अस्ट्रेलियाले क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड)का विदेशमन्त्रीहरूको बैठक आयोजना गर्ने भएको छ । क्वाडमा भारत, अमेरिका, जापान र अस्ट्रेलिया छन् । बैठक दुई सातापछि आयोजना हुने अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अस्ट्रेलियाली विदेशमन्त्री मारिस पेनेले बैठकको मिति सार्वजनिक गरेकी छैनन्, तर उनले सोमबार ट्विटरमा भनेकी छिन्, ‘आगामी केही हप्तामा म अस्ट्रेलियामा क्वाडका विदेशमन्त्रीहरूलाई स्वागत गर्न उत्सुक छु ।’ भारतका विदेशमन्त्री डा. एर जयशंकर त्यसका लागि अस्ट्रेलिया जाने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ओरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इन्डो–प्यासिफिक समन्वयमा जापान, भारत र अस्ट्रेलियाका समकक्षीहरूसँग छलफलका लागि सहभागी हुने उनीनिकट स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार दिएका छन् । बैठक दुई–दिवसय हुनेछ । बैठकमा चीन, युक्रेन, रुस, अफगानिस्तान, मध्यपूर्वसहित इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षाका विषयमा छलफल हुने बताइएको छ । चीनले क्वाडलाई शीतयुद्धको निर्माण र अन्य देशहरूलाई लक्षित गर्ने समूहको रूपमा टिप्पणी गर्दै आएको छ ।
‘यस क्षेत्रमा हामी रणनीतिक छनोटहरू दिन सहयोग गर्ने उदार लोकतन्त्रहरूको महत्त्वपूर्ण नेटवर्क हौं’ अस्ट्रेलियाली विदेशमन्त्रीले भनेकी छिन्, ‘रणनीतिक प्रतिस्पर्धा, उदार अन्तर्राष्ट्रिय व्यवस्थामा खतरा र बढ्दो अनिश्चितताबीचमा प्रधानमन्त्री स्कट मोरिसनको सरकारले यस क्षेत्रमा अस्ट्रेलियाको साझेदारीलाई गहिरो बनाउँदै छ ।’
क्वाड समूहले यस क्षेत्रलाई कोभिड १९ विरुद्ध खोपको आपूर्ति बढाउनेलगायत आपूर्ति श्रृंखला र प्रविधि सहयोगका बारेमा छलफल गर्नेसमेत अपेक्षा गरिएको छ ।