मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १८:४७:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

एपिएफलाई आहा ! रारा गोल्डकपको उपाधि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४७:oo

१२ वर्षमा खोला पनि फर्किन्छ भने झैँ १४ वर्षपछि फाइनल पुगेको विभागीय एपिएफ क्लबले २०औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि उचालेको हो । 

ट्राइब्रेकरमा पाँचौँ नम्बरमा प्रहार गरेका ओलावाले अफिजको प्रहार विपक्षी किपर युया कुरियामाले क्लियर गरेपछि मनाङको सातपटक उपाधि उचाल्ने इच्छा पूरा भएन । साथै, एपिएफ पहिलोपटक उपाधि उचाल्दै एतिहास रच्न सफल भयो । ०६४ सालमा फाइनल पुगेर पनि नेपाल पुलिस क्लबसँग पराजित हँुदै उपाधिविमुख भएको एपिएफले १४ वर्षपछि उपाधि हात पारेको छ । एपिएफले उपाधिसँगै १० लाख एक हजार र मनाङले उपविजेता बन्दै पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । 

निर्धारित समयमा समान दुई गोल
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । निर्णयका लागि थपिएको ३० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि ट्राइब्रेकरमार्फत विजेता छनोट गरिएको थियो ।

ट्राइब्रेकरमा एपिएफका लागि नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणि लामा र अमान्ड बिडोम र मनाङका लागि फ्रान्किलन कोटे, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता लिने क्रममा पहिलो हाफमा एपिएफले एक गोल गरेको थियो । एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा लगातार दुई गोल गर्दै अग्रता लिएको थियो । निर्धारित ९० मिनेटको खेलमा थपिएको पाँच मिनेटको इन्जुरी समयको पहिलो मिनेट (९०+१) मा एपिएफले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएको थियो । 

२०औँ संस्करणसम्म आइपुग्दा फाइनलमा मनाङ र एपिएफको पहिलो भेट हो । पछिल्लोपटक दुई टोलीको भेट ०७५ सालमा सम्पन्न १७औँ संस्करणको क्वार्टरफाइनमा भएको थियो । खेलमा एपिएफ १–० गोलले विजयी भएको थियो ।

एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल पुग्नुअघि एपिएफले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–०, क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटालाई ३–१ र सेमिफाइनलमा मच्छिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै फाइनलको यात्रा बनाएको थियो । बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश पाएको मनाङले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–० र सेमिफाइनलमा आर्मी क्लबलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधिका लागि एपिएफसँगको भेट पक्का गरेको थियो । 

यसअघि, खेलमा सुरुदेखि नै दुवै टोली आक्रामक रूपमा प्रस्तुत भएका थिए । खेलको २१औँ मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले एपिएफले अग्रता कायम गरेको थियो । दोस्रो हाफ सुरु भएको २२ मिनेटपछि अर्थात् खेलको ६७औँ मिनेटमा मनाङका दयानन्द सिंहले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ८४औँ मिनेटमा फ्रान्किलन कोटेले गोल गर्दै मनाङलाई २–१ ले अग्रता दिलाउन सफल भए ।

९० मिनेटको खेलमा थपिएको पाँच मिनेटको इन्जुरी समयको पहिलो मिनेट (९०+१) मा एपिएफका लागि रवि थिङले गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि ट्राइब्रेकरमा एपिएफ बाजी मार्न सफल भएको थियो । 

जितपछि एपिएफका प्रशिक्षक कुमार थापाले भने, ‘खेलाडीको मिहिनेतका कारण जित हात पा¥यौँ । टोलीका चार खेलाडी फाइनल खेल्न नपाए पनि अरू सबै खेलाडी उत्कृष्ट लयमा थिए ।’

यी भए उत्कृष्ट

उत्कृष्ट खेलाडी : एपिएफका राजन गुरुङ (स्कुटर पुरस्कार)  
सर्वाधिक गोलकर्ता :  एपिएफका रवि थिङ (तीन गोल)
उत्कृष्ट डिफेन्डर : एपिएफका राजन गुरुङ
उत्कृष्ट गोलरक्षकः एपिएफका युया कुरियामा
उत्कृष्ट मिडफिल्डर : एपिएफका रवि थिङ   
उत्कृष्ट फरवाड :  मनाङका ओलावाले अफिज
उत्कृष्ट प्रशिक्षक: एपिएफका कुमार थापा 
फेएर प्ले : त्रिभुवन आर्मी क्लब