१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७८ फाल्गुण २७ शुक्रबार ११:१५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

न्यादीको ३० मेगावाट विद्युत् उत्पादन हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार ११:१५:oo

लमजुङमा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत् खेर गएको छ । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ले असहयोग गरेपछि आयोजनाको विद्युत् खेर गएको हो ।

आयोजनाको विद्युत् उपकरण तथा संरचनाको परीक्षण भएको दुई महिना बित्दासमेत विद्युत् उत्पादन सुरु हुन सकेको छैन । सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएकाले आयोजनाको विद्युत् खेर गएको प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनले भने, ‘उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएपछि दुई महिनादेखि आयोजनाको विद्युत् खेर गइरहेको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसकी बिजुली खेर गएको हो ।’

नेपाल विद्युत् प्राधिकरणले न्यादीको विद्युत् जोड्ने अनुमति दिन पत्राचार गरे पनि माथिल्लो मस्र्याङ्दी ‘ए’को प्रवद्र्धक सिनो हाइड्रो सगरमाथाले मानेको छैन । आयोजनाको बिजुली दुई सय २० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता छ । प्राधिकरणसँग सम्झौता गरिए पनि प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा वैकल्पिक विद्युत् जडानस्थल खोज्नुपरेको हो । 

आयोजनाका सबै उपकरणको परीक्षण भइसकेको न्यादीले खुदी सबस्टेसनको ६ किमि प्रसारण लाइन यसअघि नै बनाइसकेको छ भने मस्र्याङ्दी–३ खुदी सबस्टेसनबाट मस्र्याङ्दी–८ लाम्पाटासम्म थप तीन किमि प्रसारण लाइन निर्माण गरिसकेको छ । आयोजना सम्पन्न गर्न आयोजनाको करिब ६ अर्ब चार करोड २८ लाख रुपैयाँ खर्च भएको अनुमान छ । भुलभुले–मस्र्याङ्दी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत् प्रवाह भइरहेको छ । कोरोनाका कारण भएको लकडाउनले आयोजनाको व्यावसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ । बुटवल पावर कम्पनी (बिपिसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । 

०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलिबेँसीबाट ताराचोक जाने बाटो ङादी नदी–तीरमा बनाइएको विद्युत्गृहबाट विद्युत् उत्पादन गरिनेछ । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।