वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपामा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जसपालाई महानगरमा जिताए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका हुन् ।
विगतमा आफूले जसपा छोड्न दुईपटक राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । आफूलाई सामाजिक रूपमा मानमर्दन गर्ने काम नरोकिएकोले नयाँ पार्टी रोज्नुपरेको उनको दाबी छ ।
उनले भने, ‘पूर्ण रूपमा यो महानगरपालिका र पूरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले राख्नुपर्थ्याे, त्याे भएन । किनभने, म त राजनीतिक पृष्ठभूमिबाट आएको थिइनँ । म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिवेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्याे, जुन ढंगले मलाई राख्नुपर्थ्याे, त्यो नभएका कारण मैले दुईपटक राजीनामा पनि दिएको थिएँ । राजीनामा दिदाँदिँदै पनि अध्यक्ष उपेन्द्र यादवले त्यतिवेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि । तर, लगातार ममाथि दुर्व्यवहारहरू हुने, सामाजिक रूपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने कामहरू भए । त्यसकारण नयाँ पार्टी रोजेँ ।’
मेयर सरावगीले एमाले अध्यक्ष केपी ओलीको राष्ट्रिय भावना र विकासप्रतिको चाहानाबाट प्रेरित भएको पनि बताए । कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनले बताए । उनले भने, ‘नयाँ पार्टी रोज्ने वेलामा मसँग दुईवटा विकल्प थिए, एउटा कांग्रेस र अर्को एमाले । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँबाट जनप्रतिनिधि हुने अवस्था नबन्ने भयो । अब एमालेको मेयर हुँ म । र, आउने दिनमा पनि एमालेमार्फत नै अब मेरो आफ्नो भविष्यको राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’
उनले एमालेमा कुनै पद पाउनका लागि सर्त गरेर नगएको दाबी पनि गरे । उनले आगामी निर्वाचनमा पार्टीले टिकट दिए मेयर बन्न तयार रहेको पनि बताए ।