न्यायमा महिलाको पहुँच पुर्याउन रसुवाको विकट क्षेत्रमा सचेतनामूलक कार्यक्रम गरिएको छ । न्यायको पहुँच नपुगेका महिलालाई लक्षित गर्दै उत्तरगया गाउँपालिकाले रसुवा महिला सञ्जालमार्फत जिल्लाको विकट गाउँहरूमा सचेतनामूलक कार्यक्रम सुरु गरेको हो ।
जिल्लाको बिकट मानिने क्षेत्रहरूमा आइतबारदेखि सचेतनाका कार्यक्रम सुरु गरिएको रसुवा महिला सञ्जालकी अध्यक्ष सुनितामाया गुरुङले बताइन् । उत्तरगया गाउँपालिका–२ खड्गुबाट कार्यक्रम सुरु गरिएको उनले बताइन् ।
सचेतना कार्यक्रममार्फत विकट क्षेत्रका नागरिकहरूलाई लैगिंक हिंसा नियन्त्रण, बालविवाह, मदिराजन्य पदार्थको सेवन, घटना दर्तासम्बन्धी विषयमा जानकारी दिइनेछ ।
उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपाल, स्रेस्तेदार मुना अधिकारी र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले सैद्धान्तिक ज्ञानबारे जानकारी दिएका छन् ।
जिल्लाका विकट वस्तीहरूमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, जबर्जस्ती करणी, सम्बन्ध विच्छेद, घरेलु हिंसा, सम्पत्तिका कारण हुने हिंसा अझै पनि कायमै रहेको छ । बाहिर नदेखिने तर हिंसाबाट बृद्धबृद्धा, बालबालिका, महिला तथा पुरुषहरू पीडित हुने गरेकाे पाइएको छ । कानुनी जानकारी नहुँदा गाउँघरमा हुने घटनाले महिला हिंसा बढिरहेको रसुवा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालले बताए । विकट क्षेत्रमा यस्ता कार्यक्रमले चेतना अभिवृद्धि गराउँदै घटना कम हुने उनको भनाइ छ ।
विकट क्षेत्रका नागरिक लेखपढ गर्न नजान्दा आफूले लिने नेपाली नागरिकतालगायतका अन्य परिचयपत्रहरूमा समेत अशुद्धता आउने गरेको र समयमै घटनादर्ता गर्न नजानेहरूका लागि सचेतनामूलक कार्यक्रमले सुसूचित गराउने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताइन् ।
विकट क्षेत्रहरूमा गरिएका सचेतनाका कार्यक्रमले न्यायका लागि नागरिकहरू सचेत बन्दै जाने उत्तरगया गाउँपालिकाका अध्यक्ष लम्सालले बताए । हिंसामा परेका, न्यायको ज्ञान नभएका र न्यायको पहुँचमा नपुगेकालाई लक्षित गरी यो कार्यक्रम गरेकोमा रसुवा महिला सञ्जाललाई धन्यवाद ज्ञापन गरे ।
विकट क्षेत्रका नागरिकहरूले मादक पदार्थ सेवन गरी हिंसा बढेको, नागरिकता तथा अन्य परिचयपत्रहरूमा अशुद्धता भएको, घरेलु हिंसामा परेकोलगायतका समस्याहरूको जिज्ञासा राखेका छन् ।