मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २१ सोमबार ०७:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमबिबिएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी नै धन्दामा संलग्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २१ सोमबार ०७:२४:००

छात्रवृत्तिमा डाक्टर (एमबिबिएस) पढिरहेका विद्यार्थीहरू नै नक्कली परीक्षार्थी बनी एकीकृत प्रवेश परीक्षा (एमइसिइई–मेडिकल एडुकेसनल इन्ट्रान्स इक्ज्याम)मा सहभागी भएको खुलेको छ । 

चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा नक्कली परीक्षार्थी बन्ने महोत्तरी सम्सी–४ का २२ वर्षीय अमर पण्डित, सर्लाही चक्रघट्टा–४ का २२ वर्षीय अनिकेत चौधरी, सप्तरी राजगढ–१ का २६ वर्षीय आशिष यादव र भारत बिहार रफिगन्जका २४ वर्षीय इस्तियाख अहमद सहभागी भएका थिए । उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । प्रहरीका अनुसार अमरले जनकपुर–१४ का २१ वर्षीय वृकेश यादवको नाममा परीक्षा दिँदै थिए । अनिकेतले धनुषा अन्दुपट्टी–१ का २२ वर्षीय अजिवकुमार यादवको नाममा परीक्षा दिँदै थिए । त्यस्तै, आशिषले रुपन्देही ओमसतिया–३ का २० वर्षीय स्मित सिंह र इस्तियाखले महोत्तरी सम्सी–५ का २३ वर्षीय सन्नीकुमार साहको नाममा परीक्षा दिँदै थिए । 

परीक्षामा सहभागी चारैजनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यसक्रममा परीक्षा दिने लगाउने चारमध्ये सन्नीकुमारलाई पनि प्रहरीले पक्राउ गरेको छ । अन्य तीन भने फरार छन् । नक्कली परीक्षार्थी बनी परीक्षामा सहभागी भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले बताए । ‘अहिले एकीकृत प्रवेश परीक्षा चलिरहेको छ । यसमा नक्कली परीक्षार्थी सहभागी हुने गरेको सूचनाका आधारमा हामी निगरानीमा थियौँ । यही क्रममा पाँचजना विद्यार्थी पक्राउ परे । जसमध्ये चारजना नक्कली परीक्षार्थी छन् । एकजना परीक्षा दिन लगाउने र बाँकी तीनको भने खोजी भइरहेको छ,’ उनले भने ।
प्रहरीका अनुसार नक्कली परीक्षार्थी अमर र अनिकेत किस्ट कलेजमा एबिबिएस पहिलो वर्षका विद्यार्थी हुन् । राम आशिष पनि सोही कलेजका एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । उनीहरूले कलेजमा छात्रवृत्तिमा अध्ययन गर्दै थिए । उनीहरूसँगै पक्राउ परेका इस्तियाख भने भारतीय नागरिक हुन् । परीक्षा दिनकै लागि उनी भारतको बिहारबाट काठमाडौं आएका थिए । आर्थिक प्रलोभनमा परेर उनीहरू नक्कली परीक्षार्थी बनेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । ‘नक्कली परीक्षार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेको देखिन्छ । आर्थिक अवस्था कमजोर भएको र प्रलोभनकै कारण उनीहरू नक्कली परीक्षार्थी बन्न राजी भएका हुन्,’ उनले भने ।

छात्रवृत्तिमा नाम निस्किए १८ लाख

परीक्षामा सहभागी भएर नाम निस्किएबापत नक्कली परीक्षार्थीले दुई लाखदेखि १८ लाख रुपैयाँसम्म लिने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीका अनुसार पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सके नक्कली परीक्षार्थीले १८ लाख रुपैयाँ पाउने सहमति थियो । आधा छात्रवृत्तिमा निस्किए १० लाख र शुल्क तिरेर अध्ययन गर्न पाउनेमा नाम निस्किए नक्कली परीक्षार्थीले पाँच लाख रुपैयाँ पाउने दुई पक्षबीच सहमति थियो ।

यसका लागि उनीहरूले अग्रिम रकमसमेत बुझेको प्रहरीले जानकारी दिएको छ । महाशाखाका प्रवक्ता एसपी कोइरालाले भने, ‘परीक्षामा नाम निस्किपछि दुई लाखदेखि १८ लाख रुपैयाँसम्म लेनदेन हुने दुई पक्षबीच सहमति भएको देखिन्छ । यस क्रममा एडभान्स पनि लिएको अनुसन्धानबाट खुलेको छ । रकम भने बरामद भएको छैन । अनुसन्धान जारी छ,’ उनले भने ।