१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवदीप अजनवी नुवाकोट
२०७८ माघ २१ शुक्रबार १०:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य बिमाबाट रकम नआउँदा त्रिशूली अस्पतालको फार्मेसी रित्तिँदै 

Read Time : > 1 मिनेट
२०७८ माघ २१ शुक्रबार १०:५२:००

स्वास्थ्य बिमा बोर्डबाट बिमा दाबी भुक्तानीबापतको रकम नआएपछि त्रिशूली जिल्ला अस्पतालमा रहेको फार्मेसी रित्तिन थालेको छ । कतिपय औषधि अस्पतालको फार्मेसीमा नभएपछि सेवाग्राही निजीमा महँगोमा औषधि किन्न बाध्य छन् । 

सरकारले नुवाकोटमा स्वास्थ्य बिमा योजना लागू गरेको छ । स्वास्थ्य बिमा गरेकाले औषधि उपचारको रकम स्वास्थ्य बिमा बोर्डबाट समयमै प्राप्त नहुँदा समस्या भएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताए । ‘पटक–पटक ताकेता गरेका छौँ । तर, बिमा दाबी रकम समयमा उपलब्ध नहुँदा थप औषधि खरिद गर्न सकिएको छैन,’ उनले भने ।

जिल्लामा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दो छ । बिमा बोर्डबाट उपचारका लागि नुवाकोटमा चारवटा स्वास्थ्य संस्था सूचीकृत भएका छन् । तर, विशेषज्ञ सेवा पाइने भएकाले प्रायः बिमा गरेका सेवाग्राही त्रिशूली अस्पतालमा आउने भएकाले त्रिशूली अस्पतालमा उपचारको दाबी भुक्तानी धेरै भएको हो । अस्पतालमा चालू आर्थिक वर्षको साउनयताको मात्र स्वास्थ्य उपचार दाबी भुक्तानीबापत ८० लाख रुपैयाँभन्दा बढी बोर्डबाट भुक्तानी हुन बाँकी छ । औषधि सुलभ मूल्यमा बिक्री गर्ने र सोही पैसाबाट अस्पतालले आवश्यक औषधि खरिद गर्दै आएको छ । स्वास्थ्य बिमा बोर्डबाट समयमा रकम नआउने भएकाले औषधि खरिदमा समस्या हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताए ।

बिमाको धेरै रकम रोकिँदा प्रयोगशालाको सामग्री खरिदमा पनि समस्या भएको छ । बिरामीको उपचारमा खटिने चिकित्सकलाई इन्सेन्टिभसमेत दिन नसकेको बिमा कार्यक्रम हेर्दै आएका सूचना प्रविधि अधिकृत वसन्त पुडासैनीले बताए । बिमितले उपचार गरेपछि बिमा दाबीका लागि आवश्यक कागजात नदिएकाले केही समस्या भइरहेको उनले बताए । अस्पतालमा दैनिक एक सयजनाभन्दा बढी बिमा गरिएका उपचारका लागि आउने गरेका छन् । 

स्वास्थ्य बिमा बोर्ड नुवाकोटकी दर्ता अधिकारी गीता शर्माले बिमा दाबी भुक्तानीका लागि आवश्यक कागजात जुटाउन र त्यसको भेरिफाई गर्दा केही समय लाग्ने गरेको बताइन् । बिमा गरेको व्यक्तिले उपचारपछि कागजात दिन र जहाँ उपचार गरिएको हो, सोही संस्थाले सबै प्रक्रिया पुर्‍याएर पठाएमा भुक्तानी केही चाँडो हुन सक्छ । तर, कागजात जुटाउन समय लाग्ने भएकाले अस्पतालमा भुक्तानी हुन समय लागेको उनको भनाइ छ । 

नुवाकोटमा ०७७ असारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । हालसम्म १९ हजार तीन सय २४ जनाले स्वास्थ्य बिमा गराएका छन् । ०७७ मंसिरबाट स्वास्थ्य बिमा गराएकाले उपचार सेवा प्राप्त गर्न थालेका हुन् ।