१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
कोरोनाविरुद्धको खोप लगाउँदै बालबालिका ।
२o८१ बैशाख २० बिहीबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बाँकेका ७६ प्रतिशत बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५८:oo

बाँकेका ७६ प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । १२–१७ वर्ष उमेर समूहलाई लक्षित गरी १९–२० माघमा सञ्चालन भएको खोप अभियानमा ७६ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, खोप लगाउनेमा सबैभन्दा धेरै कोहलपुरका बालबालिका छन् । कोहलपुरमा १२१ प्रतिशत बालबालिकाले खोप लगाएको उनले बताए । त्यहाँ १० हजार तीन सय २९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो, तर कोहलपुरका १२ हजार पाँच सय २१ बालबालिकाले खोप लगाएको श्रेष्ठले बताए । 

खजुरा र राप्तीसोनारीका समान ८४ प्रतिशतले खोप लगाएका छन् । बैजनाथ र नेपालगन्ज उपमहानगरपालिकाका ७४–७४ प्रतिशत तथा डुडुवा गाउँपालिका ४७ र जानकीका ४५ प्रतिशतले खोप सुविधा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

मोडर्ना खोप लगाउनेमा नरैनापुर गाउँपालिका सबैभन्दा कम छन् । त्यहाँका ३४ प्रतिशत बालबालिकाले मात्र खोप लगाएको कोरोना खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनले चार हजार नौ सय ६६ लक्ष्य राखिएकोमा एक हजार ६ सय ७४ जनालेमात्र खोप लगाएको बताए ।  

 ग्रामीण भेगका बालबालिका कोरोनाविरुद्धको खोपप्रति आकर्षित
डुडुवा गाउँपालिका–४ की १३ वर्षीया सुदामा खटिकले कोरोनाविरुद्धको खोप लगाइन् । खोप लगाएपछि कोरोनाबाट सुरक्षित भइन्छ भन्ने सुनेकी उनले आफ्ना बाबुआमालाई खोप केन्द्रमा लैजान आग्रह गरिन् । साथीसंगीले खोप लगाएको जानकारी पाएपछि आफूले पनि बाबुआमालाई खोपकेन्द्रमा लैजान आग्रह गरेको उनको भनाइ छ ।

डुडुवा गाउँपालिका–५, कम्दीकी १५ वर्षीया सुष्मा यादवले पनि बुधबार कोरोनाविरुद्धको खोप लगाइन् । साथीभाइसँगै खोपकेन्द्र आएकी उनले बाबुआमाले खोप लगाउन सुझाब दिएको बताइन् । ‘खोप लगाएपछि कोरोना लाग्दैन भन्ने सुनेकी छु, त्यही भएर खोप लगाउन यहाँ आएँ,’ खोपकेन्द्रमा भेटिएकी उनले भनिन् । 

योभन्दा पहिलेको खोप अभियानमा डुडुवाका सर्वसाधारणले खासै चासो नदिए पनि अहिले बालबालिकालाई खोप लगाउन उत्साहित देखिएका छन् । विद्यालयमा अध्ययनरत नभए पनि अभिभावकले जन्मदर्तासहित आफ्ना छोराछोरी लिएर खोपकेन्द्र आएको डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । 

कोरोनाविरुद्धको खोप लगाउनुपर्छ भन्ने चेतना यहाँका सर्वसाधारणमा बढेको उनको भनाइ छ । अधिकांश अभिभावकले कोरोनाविरुद्धको खोप लगाएको बताउँदै उनले आफूले नलगाएका अभिभावकले समेत आफ्ना छोराछोरीलाई खोप लगाउन ल्याएको बताए । ‘खोप लगाउने बालबालिकाको सहभागिता र खोपप्रति बढेको चासो देखेर हामी उत्साहित भएका छौँ,’ उनले भने । 

श्री आधारभूत विद्यालय शाहपूर्वा खोपकेन्द्रमा खटिएका अहेव खड्गबहादुर रोका मगरले पनि कोरोनाविरुद्धको खोप लगाउने बालबालिकाको सहभागिता उत्साहजनक रहेको बताए । उनले डुडुवा गाउँपालिकाका मधेसी र मुस्लिम समुदाय खोपप्रति आकर्षित देखिएको उल्लेख गरे । ‘खोपप्रति चासो नदेखाउने समुदायका बालबालिकासमेत उत्साहित भएर खोप लगाउन केन्द्रमा आएको पाइयो, यसले खोप अभियान प्रभावकारी बन्दै गएको स्पष्ट हुन्छ,’ उनले भने, ‘खोपको महŒवबारे गाउँपालिकाले सर्वसाधारणलाई बुझाउन सकेको छ भन्ने प्रमाणित भएको छ ।’ 

डुडुवाका झन्डै तीन हजार नौ सय बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख बुढाले जानकारी दिए । उनले खोपकेन्द्रमा आउन छुटेकालाई घरभेट अभियानमार्फत खोपसेवा दिने जिकिर गरे । ‘खोपसेवाबाट कोही वञ्चित नहून् भन्ने हाम्रो उद्देश्य छ । खोपकेन्द्रमा आउन नसकेकाको पहिचान गरी गाउँघरमा गएर खोपको व्यवस्था मिलाइनेछ,’ उनले भने । बाँकेका अन्य पालिकामा पनि खोप अभियान सन्तोषजनक रूपमा सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । उनले मधेसी तथा मुस्लिम समुदायको बाहुल्य भएको नरैनापुर र जानकी गाउँपालिकामा समेत कोरोनाविरुद्धको खोप अभियान सन्तोषजनक भइरहेको जिकिर गरे । ‘पहिलो दिनको खोप अभियान एकदमै राम्रो भएको छ । अभिभावकसँगै बालबालिकामा खोपप्रति चासो बढेको सहभागिताले देखाउँछ,’ उनले भने । 

ad
ad