मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ३ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ३ सोमबार o८:१o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेपरलेस बन्दै वैदेशिक रोजगार क्षेत्र : अबदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ३ सोमबार o८:१o:oo

वैदेशिक रोजगार कार्यालयले माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । ०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्थाले वैदेशिक रोजगार कार्यालयमा घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्याताको अन्त्य हुने बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाउन यस्तो व्यवस्था मिलाएको बताए । त्यस्तै, वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाउन अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको व्यवस्था गरिएको बताए ।  

यसरी लिन सकिन्छ स्वीकृति

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ ।  यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लू डट डिओएफई डट जिओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सीधै ‘एफइआइएमएस डट डिओएफई डट जिओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।  

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नं र इमेल ठेगाना अनिवार्य रूपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ । अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिनअगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सोबमोजिम भए–नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ । 

अनलाइनबाट नै बिमा गर्न सकिने

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । म्यादी जीवन बिमा उमेरअनुसार १८ वर्षदेखि ३५ वर्षसम्म तीन हजार सात सय आठ, ३६ वर्षदेखि ५० वर्षसम्म चार हजार नौ सय ३१ र ५१ वर्षदेखि ६४ वर्षसम्म नौ हजार चार सय ६३ रुपैयाँ शुल्क तिर्नुपर्छ । वैदेशिक रोजगार कल्याणकारी कोषका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

पुनः श्रम स्वीकृतिका लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ । त्यस्तै, अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्ट्याम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ । घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ ‘घ’ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिसपत्रको स्क्यान कपी आवश्यक पर्छ । 

वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन् । वैदेशिक रोजगार कार्यालयबाट चालू आर्थिक वर्षको पुस सम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाखजना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारजनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।