मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ५ सोमबार ०७:३६:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘आमा’लाई राष्ट्रिय चलचित्र पुरस्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ५ सोमबार ०७:३६:००

चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कार पाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित समारोहमा चलचित्र ‘आमा’लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको हो । २०७६/०७७ सालमा प्रदर्शन भएका चलचित्रहरूमध्ये १० विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कार प्रदान गरेकी हुन् ।

यस्तै, उत्कृष्ट निर्देशकका रूपमा चलचित्र ‘आमा’बाट दीपेन्द्र के. खनाल पुरस्कृत भएका छन् भने उत्कृष्ट अभिनेत्रीतर्फ चलचित्र ‘आमा’बाटै सुरक्षा पन्त पुरस्कृत भएकी छिन् । उत्कृष्ट अभिनेतामा ‘छ माया छपक्कै’का लागि दीपकराज गिरीले अवार्ड पाएका छन् ।उत्कृष्ट छायांकनतर्फ ‘छ माया छपक्कै’का लागि हरि हुमागाईं पुरस्कृत भए भने उत्कृष्ट सम्पादनतर्फ चलचित्र ‘कबड्डी–३’का लागि निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड हात पारे । 

उत्कृष्ट पटकथा र संवादतर्फ चलचित्र ‘जात्रैजात्रा’का लागि प्रदीप भट्टराईले अवार्ड हात पारे । उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी) पचे गोरे (गोरे बाजे गुरुङ भाषा)का चलचित्रका लागि भोजबहादुर गुरुङले अवार्ड पाए । प्रोत्साहन पुरस्कार जुरीतर्फको पुरस्कार चलचित्र ‘जीवन काँडा की फूल’का लागि अवस्था थापाले हात पारिन् ।

नवप्रवेशी अभिनेतातर्फ चलचित्र ‘रातो टीका निधारमा’लागि अंकित शर्माले हात पारेका छन् । यस्तै, अभिनेत्री भुवन चन्द र संगीतकार शम्भुजित बाँस्कोटालाई नगद तीन लाख ५२ हजार नगद तथा सम्मानपत्रसहित ‘चलचित्र दीर्घ साधना’ सम्मानबाट सम्मानित गरिएको छ । चलचित्र क्षेत्र विशेष योगदान पुर्‍याएका राजेश हमाल, शम्भु प्रधान, चैच्यदेवी सिंह, शर्मिला पाण्डे, गौरी मल्ल, नवल खड्का, रविन्द्र खड्कालगायत ३३ जना चलचित्रकर्मीलाई पनि सम्मान गरिएको थियो । 

समारोहमा राष्ट्रपति भण्डारीले पुरस्कृत तथा सम्मानित भएका चलचित्रकर्मीलाई चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि उल्लेख्य योगदान गरेको बताइन् । सञ्चार, सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रको प्रवद्र्धनका लागि सबै चलचित्रकर्मीहरूको महत्वपूर्ण योगदान रहेको बताए । उनले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । ‘नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि चलचित्रकर्मीहरूको महत्वपूर्ण योगदान छ । अझै चलचित्र क्षेत्रलाई विकास गर्न मन्त्रालयले आवश्यक सहयोग गर्नेछ’, उनले भने । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आमचलचित्रकर्मीको मूल्यांकन निष्पक्ष र स्वतन्त्र ढंगबाट भएको बताए ।