मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत २९ मंगलबार ०६:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने

Read Time : > 1 मिनेट
२०७८ चैत २९ मंगलबार ०६:२९:००

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी  ‘ए’ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गइरहेको थियो  ।  हाल आयोजनाको बिजुली दुई सय २० केभी मर्स्याङ्दी  करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ । मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनमा जोड्न निर्देशन दिइसकेकाले केही दिनभित्र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । 

०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेँसीबाट ताराचोक जाने बाटो ङादी नदी–तीरमा बनाइएको विद्युत्गृहबाट विद्युत् उत्पादन गरिनेछ ।आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब चार करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । भुलभुले–मर्स्याङ्दी  लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । कोरोना संक्रमणका कारण आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । 

बुटवल पावर कम्पनी (बिपिसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । नदीको वहाबमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सन्राइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ ।