
आफ्नो पदावधि बाँकी छँदै त्यसलाई घटाउने आइजिपीको प्रस्तावलाई कसरी हेर्नुभएको छ ?
आइजीसाबले आफ्नो पदावधि बाँकी छँदै तीनवर्षे पदावधिको प्रस्ताव ल्याउनुभएको भन्ने सुनेको छु । यसलाई सायद संगठनभित्र छलफल गरेरै ल्याउनुभएको होला । यस प्रस्तावसँगै संगठनको ऐन, नियममा अन्य विविध विषय पनि समेट्ने तयारी भएको हुनुपर्छ । सबै पक्षलाई ध्यानमा राख्दा पदावधि र उमेर हदसम्बन्धी यो प्रस्ताव वैज्ञानिक नै हुन्छ जस्तो लाग्छ । तर, समग्र संगठनको हितमा हेर्दा एउटा पदको पदावधि चार वर्षबाट तीन वर्षमा आउँदैमा त्यति ठूलै प्रभाव परिहाल्छ भन्नचाहिँ सकिन्न ।
यसले संगठनभित्र देखिएको वृत्ति विकासको जाम खुलाउनमा कस्तो प्रभाव पार्ला ?
आइजीसाबको एउटा पदको अवधि घटाउँदैमा तलसम्म खासै फरक पर्दैन । एउटा पदको प्रभाव तलसम्म पुग्दा पनि एउटा पदमा मात्र पर्ने हो । पछि स्थापित संगठन हुनाले तात्कालिक आवश्यकताका आधारमा धेरै भर्ना गरियो । जसको नकारात्मक प्रभाव अहिले देखिइरहेको छ । पाँच–६ वर्षयता युवा अधिकृतको ‘करियर’ प्रभावित भएको छ । इन्सपेक्टर, डिएसपी, एसपीलगायत अधिकृतको वृत्ति विकासमा जाम छ । एउटै पदमा १५–१६ वर्षसम्म अडिनुपरेको अवस्था छ । आइजीसाबको पदावधि घटाएजस्तै एआइजी, डिआइजी, एसएसपीलगायत सबैको पदावधि घटाउने हो भनेचाहिँ केही सम्बोधन हुन सक्छ ।
संगठन सुदृढीकरणका लागि के गर्नुपर्ला त ?
यसका लागि कि दरबन्दी थप गर्नुपर्छ कि त निश्चित अवधि कटेपछि स्वतः बढुवाको विकल्प राख्न सक्नुपर्छ । तर, अनुभवी मान्छे छिटो बिदा हुन् भनेरचाहिँ हुँदैन । यसले सुरक्षा क्षेत्रलाई नै प्रभावित गर्न सक्छ ।