१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

नेपाली भोटिङ मेसिनकाे नियति : चुनावअघि चर्चा, प्रयोगमा सधैँ उदासीनता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:४४:oo

‘धन्यवाद निर्वाचन आयोग फेरि नेपाल पढाइदिएकोमा। जम्मा १० वर्ष त भयो नि, हामी हार्ने वालाचाहिँ छैनौंँ है। यात्रा निरन्तर छ।’

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली डिजिटल भोटिङ मेसिन प्रयोगमा नआउने भएपछि नेपालमै भोटिङ मेसिन तयार पारेका युवा वैज्ञानिक राम रिमालको प्रतिक्रिया हो यो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा नेपाली भोटिङ मेसिनको प्रयोगलाई प्रोत्साहन गर्ने गरी प्रक्रिया अगाडि बढाएपछि उत्साहित बनेका जुम्ल्याहा दाजुभाइ राम–लक्ष्मण भोटिङ मेसिन प्रयोगमा नआउने भएपछि निरुत्साहित भएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपालमै प्रयोगमा चासो दिएर यसको अध्ययनका लागि कार्यदल बनाएर सम्भाव्यता अध्ययन गराएका थिए। तर, कार्यदलले प्राविधिक कारणले तत्काल सम्भव नहुने प्रतिवेदन दिएपछि यो सम्भावना टरेको छ।

आयोगले प्रमाणीकरण सम्भव नभएकाले स्थानीय तहको निर्वाचनमा नेपाली भोटिङ मेसिनको सम्भावना टरेको बताएको छ। यससँगै यही निर्वाचनदेखि डिजिटल भोटिङ मेसिनबाट मतदान गर्ने अवस्था सकिएको छ। निर्वाचन आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगले गठन गरेको विज्ञहरूको कार्यदलले तयार पारेको प्रतिवेदनमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्नका लागि प्रमाणीकरणको जरुरी हुने विषय उल्लेख छ। मेसिनको प्रमाणीकरण भएन भने मतदानको विश्वसनीयतामाथि प्रश्न उठ्ने विज्ञहरूको निष्कर्ष छ। उनी स्थानीय निर्वाचनमा विद्युतीय मतदानको सम्भावना नरहेको बताउँछन्। टेक्निकल इभ्यालुएसन कमिटीले इभिएम प्रमाणीकरण गर्ने भन्ने विषयमा आयोग सन्तुष्ट हुन नसकेको उनको भनाइ छ । ‘मेसिन कसले प्रमाणीकरण गर्ने भन्ने विषयमा उक्त प्रतिवेदनमा जुन विषय छ, टेक्निकल इभ्यालुएसन कमिटीले प्रमाणीकरण गर्ने भन्ने विषयमा आयोग सन्तुष्ट हुन सकेन। त्यो कमिटीलाई कुनै पनि कानुनले चिन्दैन र त्यस्तो कमिटी गठन गर्न सकिने गरी आयोगलाई कुनै पनि कानुनले अधिकार दिएको छैन,’ प्रवक्ता पौडेलले भने, ‘भोलि त्यस्तो मेसिन एक त हामीले खरिद गर्नुपर्ने हुन्छ। त्यसका लागि ठूलो पैसा लाग्छ। त्यो मेसिन खरिद गर्दा त्यसको प्रमाणीकरण कसले गर्ने? इभिएममा विश्वसनीयताको ठूलो प्रश्न छ। प्रमाणीकरणको विषय अनुत्तरित नै छ।’

‘नेपाली प्रविधिप्रति अविश्वास भयो, प्रमाणित गरेर देखाउँछौँ’
भोटिङ मेसिनको आविष्कारकमध्येका लक्ष्मण आयोगको यो निर्णयलाई नेपाली प्रविधिप्रतिको अविश्वासका रूपमा लिन्छन्। ‘अहिले पनि नेपाली प्रविधिप्रति विश्वासको कमीका कारण यस्तो भएको हो। हामीले यत्रो निर्वाचन गरेर देखाइसकेका छौँ, प्रमाणीकरणमा पनि सबै कुरा भएको छ,’ उनले नयाँ पत्रिकासँग भने। उनी यो अविश्वासलाई हटाउन आयोगले खोजेको विश्वसनीयता प्रमाणित गरेर देखाउने बताउँछन्। ‘हामी डिजिटल्ली त्यसलाई प्रमाणित गरेर देखाउँछाैँ। आयोगले भनेको लेभलको प्रमाणीकरण हामी पत्रकार सम्मेलन नै गरेर देखाउँछौँ,’ उनले भने, ‘प्याब्सनको निर्वाचन भइरहेकाले केही दिनपछाडि गर्दै छौँ। मुख्य भनेको मतगणनाको समयमा प्रमाणीकरणको समस्या देखाइएको छ। हामीले प्रमाणीकरण पनि गरिसक्यौँ। त्यसलाई पुष्टि गछौँ।’

मतदानमा शतप्रतिशत एक्युरेसी हुनुपर्नेमा विद्युतीय मतदान नै उपयुक्त हुने लक्ष्मणको तर्क छ। ‘हामीसँग ३२ लाख बढी भोट रेकर्ड छ। यसबाट पनि प्रविधिमैत्री भएदेखि चाहिँ राम्रो हुन्छ भन्ने हाम्रो विश्वास छ,’ उनी भन्छन्। उनी यसले आफूहरूलाई केही निरुत्साहित पारेको बताउँछन्। ‘नेपालका प्रविधिको सुरुवात र प्रभावलाई उहाँहरूले बुझ्नुभएन। त्यस्तो नहुनुपर्ने जस्तो लाग्छ। यसले हामीलाई काम गर्न केही हदसम्म हतोत्साहित पारेको छ। तर, हामी प्रमाणित गरेर देखाउँछौँ।’

नेपालमा डिजिटल भोटिङको असफल प्रयोगपछिको आविष्कार
नेपालमा २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र १ मा उक्त प्रविधिमा निर्वाचन भयो। त्यसपछि ६ वटा उपनिर्वाचन पनि विद्युतीय मतदानबाटै सम्पन्न गरिएको थियो। दोस्रो संविधानसभा निर्वाचनमा पनि नमुनाको रूपमा यसको प्रयोग भएको थियो। तत्कालीन समयमा भारत सरकारले दिएको डिजिटल भोटिङ मेसिन नेपालमा ल्याइएको थियो।  त्यतिवेला भारतले १२ सय थान विद्युतीय मेसिन नेपाललाई उपलब्ध गराएको थियो। तर, मेसिनमा ६४ भन्दा बढी दललाई समावेश गर्न नसकिने भएपछि नेपालका सन्दर्भमा आमनिर्वाचनमा त्यो मेसिन प्रयोगमा आउन सकेन।

त्यसवेला नेपालमा १२५ भन्दा बढी दलहरू थिए। जसकारण नेपालमा भारतबाट ल्याइएको डिजिटल भोटिङ मेसिन प्रयोग हुने अवस्था रहेन र पुरानै तरिकाबाट आमनिर्वाचन भयो। जसकारण डिजिटल भोटिङमा जाने नेपालको चाहना पूरा हुन सकेन। त्यही घटनाबाट प्रभावित भएर राम र लक्ष्मणले नेपालको आवश्यकताअनुसार ‘रामलक्ष्मण डिजिटल भोटिङ मेसिनको आविष्कार गरेका थिए। आविष्कारसँगै प्रत्येक निर्वाचनमा उनीहरूले डिजिटल भोटिङका लागि लबिङ गर्दै आएका छन्। तर, प्रत्येक निर्वाचनमा व्यापक चर्चा भए पनि प्रयोग गर्न भने उदासीनताको नियति दोहोरिँदै आएको छ।
  
राम-लक्ष्मणले तयार पारेको प्रविधि नेपालको भूगोलअनुसार विविधता भएको छ। यस्ता मेसिन उपलब्धताअनुसार विद्युत्, सोलार वा ब्याट्रीसमेतबाट चलाउन सकिन्छ। यस्ता मेसिन माइनस पाँचदेखि ४५ डिग्री सेल्सियससम्मको तापक्रममा प्रयोगमा ल्याउन सकिन्छ। नेपालमै बनेको भोटिङ मेसिनमा निर्वाचन आयोगले बनाएको मतपत्रजस्तै गरी डिजाइन गरिएको छ। मेसिनमा पुरानै निर्वाचन पद्धतिसँग मेल खाने गरी प्रविधिको विकास गरिएको छ। मतपत्रमा स्वस्तिक छाप लगाउनुको साटो यसमा भोट दिने चिह्नमा औँलाले टच गरे पुग्छ। राम–लक्ष्मणले भोट हाल्ने प्रक्रियालाई डिजिटल मात्रै बनाएका छन्। मतदानको पुरानै प्रक्रियाअनुसारको भोटिङ मेसिन तयार पारिएको छ।

ad
ad