मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भारतको चिस्यान केन्द्रमा मृत्यु भएका सर्लाही चन्द्रनगर– ६ कामतटोलका युवक जगदीश माझीको परिवार
श्रवण थापा सर्लाही
२०७८ माघ ८ शनिबार ०६:२२:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज

ठेकेदारले भारत पुर्‍याएका मजदुर मृत्यु प्रकरण : ठेकेदारसँग मिल्न पीडितलाई धम्क्याउँदै प्रहरी, जाहेरी दर्ताको ११ दिन बित्दा पनि सोधपुछसमेत गरेन

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ माघ ८ शनिबार ०६:२२:००

सर्लाहीका ठेकेदार इन्द्रजित राउतले ऋणको फन्दामा पारेर भारत पुर्‍याई जोखिमपूर्ण काम लगाउँदा तीनको मृत्यु र पाँच मजदुर गम्भीर बिरामी परेको घटनाको अनुसन्धानमा प्रहरी बेवास्ता देखिएको छ । 

घटनाको ७६औँ दिन जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरेको जिल्ला प्रहरीले ठेकेदारलाई अनुसन्धानको दायरामा ल्याएको छैन । तर, पटकपटक फोन गरेर ठेकेदारसँग मिल्न पीडित परिवालाई धम्की दिने गरेको छ । 

पीडितहरूका अनुसार इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले पीडितलाई बारम्बार फोन गरी ठेकेदारसँग मिल्न वा तत्काल अस्पतालको पैसा तिर्न दबाब दिने गरेका छन् । इन्स्पेक्टरको धम्कीले केही पीडित पलायन भएका छन् । गम्भीर बिरामी परेका पाँच मजदुर उपचार खर्च तिर्न नसकी बिचल्लीमा परेका छन् । चन्द्रनगर गाउँपालिका– ६ बस्ने विश्वनाथ माझी, अजय माझी, मन्जय माझी, सरोज माझी र सञ्जीव माझी उपचार खर्च तिर्न नसकी बिचल्लीमा परेका हुन् । 

उनीहरूसहित ३० मजदुरलाई ठेकेदार राउतले भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा बँधुवा मजदुर बनाएका थिए । उनीहरूबाट अधिकतम काम लिन खाना–खाजामा थकान नलाग्ने औषधि खुवाउने गरिएको थियो । जसका कारण धेरै गम्भीर बिरामी परे । तीन मजदुरको भारतमै मृत्यु भयो भने पाँचजना गम्भीर अवस्थामा घर फर्काइए । ठेकेदार राउतकै आदेशमा उनीहरूलाई गत १० कात्तिकमा नेपाल–भारत सीमास्थित गोरखकाली हुँदै सर्लाहीको ईश्वरपुर– ६ स्थित गोदावरी वेलकेयर हस्पिटल पुर्‍याएर छाडेका थिए ।

त्यहाँ दुई दिन उपचार गर्दा एक लाख ५५ हजार रुपैयाँ खर्च लागेको बिल थमाइएको थियो । पैसा तिर्न नसकेपछि उनीहरूलाई अस्पतालमै बन्धक बनाइएको थियो । अस्पतालमा बन्धक बनाइएको समाचार आएपछि स्थानीय र परिवारका सदस्य पुगेर ठेकेदार राउतलाई नियन्त्रणमा लिई घटनाको छानबिन गर्न माग गरेका थिए । स्थानीयले चन्दा उठाएर ५० हजार रुपैयाँ बुझाएपछि बाँकी रकम पछि दिने सहमतिमा अस्पतालले पाँचैजनालाई मुक्त गरेको थियो । स्थानीयवासी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगाना रोहवर बसेका थिए । तिनै ढुंगानाले अहिले पैसा तिर्न दबाब दिइरहेका हुन् । 

उपचार खर्चसम्बन्धी सम्पूर्ण बिल र यसअघि पैसा तिरेको भौचरसमेत प्रहरी निरीक्षक ढुंगानाले नियन्त्रणमा राखेर एकोहोरो पैसा तिर्न मात्र भनिरहेको पीडित परिवारको गुनासो छ । उपचार खर्चको बिल हेर्न नपाउँदा बिरामीको के–कस्तो उपचार भएको हो भन्नेबारे समेत जानकारी पाउन नसकिएको पीडित परिवारको भनाइ छ । सामान्य भौतिक संरचनासमेत नभएको अस्पतालमा दुई दिनकै उपचारमा डेढ लाख रुपैयाँ खर्च लाग्यो भन्नेमा पीडित परिवारले शंका व्यक्त गरेका छन् । 

प्रहरीको समेत मिलेमतोमा बढी बिल बनाइएको हो कि भन्ने उनीहरूको आशंका छ । उनीहरूको आशंकाका लागि अस्पताल र प्रहरी निरीक्षक ढुंगानाको व्यवहारले बल पुर्‍याएको छ । ‘अस्पतालमा गएर हिसाब दिनुस् हेर्छौँ भन्दा बिल प्रहरीसँग छ, यता पैसा तिर्नु, बिल उता हेर्नु भनेर धम्क्याउँछन्,’ पाँच बिरामीमध्येका एक सञ्जीवका बुबा इन्दल माझीले नयाँ पत्रिकासँग भने, ‘प्रहरीकहाँ गयो, इन्स्पेक्टर सा’प पहिला अस्पतालमा पैसा तिरेर आइज भन्नुहुन्छ । हामी गरिबमाथि यसरी किन अन्याय गरिएको होला ?’