युरोपेली संघले काबुलमा तालिबानले फरक जातीय समुदायको घरमा जथाभावी अपरेसन अभियान सञ्चालन गरेको र गैरकानी रूपमा यातना दिएको भन्दै विरोध गरेको छ । यसलाई अपराध भन्दै संघले तत्कालै अपराधिक कार्य रोक्न तालिबानसँग माग गरेको छ ।
अफगानिस्तानका लागि युरोपेली संघका राजदूत भोन ब्रान्टलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समुदायले जनाएअनुसार विश्व समुदायले अहिले रुस–युक्रेन युद्ध मात्रै हेरिरहेको छैन, तालिबानको व्यवहार पनि हेरिरहेको छ । ‘म तालिबानलाई भन्न चाहन्छु कि रुस–युक्रेन संकटबाहेक विश्वले तालिबानको व्यवहारलाई पनि हेरिराखेको छ,’ खामा प्रेसले उनको भनाइ उद्धृत गरेको छ, ‘विभिन्न जातीय समूहका सदस्यहरू र महिलाहरूविरुद्ध धम्की, घर खोजी, जथाभावी गिरफ्तार र हिंसा थोपर्नु अपराध हो । तालिबानले यसको तुरुन्तै बन्द गर्नुपर्छ ।’
तालिबानले गत सातादेखि काबुलमा सर्वसाधारण तथा बुद्धिजीवीहरूको घर जथाभावी खानतलासी गर्दै आएको छ । अफगानिस्तानभित्रै यस कदमको मिडिया र सामाजिक सञ्जाल प्लेटफर्ममा समेत विरोध हुन थालेको छ । अफगानिस्तानलाई बाहिरबाट हेरिरहेकाहरूले पनि तालिबानको व्यापक आलोचना गरेका छन् ।