मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Friday, 22 November, 2024
मरवान बिसारा
२o७८ चैत १८ शुक्रबार o७:४o:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के खुसीपना पाखण्ड हो ?

आखिर ‘खुसीपना’ के हो ? भ्रम, उदासीनता, परपीडन, नश्लभेद हो वा के हो ? वास्तवमा ‘खुसीपना’सँग सम्बन्धित यी सबै अवयवको मिश्रण ‘चट्याङ पैदा गराउने भनिएको ड्र्यागनको भूमि’ भुटानमा पाउन सकिन्छ ।

Read Time : > 2 मिनेट
मरवान बिसारा
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार o७:४o:oo

युक्रेनदेखि यमनसम्मका पीडादायी युद्धबाट विश्राम लिने उद्देश्यले मैले सन् २०२२ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ (वैश्विक खुसीपना प्रतिवेदन) का पाना पल्टाएँ । मलाई यो प्रतिवेदन थोरै रमाइलो र अत्यन्त निराशाजनक लाग्यो । रुस र पश्चिमबीचको ‘बफर’ (मध्यवर्ती) राज्य फिनल्यान्डलाई लगातार पाँचौँ वर्ष विश्वको सबैभन्दा खुसी राष्ट्रको ताज भिराउँदा युक्रेनी जनता र हामी बाँकीलाई सोच्न बाध्य बनाउँछ । ९८औँ स्थानमा रहेको युक्रेनले रुसको ‘बफर’ राज्य हुने स्थितिलाई नस्विकारेका कारण पनि रुसी आक्रमण झेलिरहेको छ । 

प्रतिवेदन लेखकका अनुसार सानो एवं गरिब हिमाली भुटान अधिराज्यलाई ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ र ‘खुसीपनामा बढ्दो अन्तर्राष्ट्रिय चासो’का लागि धन्यवाद दिइएको छ । जब भुटान सन् २००८ मा संवैधानिक राजतन्त्रमा परिणत भयो, भुटानले ग्रस नेसनल ह्याप्पिनेस (जिएनएच) अर्थात् कुल राष्ट्रिय खुसीपनाको अवधारणा अगाडि सार्‍यो । कुल राष्ट्रिय उत्पादन (जिएनपी) को विकल्पमा ल्याइएको यो अवधारणामा दिगो विकास, वातावरण एवं सांस्कृतिक संरक्षण र असल शासनलाई आधार मानेर ‘सामूहिक कल्याण’को मूल्यांकन गरिन्छ ।

जनताको कल्याणको परिमाण निर्धारण गर्न सेन्टर फर भुटान स्टडिजले सर्वेक्षण नै गरेको थियो । सन् २०११ मा ‘खुसीपनाको अधिराज्य’ भुटानले राष्ट्र संघमा एक प्रस्ताव प्रायोजन गरेको थियो, जहाँ अन्य सरकारलाई ‘सामाजिक एवं आर्थिक विकास हासिल गर्ने र मापन निर्धारणमा खुसीपना र कल्याणलाई बढी महत्‍व दिन’ निमन्त्रणा गरिएको थियो । र, अन्ततः २० मार्चलाई अन्तर्राष्ट्रिय खुसीपना दिवसका रूपमा मनाउन थालियो ।  

मैले ‘खुसीपना दिवस’ र ‘खुसीपना विज्ञान’लाई बनावटी विषय देख्छु अर्थात् प्राचीन ग्रिक र रोमन खुसीको सद्गुण र न्याय वा शुद्ध आनन्द खोजीबाट आउने विश्वास गर्थे । ‘खुसीपना’ले यो अवधारणालाई अर्थहीन बनाउँछ । विश्वकै पहिलो ‘खुसीपना’ प्रतिवेदन सन् २०१२ मा संसारकै सबैभन्दा अकर्मण्य एवं दुःखी संस्था राष्ट्र संघको तत्वावधानमा जारी गर्न थालियो । यी प्रतिवेदन ‘खुसीपना’का दुई स्रोत अर्थात् संस्कृति, समुदाय र वातावरणसँग सम्बन्धित व्यक्तिपरक प्राथमिकता र सम्पत्ति, स्वास्थ्य, सुरक्षा, शिक्षा, आदिसँग सम्बन्धित वस्तुगत कारकमध्ये व्यक्तिपरक प्राथमिकता निष्क्रिय रह्यो । मलाई वस्तुगत सूचकले प्रतिवेदनको श्रेणी निर्धारणमा धेरै महत्‍व राख्छ भन्ने लाग्छ किनभने सांस्कृतिक रूपमा अन्तर्मुखी र अलग रहने नर्डिक र अन्य युरोपेली राज्य ‘खुसीपना’को सूचीमा शीर्ष स्थान बनाउन सफल भएका छन् । यहाँका मानिस आफ्नै अध्ययन र सर्वेक्षणअनुसार खुसीभन्दा बढी ‘सन्तुष्ट’ देखिन्छन् । दुःखसाथ भन्नुपर्छ ‘खुसीपनाको अधिराज्य’ भुटानको ‘खुसीपना’को स्तर ७९औँबाट ९७औँ स्थानमा झरेको छ ।

भुटानबाहेक खुसीसँग जोडिएको अर्को मुलुक ‘खुसी यमन’ले यो वर्ष खासै ध्यान खिच्न सकेन, किनभने यो मुलुक गृहयुद्ध र अशान्तिमा डुबेको छ । अर्थात्, साउदी र युएई नेतृत्वको सैन्य हस्तक्षेपले यहाँ ‘२१आँै शताब्दीकै सबैभन्दा विषम मानवीय प्रकोप सिर्जना गरेको छ ।’ ठीकविपरीत युद्ध दोस्रो वर्षमा प्रवेश गर्दा युएईले आफ्नो राजनीतिक र सुरक्षा पकडलाई मजबुत बनाउँदै राज्य र समाजका मूल्य–मान्यताको संरक्षणका निम्ति खुसी र सहिष्णुताका लागि दुई मन्त्री पदसमेत सिर्जना गरेको छ । यो अवस्था देख्दा जर्ज अर्वेल चिहानबाट ब्युँतेर पुनः चिहानमै फर्किन्थे होला । यही उदार एवं धनी युएई सन् २०१६ मा २८औँ स्थानमा रहेको थियो, जुन अरब मुलुकको तुलनामा उच्च स्थान हो ।

यद्यपि, यो वर्ष सानो एवं तुलनात्मक रूपमा विपन्न खाडी अधिराज्य बहराइनले युएईलाई उछिनेको छ । स्मरण रहोस्, बहराइनका जनता ११ वर्षअघिको अरब वसन्तदेखि कडा राजनीतिक एवं सुरक्षा नियन्त्रणमा बाँच्न अभिशप्त छन् । प्रश्न उठ्छ, ‘खुसीपना’को स्तरमा बहराइन हाल २१औँ स्थानमा कसरी आइपुग्यो ? बहराइनले इजरायलसँग ‘शान्ति सम्झौता’ गरेको थियो । मलाई लाग्दैन, यहुदी सर्वोच्चतावादी शत्रुलाई सामान्यीकरण गर्ने यो सम्झौताले बहराइनी जनतालाई खुसी बनाएको होस् ।

अब इजरायलतिर जाऊँ, यो वर्ष इजरायलले माथिल्लो १० स्थानमा आफूलाई पुर्‍याउन सफल भएको छ । अपर्थाइडको हिंस्रक प्रणालीका बाबजुद इजरायल नवौँ स्थानमा पुग्यो । जति धेरै अपर्थाइड (नश्लभेदी) त्यति माथिको स्थान, गज्जब ! सम्भवतः अहिले आएर टाइम म्यागेजिनले एकपटक कभर स्टोरीमा ‘इजरायलले शान्तिको वास्ता गर्दैन’ भनेर स्टोरी छापेका कारणबारे हामीले थाहा पाएका छौँ । आखिर शान्ति चाहियो किन ? इजरायल शान्तिबिनै खुसी छ । दशकौँदेखि जनतालाई विस्थापन गर्ने, अर्काको थातथलो कब्जा गर्ने, प्रताडित गर्ने, थुन्ने र अपमान गर्ने मुलुक यति विधि खुसी हुनु साँच्चै उल्लेखनीय छ । 

आखिर ‘खुसीपना’ के हो ? भ्रम, उदासीनता, परपीडन, नश्लभेद हो वा के हो ? वास्तवमा ‘खुसीपना’सँग सम्बन्धित यी सबै अवयवको मिश्रण ‘चट्याङ पैदा गराउने भनिएको ड्र्यागनको भूमि’ भुटानमा पाउन सकिन्छ । ‘खुसीपना’को यो पागलपनको अवस्थामा पुग्नुअघि भुटानी सेनाले राजाको ‘एक राष्ट्र : एक जनता’ नीतिलाई सफल बनाउन देशको प्रायः दक्षिणी भेगमा बसोवास गर्ने करिब एक लाख नेपालीभाषी जनतालाई निष्कासन गरेको थियो । राजाले लोकतन्त्र जनतालाई उपहार दिएपछि सरकारले जातीय सफायालाई सच्याउन, क्षतिपूर्ति वा उल्टाउन निकै कम काम गरेको छ । १२ वर्षअघि अल जजिरासँगको अन्तर्वार्तामा भुटानका प्रधानमन्त्रीले जातीय सफायालाई अस्वीकार गरेका मात्रै थिएनन्, नेपालीभाषीलाई देशनिकाला गर्नुलाई निर्धक्कसँग जायज ठहर्‍याएका थिए । 

वास्तवमा ‘खुसीपना’ अन्तर्राष्ट्रिय पाखण्ड हो अर्थात् सद्गुणको प्रचार गर्ने र हिंसा मच्चाउने, शान्तिका कुरा गर्ने र युद्ध लड्ने, प्रेमको दाबी गर्ने र घृणा फैलाउने वा वृक्षलाई अँगालो हाल्ने र वायु प्रदूषित गर्ने पाखण्ड हो ? अलजजिराबाट