१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ माघ १४ शुक्रबार ०७:१५:००
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसरी छान्नुपर्छ दलले उम्मेदवार

Read Time : > 7 मिनेट
२०७८ माघ १४ शुक्रबार ०७:१५:००

अबका उम्मेदवार सीमित व्यक्तिहरूको स्वार्थका लागि नेताको खल्तीबाट होइन, जनताको घरदैलोबाट आउनुपर्छ 


अमेरिकी राजनीतिज्ञ विलियम एम ट्विडले भनेका थिए, ‘मलाई कसले मतदान गर्छसँग तबसम्म मतलब छैन, जबसम्म मैले उम्मेदवार तय गर्छु ।’ हाम्रो लोकतन्त्रको आजको सबैभन्दा ठूलो समस्या यही हो । उम्मेदवार नै अरू कसैले कहीँबाट तय गर्छ, हामीले अरू कसैको उम्मेदवारलाई भोट हालेर अरू कसैको राजनीतिका लागि जिताइदिनुपरेको छ । केही व्यापारी, माफिया या नेताले हाम्रो राजनीतिक दल अनि समग्र निर्वाचनलाई नै एक हिसाबले नियन्त्रण गरिसकेका छन् । चुनावमा दुई चरण निकै महत्‍वपूर्ण हुने गर्छन्– पहिलो, उम्मेदवार चयन । दोस्रो, मतदान । हाम्रो उम्मेदवार चयन नै अपारदर्शी अनि नेताको खल्तीबाट हुने गरेको छ । पहिलो चरणमै अपारदर्शी खेल भइसकेपछि दोस्रो चरणले तात्विक अर्थ राख्दैन ।

हाम्रा केही अभ्यास

१३ असोज, २०७३ मा तत्कालीन विवेकशील नेपाली दलले करिब दुई दर्जन बुद्धिजीवी र पत्रकारसँग साक्षात्कार गर्दै एउटा नीति सार्वजनिक गर्‍यो । जसलाई हामीले नाम दिएका थियौँ– विवेकशील नेपाली दलको उम्मेदवार छनोट नीति । हाम्रो लोकतन्त्र र हाम्रो नेतृत्वले ‘डेलिभरी’ गर्न नसक्नुमा निर्वाचन प्रणालीमा ठूलो समस्या छ र त्यो समस्या उम्मेदवार छनोटबाटै सुरु हुन्छ भन्ने हाम्रो निष्कर्ष थियो । त्यसैले, हामीले भन्यौँ– उम्मेदवार चयनमै सुधार गरौँ ।

हामीले काठमाडौंको मेयरमा कसलाई उठाउने भनेर खुला आह्वान गर्‍यौँ । एउटा निर्णायकमण्डल गठन गर्‍यौँ र यही नीतिअनुसार काठमाडौंको मेयर छान्यौँ । प्रतिस्पर्धाबाट रन्जु दर्शना उम्मेदवार बन्नुभयो । हामीले नयाँ अभ्यास सुरु गरेका थियौँ । त्यतिवेला, खुला आह्वान गर्दा हामीले पाँच सय शब्दमा तपाईंको भिजन लेखेर वा भिडियो बनाएर पठाउनुहोला भन्दा विवेकशील नेपाली दलको नेता बन्न निबन्ध लेख्नुपर्ने भनेर हामीलाई हाँसोको पात्र पनि बनाइएको थियो । खैर, त्यो नवीन प्रयोगको सुरुवात भने पक्कै थियो । त्यसपछि २०७४ सालको प्रदेश सभा र प्रतिनिधि सभाका निम्ति पनि पार्टीले खुला आह्वान गरेको थियो । हामीले पार्टीभित्र र बाहिरका गरेर १५६ जना उम्मेदवार खुला आह्वानबाट उठाएका थियौँ ।

केही दिनअघि आमआदमी पार्टीले पनि पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीको उम्मेदवार छनोट गरेको हो भनेर दाबी गर्‍यो । आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो । ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सञ्जालमार्फत जनताको अभिमत मागेको थियो । केजरीवालले झन्डै २२ लाख मानिसले अभियानमा आफ्नो राय व्यक्त गरेको बताएका थिए । तीमध्ये ९३ प्रतिशत मत आपका तर्फबाट उम्मेदवार भागवान्त मनको पक्षमा आएको बताएका थिए । यो वैकल्पिक राजनीतिले निम्त्याएको नयाँ बहस हो । जबसम्म केही नीति बदलिँदैन, तबसम्म राजनीति बदलिँदैन । हो, वैकल्पिक राजनीतिले परम्परागत राजनीतिका यस्तै नीतिमा नयाँपन र नवीनता ल्याउने हो ।

अहिलेसम्म आममतदाता नराम्रै–नराम्रामध्येका कम नराम्रो नेतालाई मात्र छान्न बाध्य छन् । देश बनाउन राम्रो नेता चाहिन्छ, तर राम्रो नेता आउन पनि त राम्रो उम्मेदवार उठ्ने माहोल चाहियो नि । उम्मेदवार नै राम्रो नहुँदा जित्ने नेता कसरी राम्रो हुन सक्छ ? फोहोर मुहानबाट कसरी सफा पानी बग्न सक्छ ? त्यसैले, अब नेतृत्व आउने मुहान नै सफा गर्न जरुरी छ । अबका उम्मेदवार सीमित व्यक्तिहरूको स्वार्थका लागि नेताको खल्तीबाट हैन, जनताको घरदैलोबाट आउन जरुरी छ ।

हालको परिस्थितिमा सक्षम व्यक्तिहरूले देशका निम्ति किन योगदान गर्न सकिरहेका छैनन् ? किन योग्य मानिस राजनीतिमा आउन सकिरहेका छैनन् ? किनकि, हामीले जस्तो पार्टी प्रणालीको अभ्यास जसरी गरिरहेका छौँ, त्यो प्रणाली र संस्कारले एउटा निष्ठावान् नागरिकलाई पार्टीको ‘झोले’ बनाउँछ । अझ पार्टीको सम्म त ठिकै हुन्थ्यो होला, तर यहाँ त एउटा गुटको अनि एउटा नेताको गुलामी गर्नुपर्ने स्थिति छ । योगदान गर्नका लागि कुनै न कुनै पार्टीको सदस्य हुनैपर्ने, वर्षौँ एउटा गुटको एउटा नेताको झोला बोकेर हिँड्नुपर्ने, गुटको कोटामा पर्नुपर्ने अनि नेताको चाकडी गर्नुपर्ने परिपाटी नै अहिलेको राजनीतिको योग्यता बनेको छ । यस्तो अवस्थामा कसरी एक निष्ठावान् व्यक्तिले सुसंस्कृत राजनीति गर्न सक्छ र ? त्यसैले, हालको राजनीतिले नै योग्य सक्षम मानिसलाई पाखा लगाउने काम गर्दै छ ।

यहीँनेर एउटा प्रश्न उठ्न सक्छ, के सक्षम मानिसले स्वतन्त्र उम्मदेवारी दिन सक्दैन ? राजनीति भनेको नीति, नेतृत्व र संगठन सबैको मिश्रण हो । अपवादबाहेक हामीले अभ्यास गरेको संसदीय पद्धति अनि बहुदलीय प्रतिस्पर्धामा एउटा व्यक्तिले मात्र परिवर्तन ल्याउन सम्भव छैन । केही वर्षअघिको मणिपुरको विधानसभा चुनावमा १६ वर्ष अनशन बसेर अभियान चलाएकी इरोम शर्मिलाले ९० भोटभन्दा बढी ल्याउन सकिनन् ।

नेपालमै पनि संविधानसभामा सुप्रभा घिमिरेले बागी उम्मेदवारका रूपमा पहिला आफैँले जितेको क्षेत्रमा सय भोट नघाउन सकिनन् । यसबाट के देखिन्छ भने, यो प्रणालीमा संगठनको अहं भूमिका रहन्छ । स्वतन्त्र रूपमा राजनीतिमा योगदान गर्न गाह्रो छ । तसर्थ, राम्रो व्यक्ति अनि राम्रो संगठनको मिश्रण हुन जरुरी छ । अहिले दलहरूले जसरी उम्मेदवार चयन गर्दै छन् त्यसरी राम्रो मान्छे राजनीतिमा आउन सक्दैनन्, तसर्थ अब नीति अनि नियत दुवै बदलेर राम्रो र सक्षम मानिसलाई राजनीतिमा ल्याउन जरुरी छ । अबको राजनीतिक संस्कार र दलको नेतृत्व छनोट नीतिमै १८० डिग्रीको परिवर्तन आवश्यक छ ।

के हो ‘खुला उम्मेदवार’ ?

अबको नयाँ पुस्ताको राजनीतिले राजनीतिलाई गुटको घेराबाहिर लाउन सक्ने ल्याकत राख्नुपर्छ । आफ्नो पार्टीभित्र रहेका नेताहरू मात्र सक्षम भन्ने सोच नै अब असान्दर्भिक र पुरानो भइसक्यो । पार्टीहरूले सही व्यक्तिलाई सही स्थानमा सजिलै स्थापित गर्न सक्ने नीति अख्तियार गर्नुपर्छ । पार्टीकै केन्द्रीय सदस्य बन्न पनि गुटमा नलागी बन्न सक्ने संस्कार अंगीकार गर्न अबको राजनीति सचेत हुनुपर्छ । प्रधानमन्त्रीले आफ्नै पार्टीका सडेगलेका नेतालाई नै मन्त्री बनाउनुपर्छ भन्ने सोच पनि अबको ‘डेलिभरी युग’मा काम छैन । पार्टीको टिकट पाउन, उम्मेदवार बन्न पनि नेताको कृपा चाहिने अभ्यास पनि अब बिस्तारै विस्थापित गरिनुपर्छ । सक्षम नेतृत्व भित्र्याउन उम्मेदवार चयन नीतिमै व्यापक सुधार जरुरी छ । हामीलाई त्यस्तो नीति आवश्यक छ जसले एउटा सक्षम व्यक्तिलाई राजनीतिमा आकर्षण गर्न सकोस् । अहिलेकै दलहरूबाट त्यो सम्भव छैन, तसर्थ यो वैकल्पिक राजनीतिका निम्ति निकै ठूलो मुद्दा ठहरिनेछ । 

देश बनाउन राम्रो नेता चाहिन्छ । राम्रो नेता आउन राम्रो उम्मेदवार उठ्ने माहोल हुनुपर्छ । उम्मेदवार नै राम्रो नहुँदा जित्ने नेता कसरी राम्रो हुन सक्छ ? फोहोर मुहानबाट कसरी सफा पानी बग्न सक्छ ? 

पार्टीबाहिरका स्वतन्त्र नागरिकलाई समेत आकर्षण गर्न खुला उम्मेदवार नीति महत्‍वपूर्ण हुनेछ । यस प्रक्रियाका निम्ति दलले एउटा दलीय निर्वाचन आयोग नै बनाएर काम गर्न जरुरी छ । आयोगले निर्वाचन क्षेत्रअनुसार निर्णायकमण्डल (जुरी) गठन गर्नेछ । निर्णायकमण्डलका बहुसंख्यक सदस्य स्वतन्त्र (पार्टीबाहिरका) हुनेछन् । दुईतिहाइ सदस्य सम्बन्धित क्षेत्रकै सामाजिक, आर्थिक, शिक्षा, पूर्वाधार, प्रशासनिकजस्ता क्षेत्रमा योगदान गरेका व्यक्तिहरू राख्नु राम्रो हुनेछ । जसले उम्मेदवारको क्षमता अनि योग्यता मापन गर्न सकून् । साथै, एकतिहाइ निर्णायकमण्डल भने संगठनको प्रतिनिधित्व गर्ने सदस्यहरू रहन सक्छन् जसले दलको एजेन्डा, मूल्यमान्यता र भावी कार्यदिशाबारे उम्मेदवारको मूल्यांकन गर्न सकून् । यसरी बनेको निर्णायकमण्डलले सन्तुलित निर्णय लिन सक्छ । सक्षम मान्छेलाई उम्मेदवारका रूपमा राजनीतिमा यी तीन चरणबाट ल्याउन सकिन्छ :

१) खुला आह्वान

अबका दिनमा पार्टीको झोला बोकेर हिँड्नु नै कुनै व्यक्तिको योग्यता बन्नु हुँदैन । पार्टीमै लागेको मान्छे मात्रै सक्षम हुन्छ र उसले मात्र देशका लागि योगदान गर्न सक्छ भन्ने हाम्रो आधारभूत बुझाइमै समस्या छ । सक्षम मानिसले पार्टीभन्दा बाहिर रहेर पनि देश अनि समाजका निम्ति योगदान गर्न सक्छ । तसर्थ, पार्टीले ‘मेरिटोक्रेसी’मा विश्वास गरेर पार्टीभित्र र बाहिरका उम्मेदवारलाई समान अवसर दिनुपर्छ । यस प्रक्रियामा सबैको समान पहुँच सुनिश्चित गरिन जरुरी छ । यसका लागि पार्टीले निर्वाचनको घोषणालगत्तै वा निर्वाचनको ६ महिनाअघि आमरूपमा उम्मेदवारीका निम्ति खुला आह्वान गर्नेछ । यही खुला आह्वानबाटै दलको अध्यक्षदेखि एउटा आमनागरिकले समेत सम्बन्धित चुनावी क्षेत्रमा उम्मेदवारीका निम्ति प्रतिस्पर्धा गर्न सक्नेछन् । 

२) योग्यता अनि दूरदृष्टि मापन

राजनीतिमा नेतृत्व योग्य मानिसले नै गर्ने हो । खुला आह्वानपश्चात् पार्टीमा रहेका र स्वतन्त्र व्यक्तिले समेत उम्मेदवारीका लागि दरखास्त दिनेछन् । दरखास्तमा उम्मेदवारले कुन क्षेत्रबाट किन उठ्ने भनेर आफ्नो योग्यता अनि दूरदृष्टि प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यसलाई लिखित वा अडियो वा भिडियो, जुन सजिलो हुन्छ त्यही माध्यम प्रयोग गरी सम्बन्धित जुरीसमक्ष पठाइनेछ । ती योजना र नेतृत्वको मूल्यांकन जुरीले गर्नेछ । त्यसपछि, जुरीद्वारा छानिएका व्यक्तिलाई अन्तर्वार्तामा समेत सामेल गराई योग्यताको परीक्षण गरिनेछ । भिजन मात्र होइन, राजनीतिमा आफ्नो भिजन कार्यान्वयन गर्न सक्ने क्षमता पनि हुन जरुरी छ । सबैभन्दा राम्रो गर्ने सक्षम दुई उम्मेदवारका प्रत्यासीलाई आगामी चरणका लागि जुरीले पार्टीको निर्वाचन आयोगमा सिफारिस गर्नेछ । 

३) जनाधार मापन

उम्मेदवारले आफ्नो दूरदृष्टि र नेतृत्व कौशल व्यावहारिक रूपमा जुरीसामु प्रस्तुत गरेपछि अब उम्मेदवारको जनाधार मापन गर्नु जरुरी छ । उम्मेदवारका प्रत्यासीलाई केही समय चुनावी अभियानमा संलग्न गराएर नेतृत्वको क्षमता नाप्न सकिन्छ । जुरीले प्राविधिक र नैतिक पक्ष हेर्नेछन् भने आत्मीयता अनि विश्वसनीयताका लागि जनाधार मापन गरिनेछ । धेरै देशमा उम्मेदवारका प्रत्यासी पहिला नै आन्तरिक प्रतिस्पर्धाबाट आउने गर्छन् । त्यही प्रणालीलाई परिमार्जन गर्दै हामीले कुन ठाउँबाट उठ्ने हो आदर्श स्थितिमा त्यही ठाउँका आमनागरिकबाट माथिका दुई उम्मेदवारलाई भोट हाल्न लगाएर जनाधार मापन गर्ने शैली अपनाउन सकिन्छ । यस प्रक्रियाले नागरिक सहभागिता त बढाउँछ नै साथै, उम्मेदवारप्रति नागरिकको अपनत्व पनि बढाउँछ ।

यसरी खुला प्रतिस्पर्धा, योग्यता, क्षमताको मापन र जनाधार हेरेर पार्टीका तर्फबाट एउटा योग्य, इमान्दार र जनप्रिय उम्मेदवारलाई हामीले चुनावमा पठाउन सक्छौँ । जसले गर्दा, त्यो उम्मेदवारले पार्टी र केही नेताप्रति भन्दा पनि आफ्नो क्षेत्र अनि समाजका निम्ति काम गर्न सकोस् । यो विधि प्रत्यक्ष अनि समानुपातिक दुवै प्रणालीका निम्ति लागू गर्न सकिन्छ । सरसर्ती हेर्दा यो प्रक्रिया झन्झटिलो लाग्न सक्छ, तर यसले पार्टी पंक्ति र आमनागरिकलाई नै चलायमान बनाउने हुँदा यसले नागरिक सहभागिता र चेतना बढाउनेछ । पैसाको खोलो बगाएर टिकट किन्न जीवनभर एउटा नेताको चाकरी गर्नुभन्दा तथा पैसा तिरेर पनि टिकट नपाएर ‘डिप्रेसन’मा जानुभन्दा यो निकै सजिलो र पारदर्शी विधि हो ।

उम्मेदवार अनि दलको सम्बन्ध

यो पार्टीको सदस्यसमेत नरहेको सक्षम व्यक्तिलाई दलले अघि बढाउने नीति हो । तर, फेरि हामी संसदीय बहुदलीय व्यवस्थामा भएकाले यसरी चुनिएका उम्मेदवार र दलबीच एउटा सम्बन्ध कायम हुन जरुरी छ । त्यसैले, उम्मेदवारले आफ्नो कार्यकालभरि दलको सदस्यता लिन र दलीय अनुशासनमा रहन भने जरुरी हुन्छ । तर, कार्यकालपछि भने ऊ स्वेच्छाले सदस्य नरहन पनि सक्छ । किनकि, ऊ दलका लागि भन्दा पनि राष्ट्रका लागि योगदान गर्न आएको हुन्छ । तसर्थ, दल उम्मेदवारका निम्ति अनि उम्मेदवार दलका निम्ति राष्ट्र निर्माणका माध्यम मात्र हुन् ।

नीतिको प्रभाव

यस पद्धतिले सक्षम नेतृत्वका लागि अगाडि आउने बाटो खोलिदिन्छ । यसले हाल नेपालमा भइरहेको नेतृत्व खडेरीको अन्त्य गर्नेछ । साथसाथै, यसले अहिलेका विद्यमान राजनीतिक पार्टीहरूमा त तहलकै ल्याउने हाम्रो ठहर छ । यस नीतिले, आफ्नो मान्छेलाई मात्र उठाउने चलन अन्त्य गर्न ठूलो दबाब सिर्जना गर्छ । राजनीतिक भ्रष्टाचार अन्त्य हुनेछ । उम्मेदवार पार्टी अध्यक्षप्रति होइन, आफ्ना मतदाताप्रति जवाफदेही हुनेछन् । साथै, अब, प्रतिस्पर्धा सक्षम–सक्षम मान्छेबीच हुने भएपछि राम्रो व्यक्तिले जित्नेछ अनि नेतृत्व गर्नेछ । नागरिक सहभागिता पनि बढ्नेछ । सक्षम नेतृत्वले देशलाई समृद्धितर्फ डोर्‍याउनेछ अनि हामीले हाम्रै कालमा समृद्ध नेपाल पाउनेछौँ ।

धेरै राष्ट्रले छोटो समयमै समृद्ध बन्नका लागि यस्ता नीति अवलम्बन गरेका छन् । सिंगापुरको पिपल्स एक्सन पार्टीले सक्षम नागरिकलाई राजनीतिक उम्मेदवार बनाउन जटिल र सुदृढ प्रक्रिया– पृष्ठभूमि जाँच, मनोवैज्ञानिक परीक्षण तथा अनेक चरणमा उम्मेदवारसँग चिया गफ गर्दै सक्षम व्यक्तिलाई नै उम्मेदवारका रूपमा अगाडि बढाउँदै आएको छ । यही पार्टीको नेतृत्व गरेर लि क्वान यूले सिंगापुरलाई ३० वर्षको अन्तरालमै तेस्रो विश्वबाट पहिलो विश्वको मुलुक बनाए । 

योग्यता अनि क्षमतालाई प्राथमिकता दिने नीतिकै कारण, बाराक ओबामाले राजनीतिमा आएर योगदान गर्न सके । डेविड क्यामरुन अनि जस्टिन ट्रुडोजस्ता व्यक्तिलाई युवावस्थामै प्रधानमन्त्री बनेर आफ्नो राष्ट्रका निम्ति योगदान गर्न सहज भयो । धेरै पर पनि जानुपर्दैन, भारतमै पनि सन् १९९१ मा गैरराजनीतिक व्यक्ति डा. मनमोहन सिंहलाई इन्डियन नेसनल कांग्रेसले अर्थमन्त्रीका रूपमा अघि सार्‍यो । पछि सन् २००४ मा प्रधानमन्त्री नै बनायो । फलस्वरूप भारत राम्रो प्रगति गर्न सफल पनि भयो । नेपालमै पनि कुलमानजस्ता एकजना सक्षम व्यक्तिलाई नेतृत्व दिँदा चामत्कारिक हिसाबले लोडसेडिङ अन्त्य भयो । तसर्थ, अबको राजनीति सही मान्छेलाई सही ठाउँमा पुर्‍याउन उत्प्रेरित गर्ने नीतिले निर्देशित हुन जरुरी छ । 

ग्रिक दार्शनिक प्लेटोले शताब्दियौँ अघि भनेका थिए– ‘सक्षम मान्छे राजनीतिमा नआउनुको सजाय भनेकै उनीहरू आफैँ अक्षम मानिसबाट शाषित हुनु हो ।’ आजसम्म पनि यही कुरा लागू भइरहेको छ । तर, यो राजनीतिक नवीनताले सक्षम मानिस राजनीतिमा आउने बाटो खोलिदिनेछ । अहिले आममानिसमा राजनीति अनि नेताप्रतिको दृष्टिकोण ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने छ । किनकि, अहिलेको राजनीतिक पद्धति राम्रोभन्दा पनि हाम्रो उम्मेदवार ल्याउनतिर अग्रसर छ । तसर्थ, अब राजनीतिमा राम्रो मान्छे ल्याउन यो नवीन अभ्यासको थालनी हुन जरुरी छ । ‘खुला उम्मेदवार छनोट नीति’बारे बहस हुनु आवश्यक छ । यसलाई दलहरूले प्रयोगमा ल्याउन जरुरी छ । ताकि आममतदाताले नराम्रामा कम नराम्रोलाई होइन कि राम्रामध्येका राम्रालाई आफ्नो अमूल्य मत दिन सकून् ।