निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
नारायणबाबु थापा
२०७८ माघ ९ आइतबार ०९:०७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चुनौतीको माझमा सशस्त्र प्रहरी बल

Read Time : > 5 मिनेट
नारायणबाबु थापा
२०७८ माघ ९ आइतबार ०९:०७:००

सशस्त्र प्रहरी बललाई आन्तरिक सुरक्षाका लागि बलियो, चुस्त र सुदृढ निकायका रूपमा विकास गर्नु अहिलेको चुनौती हो 

चरम सशस्त्र द्वन्द्वको अवस्थामा खडा गरिएको सशस्त्र प्रहरी बलले स्थापनाको २०औँ वार्षिकोत्सवसम्म आइपुग्दा अनेकौँ घुम्ती पार गरेको छ । करिब चार सयको हाराहारीमा बलका सदस्यहरूले देश र जनताका खातिर वीरगति प्राप्त गरेको स्थिति छ भने सयौँले विभिन्न अवस्थामा घाइते भई स्वास्थ्य लाभ गरिरहेका छन् । यो ती बहादुर कर्मठ सदस्यहरूलाई सम्झने दिन पनि हो । जसले देश र जनताका खातिर सरकारले अह्राएको खटाएको काममा आफ्नो प्राणाहुति दिए । कठिनभन्दा कठिन घडीमा दूरदराजमा खटिएर आदेशको भरमा देशको माटोमा रगत सिञ्चन गर्ने योद्धाका परिवार कस्तो अवस्थामा बाँचिरहेका छन्, ती टुहुरा लालाबालाले शिक्षादीक्षा पाए कि पाएनन्, सोधखोजसमेत गर्ने दिन हो । साथै, विभिन्न कार्यक्रमसँगै आजको दिनसम्म आइपुग्दा फौजले केकस्ता उपलब्धि हासिल गर्‍यो ? परिकल्पना गरिएजस्तो फौज बन्यो कि बने ? के कस्ता कमी–कमजोरी रहे ? ती सबैको समीक्षा गरी जनताको नजरमा विश्वासिलो सुरक्षा निकायका रूपमा स्थापित गराउँदै लैजान अबको नेतृत्व पंक्तिले तात्कालिक र दीर्घकालीन योजनाहरू तय गर्ने दिन पनि हो यो । 

यो अवस्थासम्म आउँदा संगठनले विविध जिम्मेवारी वहन गरिरहेको छ । हिजोको अवस्थामा सशस्त्र द्वन्द्व नियन्त्रण प्राथमिक जिम्मेवारी रहेको फौजले अहिले विभिन्न जिम्मेवारी वहन गर्नुपरिरहेको स्थिति छ । देशका सतहत्तरै जिल्लामा उपस्थित हुनु, राष्ट्रको सीमा सुरक्षालाई प्रभावकारी बनाउन प्रतिकूल मौसम र भूगोलमा न्यून साधनस्रोतका भरमा पनि बाक्लो तैनाथी गराउन सफल हुनु, कोभिड–१९ को जोखिमका वेलामा सीमाको सुरक्षालाई अझ सबलीकृत तुल्याउनु, विपत् व्यवस्थामा जुनसुकै स्थानमा शीघ्र तैनाथी भई तत्परतासाथ कार्य गर्नु प्रशंसनीय छ । 

सशस्त्र प्रहरी बल कस्तो निकाय हो भन्ने विषयमा संगठनमा आबद्ध नीतिगत तह, मध्यम तह र कमान्डरहरू सबैले गहिरोसँग बुझ्नु जरुरी छ । यसबाहेक रणनीतिक तह र त्यसबाट प्रवाह हुने अन्य संरचनागत तहले समेत गम्भीरतासाथ बुझ्नु आवश्यक छ । यो वर्तमान संविधानले नै निर्देशित गरेको संघीय सुरक्षा निकाय हो । यसले जुनसुकै प्रदेश, जिल्ला र स्थानीय संरचनासम्म परिचालन हुन सक्ने र परेको अवस्थामा भूमिका निभाउने क्षमता राख्छ । चेन अफ कमान्डको दुरुस्त परिपालना, ब्यारेक पद्धतिको बसाइँ, हरपल फिल्डबाट ब्यारेक र ब्यारेकसँगै तालिममा रहिरहने यसका मौलिक विशेषता हुन् । फौजको स्वरूपअनुरूप संरचनागत तहको तैनाथी, कार्य सम्पादनपश्चात् ब्यारेक फिर्ती यसका अपरिहार्य पक्ष हुन् । चौबीसै घन्टा सडकमा तैनाथ हुने, प्रकृतिको छनोट नगरी जुनसुकै अवस्थामा पनि परिचालन हुने, संरचनाको ख्याल नगरी तैनाथ हुने, कार्यप्रकृतिसँग मेल नखाँदा पनि बाहिर उपस्थित भइरहने अवस्था रहेमा त्यसले फौजभित्रको फौज दुरुस्त रहन सक्दैन । यसले परिआएको अवस्थामा ठूलो असरसमेत पार्न सक्छ । 

आधारभूत सामग्रीका लागि स्थानीय तह तथा नागरिकसँग हात फैलाउँदै हिँड्नुपरेमा सुरक्षा निकाय कुनै न कुनै अवस्थामा सम्झौता गर्नुपर्ने तहमा ओर्लिन्छ, जुन कदापि हुनुहुँदैन 

सशस्त्र प्रहरी बललाई आन्तरिक सुरक्षाका लागि बलियो, चुस्त र सुदृढ निकायका रूपमा विकास गर्नु अहिलेको चुनौती हो । कुनै पनि निकायको गति त्यसमा आबद्ध सदस्यको मनोबलमा निर्भर रहन्छ । तसर्थ, सुरुवाती अवस्थामा संगठनको आकर्षण, रोजगारीको परिपूर्ति आदिका रूपमा तानिए पनि त्यसभित्र समावेश भएपश्चात् सदस्यहरूले आफ्नो भविष्य, घरपरिवारको भरथेग गर्दै सहज व्यवस्थापन गर्न सक्ने सामथ्र्यको जगेर्ना, ब्यारेकको मैत्रीपूर्ण वातावरण, सदस्यहरूबीच न्यानो भ्रातृत्वजस्ता पक्षलाई पनि केलाउँदै जाने गर्छन् । यसका लागि फौजका अधिकृत तहको वृत्ति विकासलाई स्पष्ट रूपमा विश्लेषण गर्नुपर्छ । जुनसुकै अवस्थामा प्रवेश गरे पनि लामो सेवापश्चात् समयमै आफ्नो आवश्यकीय वृत्ति विकास चासोको विषय भइरहन्छ । एउटै तहमा लामो समय बस्नुपरेको खण्डमा निराशा उत्पन्न हुन्छ र त्यो नवप्रवेशीसम्म फैलिन्छ । जसको असर फिल्ड तहमा पर्छ । युनिटका कमान्डर जतिसुकै सक्षम भए पनि फिल्डमा खटिने अधिकृत, पदिक एवं जवानलाई पूर्ण भरोसासाथ कार्य गर्न उत्पे्ररित तुल्याउन सकिएन भने अपेक्षित नतिजा हासिल हुन सक्दैन । सुरक्षा निकायबाट अपेक्षा गरिएको नतिजा देश र जनताको सुरक्षा नै हो, जुन ज्यादै संवेदनशील विषय पनि हो । यसर्थ, आबद्ध सदस्य अझ त्यसमा पनि अधिकृत वर्गको वृत्ति विकासको अवस्था अवरुद्ध रहिरहने स्थितिबाट छिटोभन्दा छिटो मुक्त गरेर अगाडि बढ्नु संगठनका नेतृत्व वर्ग र उसले तयार गरेको योजना संगठनभन्दा माथि मन्त्रालय तथा सरकारको तहसम्म समयमै प्रस्तुत गर्दै सहजीकरण गर्नु वाञ्छनीय देखिन्छ । 

फौज मान्छे मान्छेको झुन्ड हो । जसले निश्चित मापदण्डका आधारमा छनोट भएर आवश्यकीय पेसागत तालिम गर्दै विभिन्न तहमा प्राप्त नियुक्ति भई काम गर्दै अनेकौँ स्थितिको सामनापश्चात् क्रमिक रूपमा खारिँदै विविध अनुभव सँगाल्छ । यो मान्छे मात्र उभिएपश्चात् सबै भइहाल्छ भन्ने वेला होइन । यसका लागि अन्य राष्ट्रमा कसरी काम भइरहेको छ, साधन–स्रोतको तर्जुमा कुन तहको हुनु आवश्यक छ, समयअनुसारका प्रविधिको उचित प्रयोग हुन सकेको छ कि छैन भनेर केलाउनुपर्ने हुन्छ । न्यूनतम आधारभूत साधनस्रोतको तर्जुमा नगरी एकैपटक मान्छे मात्र फिल्डमा खटिए सफलता हासिल हुँदैन । तीव्रतर रूपमा जनशक्तिको जुन हदसम्म सदुपयोग हुनुपर्ने हो, त्यो हुँदैन । यसर्थ, फौजको सानो होस या ठूलो, टुकडी खटिनुअघि नै सो स्थानको सर्वांगीण रूपमा अध्ययन गरी पर्याप्त साधन–स्रोतको व्यवस्थापनपश्चात् मात्र परिचालन गर्नुपर्छ । दशक नाघिसक्दा पनि सामान्य सवारीसाधनको समेत तर्जुमा नगरी युनिटहरू थपिँदै जाने कार्यले फौजको ‘मोरल’मा समेत असर गर्छ । आमनागरिक सवारीसाधनको पहुँचमा पुगिरहेको अवस्थामा तिनै नागरिकका लागि खटिने सुरक्षा निकाय भने साधनविहीन रहनु दुर्भाग्य हो । 

सशस्त्र प्रहरी बल केन्द्र या जिल्लाको सदरमुकामबाट दूरदराजको उत्तरी सीमासम्म तैनाथ भएको स्थिति छ । दार्चुलादेखि ताप्लेजुङसम्मको उत्तरी सिमानामा तैनाथ भएर सीमा सुरक्षाको प्रत्याभूति दिँदै आएको छ । आगामी दिनमा अझै कैयौँ उत्तरी विकट नाकामा समेत उपस्थिति बढाउँदै लैजाने योजना रहेको देखिन्छ । तर, यसका लागि जतिसुकै खर्चिलो भए पनि समुचित वातावरण, हावापानी, मौसम, भूगोल सुहाउँदो ब्यारेकको निर्माण जरुरी हुन्छ । सोहीअनुरूप मिलापको व्यवस्थापन, फौजलाई चिसो मौसममा आवश्यक लत्ताकपडा, सोहीअनुरूप रासन र परिआएको अवस्थामा सहजै उद्धार हुन सक्ने वातावरण सिर्जना गर्नु जरुरी छ । यी सवै व्यवस्थापनले सुदृढ तुल्याउन सकेको खण्डमा फौजले कठिन भूगोलमा समेत उच्च मनोबलसाथ खटिएर कार्य गर्छ । जुनसुकै सुरक्षा निकाय होस्, मौसमी तवरमा मात्र रहने र प्रतिकूल मौसममा ओरालो झर्नुपर्ने बाध्यात्मक स्थिति अन्त्य हुनु जरुरी छ। 

अर्कातर्फ सुरक्षा निकायमाथिको लगानी स्थानीय जुगाडका रूपमा छाडिनु हुँदैन । समयमै केन्द्रीय बजेटको आधारमा मात्र तैनाथी गरिनुपर्छ । आधारभूत सामग्रीका लागि स्थानीय तह, नागरिकसँग हात फैलाउँदै हिँड्नुपरेमा सुरक्षा निकाय कुनै न कुनै अवस्थामा सम्झौता गर्नुपर्ने तहमा ओर्लिन्छ, जुन कदापि हुनुहुँदैन । 

फौज/सुरक्षा निकाय गठनकै वेलामा यसको काम–कारबाहीबारे निश्चित गरिएको हुन्छ र सोही विषय ऐन र नियमावलीमा उल्लेख गरेर स्पष्ट तुल्याइन्छ । पछि संशोधन हुने ऐन तथा नियममा यसका आवश्यकीय दायरासमेत राखिन्छ । निकायका आआफ्नै स्वरूप र दायरा हुने गर्छन् । सोहीअनुरूप कार्य गर्न उद्यत रहन्छन् । मूलतः संगठनको मर्मअनुरूप सही रूपमा परिचालन भएको छ कि छैन भनेर गम्भीर रूपमा समीक्षा भइराख्नुपर्छ । आन्तरिक सुरक्षा तर्जुमा गर्न निकायगत रूपमा सुरक्षाको लेयर/परिधिअनुरूप स्पष्ट रूपमा परिचालन गर्न सकिएमा द्विविधा रहँदैन । परिआएको अवस्थामा कुन हदसम्मको जिम्मेवारी कसले वहन गर्ने भन्ने खुल्छ । यसो हुँदा परिचालित कमान्डर तथा सकल राष्ट्रसेवकमा समेत जिम्मेवारी महसुस हुन्छ र आफ्नो दायित्वप्रति अझ मुखरित हुन प्रेरित गर्छ । 

सशस्त्र प्रहरी बललाई अर्धसैनिक प्रकृतिको सुरक्षा निकाय भनेर पनि परिभाषित गर्ने र बुझाउने गर्दै आएको पाइन्छ । वास्तवमै ब्यारेक प्रणालीमा रहने, फर्मेसनअनुरूपको संरचनागत ढाँचामा तैनाथ हुन, दरिलो चेन अफ कमान्डको परिपालना गर्ने, तोकिएको कार्य सम्पादनपश्चात् पुनः ब्यारेकमा फिर्ता हुने युनिट युनिट नै सरुवा हुने, आफ्नो पल्टन गण या गुल्म भन्ने भावनासाथ एकढिक्का भई कार्यरत रहने हुनाले पनि बल अर्धसैनिक प्रकृति हुनुको अन्तर्य लुकेको हुन्छ । यसरी सबैलाई मानसिक र शारीरिक रूपमा तयार बनाइराख्न सकिएको खण्डमा अझ संकटको अवस्थामा सहजै प्रभावकारी भूमिका निभाउन सकिन्छ । यससँगै अलग पहिचानसहितको परिचालन जरुरी हुन्छ । जुनसुकै कार्यमा पनि ब्यारेकबाट सदा बाहिर निकालिरहने पद्धति बस्दै गएमा फौजभित्रको फौजी मर्म भुत्ते बन्छ र परिआउँदा सही तवरमा कार्य गर्न असहज बन्छ । कुनै पनि निकाय विपत् व्यवस्थापनजस्ता कार्यबाहेक अन्य अवस्थामा सदा सँगैसँगै परिचालन भइरहनु हुँदैन । यसले पहिचानमा समस्या पैदा गर्दै जाने र कुनै मोडमा एकैपटक असफल हुने स्थिति सिर्जना गर्न सक्छ । यसो भएमा आन्तरिक सुरक्षाको ‘लेयर’ विशृंखलित हुन गई झन् असहज स्थितिको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । यसर्थ, कुन अवस्थामा परिचालन हुने, कसले र कसरी कार्य गर्ने भन्ने यथार्थ बुझ्न र सोहीअनुरूप प्रणाली विकास गर्न ढिला गरिनु हुँदैन । सशस्त्र प्रहरी बलको तैनाथी मुख्य सञ्चारमाध्यमको प्राथमिकतामा आउने र स्थिति नियन्त्रणबाहिर जान नदिन अब केही हुन्छ भन्ने आनागरिकले बुझ्न सक्ने तुल्याउनु जरुरी छ । यसो भएको खण्डमा फौजको गरिमा पनि बढ्ने र कामको परिणाम पनि बढोत्तरी हुने निश्चित छ । 

यी सबै आगामी दिनमा गर्नुपर्ने आवश्यकीय सुधारसँगै हालको दिनसम्म सशस्त्र प्रहरी बलले कठिन प्रतिकूल मौसम, जटिल परिस्थिति, सामान्य सेवा–सुविधा आदिका भरमा पनि अहोरात्र खटिएर देश र जनताको सुरक्षार्थमा उल्लेखनीय कार्य गर्दै आइरहेको छ । तोकिएको कार्यमा सदा खरो उत्रिन सफल भएको छ । यसको श्रेय नेतृत्व, नेतृत्व पंक्ति, फिल्डका कमान्डर र समस्त राष्ट्रसेवकउपर जान्छ । धेरै स्थानमा सशस्त्र प्रहरी बलको माग हुनु भनेको फौजप्रतिको भरोसा हो । यही भरोसालाई सही अवस्थामा दुरुस्त रूपमा परिचालन भएर निभाउन सशस्त्र प्रहरी बल पछि पर्नु हुँदैन । 

(थापा सशस्त्र प्रहरी बलका अवकाश प्राप्त एआइजी हुन्)