मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २० शुक्रबार १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिटामोलले काम गर्न छाडेपछि ‘ग्राम’ बढाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार १७:५२:oo

नेपालमा उत्पादन भएका सिटामोलले बिरामीमा काम गर्न छाडेपछि चिकित्सकहरूले यसको वजन (ग्राम) बढाउन माग गरेका छन्। विगतमा कुरा उठाउँदै आए पनि अब भने समस्या नै देखिएकाले यसलाई गम्भीरताका साथ लिनुपर्ने चिकित्सकहरू बताउँछन्।

नेपालीहरूमा शरीरको वजन बढ्दै जाँदा हाल प्रयोग भइरहेका सिटामोलले काम गर्न छाडेको चिकित्सकहरूको भनाइ छ। वरिष्ठ चिकित्सक डा. ऋषिकुमार काफ्लेका अनुसार कोभिडका बिरामीमा सिटामोलले काम नगर्दा ठूलो समस्या आएको थियो। ‘नेपालमा पाँच सय मिलिग्रामका सिटामोल उत्पादन भएका छन्,’ काफ्लेले भने, ‘भारतमा एक हजार ग्रामको बनाइसकिएको छ। हाम्रो शरीरलाई मिल्ने सिटामोल ६५० मिलिग्रामको हो,’ उनले भने।

नेपालमा ६५० मिलिग्रामको औषधि हालसम्म उत्पादन भएको छैन। अब भने अति आवश्यक भइसकेको चिकित्सकहरू बताउँछन्। तर, औषधिको वजन बढाउँदा सिटामोलको मूल्य पनि समायोजन गर्न आवश्यक हुन्छ। नेपालमा सिटामोलको मूल्य हाल एक रुपैयाँ रहेको छ। वि.सं २०६४ देखि सिटामोलको मूल्य समायोजन भएको छैन। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि औषधिको ग्राम बढाउँदा मूल्य समायोजन गर्न सहज हुने बताएका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन काकी पनि सिटामोलमा ग्राम नबढाए बिरामीलाई काम नगर्ने बताउँछन्। ‘पछिल्ला केही वर्षको अनुपात हेर्दा ५ सय मिलिग्रामको सिटामोलले काम नगरेर चिकित्सकले बढी औषधि दिनुपरेको छ,’ उनले भने। कोभिडको समयमा सबै बिरामीहरूलाई बढी औषधि चलाउनुपरेको उनले बताए।

नेपाल औषधि उत्पादक संघले पनि सिटामोल ६५० मिलिग्राम बनाउनुपर्ने बताएको छ। नेपालीको शरीरको वजन, खानपान सबै कुराको मूल्यांकन गरेर ग्राम बढाउन चाहेको औषधि उत्पादन संघका कोषाध्यक्ष प्रभात रंगटाले बताए। सरकारले मूल्यमा पनि केही सोचिदियोस् भन्ने व्यवसायीको चाहना छ। नेपालमा गरिएको एक अध्ययनअनुसार एक नेपालीले एक वर्षमा औषतमा ३० रुपैयाँको सिटामोल किनेर खान्छन्।