर्देशक, अध्यागमन विभाग
श्रीमान्–श्रीमतीबीचको विवाद रहेछ । विवादकै करण श्रीमती श्रीमान् छाडेर भारत आइछन् । बच्चा पनि आमासँगै रहिछन् । बच्चालाई बुबा करणले आफैँले राख्न चाहेका रहेछन् । तर, आमा कुनै हालतमा नदिने पक्षमा । यो विवाद अमेरिकी अदालत हुँदै भारत आइपुग्यो । अहिले हामीकहाँ आइपुग्यो । घटना सिरियसजस्तो देखिन्छ ।

यसरी सुरु भयो विवाद 
अमेरिकी नागरिक करणको कन्निकासँग अमेरिकामै भेट भयो । दुईबीच केही वर्ष मायाप्रेम चल्यो । यहीबीच विवाह भयो । छोरी मेहेर जन्मिइन् । पछि विवाद बढ्दै गयो । सँगै बस्न नसक्ने अवस्था सिर्जना भएपछि दुवै सम्बन्धविच्छेद गर्ने मुडमा पुगे । मुद्दा अमेरिकी अदालत पुग्यो । यसबीचमा मेहेर कोसँग रहने विषय पेचिलो बन्दै गयो । अमेरिकी अदालतले मेहेर बुबा करणसँगै रहने आदेश दियो । आमा कन्निका यही झोकमा मेहेरलाई लिएर भारत आइन् र नयाँदिल्लीस्थित पुख्र्यौली घरमा बस्न थालिन् । यही क्रममा उनले सम्बन्धविच्छेदको मुद्दा भारतीय अदालतमा पनि दिइन् । मुद्दा अदालतमा चल्दै गयो । बुबा करण छोरी लिन भारत आए । तर, कन्निकाले छोरी करणलाई दिन मानिनन् । 

यही क्रममा भारतीय सर्वोच्च अदालतले मेहेर आमासँगै रहने अर्को आदेश दियो । अब छोरी मेहेरलाई सँगै लिएर अमेरिका जाने करणको सपना पूरा हुने देखिएन । उनले फेरि भारतीय अदालतमा अर्को मुद्दा हाले । अन्ततः भारतीय उच्च अदालतले बुबा करणलाई पनि मेहेरलाई भेट्न दिन आदेश दियो । सोहीअनुसार कन्निकाले मेहेरलाई बुबा करणकहाँ लगिन् । मेहेरलाई अमेरिका लैजान सक्ने भएपछि अदालतको आदेशअनुसार कन्निकाले करणको पासपोर्ट अदालतमा राख्न लगाइन् । अनि दिल्लीस्थित होटेल हायातमा बसेका करणलाई मेहेर जिम्मा लगाइन् । र, आफू घर फर्किइन् । तर, करणले मेहेरलाई भोलिपल्टै होटेलबाट सुटुक्कै नेपाल ल्याए । भारत–नेपालको पश्चिम सिमानाका बनबासाबाट उनले मेहेरलाई नेपाल ल्याएका थिए । यही क्रममा मेहेरलाई अमेरिका लैजान कागजात मिलाउन बुधबार विभाग लगिएको थियो । 

विभाग परिसरमा भेटिएकी कन्निकाले छोरी मेहेरलाई करणले अपहरण गरेर नेपाल ल्याएको आरोप लगाएकी छन् । उनका अनुसार करणले भारतीय सर्वोच्च अदालतको समेत आदेश उल्लंघन गरेका छन् । भारतबाट अमेरिका लैजान सम्भव नभएपछि उनले नेपालको बाटो प्रयोग गरेको कन्निकाको भनाइ छ । 

‘मेरी छोरीलाई करणले अपहरण गरेर नेपाल ल्यायो । छोरी मसँगै रहने आदेश भारतीय सर्वोच्च अदालतले गरेको छ । उनको यो गतिविधि भारतीय अदालतको खिलाप छ । मसँग यसका सबै प्रमाण छन् । करणले दूतावास प्रयोग गरेर मेरी छोरी मसँग खोस्यो । म छोरी पछ्याउँदै नेपाल आएकी छु । मलाई अहिले सहयोगको खाँचो छ,’ कन्निकाले नयाँ पत्रिकासँग भनिन् । कन्निकाका अनुसार मेहेर अपहरणमा परेका विषयमा भारतीय प्रहरीमा समेत जाहेरी परेको छ । भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ । संवेदनशील भएको हुँदा यसमा नेपाल सरकारको सहयोग आवश्यक रहेको उनले बताइन् ।