१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोखरा म्याराथनको उपाधि केन्याका कोस्जाईलाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:३९:oo

प्रहरीकी पछाईलाई महिलातर्फको हाफ म्याराथनको उपाधि 

१६औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ को उपाधि केन्याका स्टेफन कोस्जाईले जितेका छन् । यसैगरी, महिलातर्फको हाफ म्याराथनको उपाधि नेपाल प्रहरीकी राजपुरी पछाईले हात पारिन् । महिलातर्फको विजेता पछाईले लगातार दोस्रो वर्ष उपाधि हात पारेकी हुन् । उनले गत वर्ष सम्पन्न १५औँ संस्करणको उपाधिसमेत जितेकी थिइन् ।

शनिबार पोखरामा सम्पन्न म्याराथनमा सहभागी दुई सय २४ जनालाई पछि पार्दै कोस्जाईले निर्धारित ४२.१९५ किमि दूरी दुई घन्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका हुन् । प्रतियोगितामा गत वर्षदेखि थप गरिएको महिलातर्फको हाफ म्याराथनको निर्धारित २१ किमिको दूरी पछाईले एक घन्टा २१ मिनेट २७ सेकेन्डमा पार गरेकी हुन् । हाफ म्याराथनमा सहभागी ३८ जनालाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । गत वर्ष सम्पन्न १५औँ संस्करण २७ मिनेट एक सेकेन्डमा दूरी पार गरेकी पछाईले खेलमा सुधार गर्दै यस वर्ष पाँच मिनेट ३४ सेकेन्ड कम समयमा दूरी पार गर्न सफल भएकी हुन् । प्रतियोगिताको आयोजना भूतपूर्व खेलाडी मञ्च नेपाल र लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी उद्योगको उत्पादन सफल दूधले प्रायोजन गरेको हो । 

खुला म्याराथनतर्फ केन्याकै सिमिअन किपलागाटोले दुई घन्टा २१ मिनेट तीन सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो, नेपाली सेनाका मोहनदेव जोशीले दुई घन्टा ३३ मिनेट २४ सेकेन्डमा पार गर्दै तेस्रो र सशस्त्र प्रहरीका सन्तोषविक्रम विष्टले दुई घन्टा ३४ मिनेट ४८ सेकेन्डमा पार गर्दै सान्त्वना स्थान हात पारे । 

यसैगरी, महिलातर्फ निर्धारित दूरी एक घन्टा २७ मिनेट ४१ सेकेन्डमा पार गर्दै सशस्त्र प्रहरीकी विन्द्रा धान्के श्रेष्ठ दोस्रो, जुम्लाकी राममाया बुढा एक घन्टा ३० मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो र बेलायतकी हान्ना कारसले एक घन्टा ३२ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै सान्त्वना स्थान प्राप्त गर्न सफल भइन् । महिलातर्फ दोस्रो भएकी श्रेष्ठ गत वर्ष तेस्रो भएकी थिइन् भने यस वर्ष तेस्रो भएकी बुढा गत वर्ष दोस्रो भएकी थिइन् । 

सेनाका जोशीलाई अन्तर्राष्ट्रिय अवसर 
खुला म्याराथनमा तेस्रो स्थान प्राप्त नेपाली सेनाका मोहनदेव जोशीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने भएका छन् । उनी म्याराथनमा सहभागी नेपालीमध्ये प्रथम भएका हुन् ।

पोखरेली मञ्च युकेको सहयोगमा उनले बेलायतमा हुने एउटा म्याराथनमा सहभागी हुन पाउने प्रचार संयोजक केशव पाठकले जानकारी दिए । यसैगरी, नेपाल एथलेटिक्स संघले १९औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा सहभागीसँगै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राथमिकताका साथ सहभागी गराउने घोषणा गरेको पाठकले बताए ।

आयोजकले सन् २०२४ भित्र पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गराउने योजनासहित तीन वर्षभित्र पुरस्कार राशि १० लाख पु¥याउने योजना अघि सारेको मञ्चका अध्यक्ष पराजुलीको भनाइ छ ।

खुलातर्फका विजेतालाई चार लाख 
खुलातर्फका विजेताले नगद चार लाख, दोस्रोेले दुई लाख, तेस्रोले एक लाख र सान्त्वनाले ३० हजारसँगै महिलातर्फ विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजारसँगै मेडल पुरस्कार पाए । म्याराथनमा सहभागी हुन भारत, केन्या, फ्रान्स, युके, ओमन, आयरल्यान्ड, अमेरिकाका गरी १४ जना धावक पोखरा आएका थिए । विजेता धावकहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा रंगशालाबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमापछि पुनः रंगशालामै आएर सम्पन्न भएको थियो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै म्याराथनसँगै आयोजना गरिने ६ विधाका दौडमध्ये बाँकी चार विधा आउँदो १२ चैतमा हुने भएको छ । १२ चैतमा महिला–पुरुष १० किलोमिटर, छात्रछात्रा पाँच किलोमिटर, ह्विल चियर र दृष्टिविहीन महिला–पुरुष दौड हुनेछ ।

खुला म्याराथन

  • स्टेफन कोस्जाई, केन्या, दुई घन्टा १९ मिनेट ४३ सेकेन्ड
  • सिमिअन किपलागाटो, केन्या, दुई घन्टा २१ मिनेट तीन सेकेन्ड
  • मोहनदेव जोशी, नेपाल, दुई घन्टा ३३ मिनेट २४ सेकेन्ड

हाफ म्याराथन

  • राजपुरी पछाई, नेपाल, एक घन्टा २१ मिनेट २७ सेकेन्ड
  • विन्द्रा धान्के श्रेष्ठ, नेपाल, एक घन्टा २७ मिनेट ४१ सेकेन्ड
  • राममाया बुढा, नेपाल, एक घन्टा ३० मिनेट ४८ सेकेन्ड
ad
ad