१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:३०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

केएमसी र नोबेल मेडिकल कलेजका  विद्यार्थीको संयुक्त आन्दोलन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०८:३०:००

विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीले काठमाडौंमा आएर आन्दोलन सुरु गरेका छन् । पीडित विद्यार्थीको समस्या समाधान नभएपछि नोबेल कलेजका विद्यार्थी काठमाडौं आएर केएमसीका विद्यार्थीसँगै संयुक्त आन्दोलन थालेका हुन् ।

दुई मेडिकल कलेजका विद्यार्थीहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिम उच्च भए पनि पीडित विद्यार्थीहरूले स्वास्थ्य मापदण्डलाई पालना गरी आन्दोलन गरेको चिकित्सा शिक्षा संघर्ष समिति अभियानका संयोजक मनीष भट्टराईले बताए । कलेज प्रशासनले समस्या समाधान नगरेपछि विद्यार्थीहरू रिले आमरण अनशन बस्ने तयारी गरेको उनको भनाइ छ ।

काठमाडौं र नोबेल मेडिकल कलेजले होस्टेल शुल्क र अतिरिक्त शुल्क माग गरेका कारण विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । भट्टराईका अनुसार नोबेलले १५ देखि २० लाख रुपैयाँ अतिरिक्त शुल्क मागेको छ । 

गत ३० पुसमा सरोकार पक्षबीच छलफल र निर्णय भए पनि विवादित कलेजले निर्णय कार्यान्वयन गरेका छैनन् । चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । 

शिक्षामन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँडबीच आन्दोलित एमबिबिएस विद्यार्थीको समस्या समाधानका लागि थप कदम चाल्ने विषयमा छलफल भएको छ । बुधबार दुई मन्त्रीबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरूमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको हो । शिक्षामन्त्री पौडेल पटक–पटक कलेज पुगेर अनुगमन र छलफलसमेत गरेका थिए । तर, प्रशासनले बेवास्ता गरेको छ । 

नोबेल, काठमाडौं मेडिकल कलेजमा अतिरिक्त शुल्क र होस्टेल शुल्कका विषयमा विवाद छ । कलेजले समस्या समाधान गर्नुभन्दा केही अभिभावकलाई प्रभावमा पारेर सहमति गराउने प्रयास गरेकोसमेत विद्यार्थीहरूले गुनासो गरेका छन् ।