१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०८:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याज र करको दबाब घट्दै गएपछि बजार सुधारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार ०८:४०:००

साताको अन्तिम कारोबारमा नेप्से परिसूचक ५४ अंकले बढे पनि कारोबार रकम भने करिब डेढ अर्बभन्दा धेरैले घटेको छ । बुधबार आठ अर्ब तीन करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ६ अर्ब ६६ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

पुस मसान्तमा कर तथा ब्याजको दबाब घट्दै गएका कारण बजार बढ्ने अपेक्षा लगानीकर्ताको रहेको छ । तत्काललाई बैंकहरूमा रहेको कर्जायोग्य पुँजी अभावको दबाब कम भएको छ । यी सबै कारण बजार पुनः बढ्न थालेको छ । 

बिहीबार उच्च उतारचढाव देखिएको नेप्से परिसूचक बजार बन्द हुँदा ५४ अंकले बढेर दुई हजार आठ सय ५७ अंकमा पुगेको छ । सेयर कारोबार रकम ६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका दुई सय २४ धितोपत्र तथा ऋणपत्रमध्ये एक सय ९८ को मूल्य बढेको छ भने १८ वटाको मूल्य घटेको छ । मूल्य घटेकाहरूको २ प्रतिशतभन्दा कम दरमा मूल्यमा कटौती भएको हो । 

बढ्दो बजारमा लगानीकर्ता फेरि पनि जलविद्युत् कम्पनीहरूमा झुम्मिएका छन् । मूल्य परिवर्तनकै आधारमा हुने लाभका लागि लगानीकर्ता यो समूहमा झुम्मिँदै आएका छन् । यो समूहगत परिसूचक सबैभन्दा धेरै करिब ५ प्रतिशतले वृद्धि भएको छ । यही समूहको मध्यभोटेकोसी जलविद्युत्को मूल्य करिब १० प्रतिशतले बढेको छ । केही समयअघि मात्रै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य बढ्दो क्रममा छ । यही समूहको अपर तामाकोसीको सेयर कारोबार सबैभन्दा धेरै ३४ करोड रुपैयाँको कारोबार भएको छ । 

प्रतिफल दर पनि उच्च र मूल्य परिवर्तनको राम्रो सम्भावना रहेको लघुवित्त समूहगत परिसूचक पनि ३ दशमलव २० प्रतिशतले बढेको छ । यद्यपि, लघुवित्त कम्पनीहरूको मूल्य ७ प्रतिशतभन्दा कमले वृद्धि भएको छ । यो समूहका गणपति लघुवित्त, स्वावलम्बन र आरम्भ चौतारी लघुवित्तको मूल्य उच्चदरमा बढेको हो ।

करिब एक हजार सात सय मूल्यसम्म पुगेको गणपति लघुवित्तको लाभांश प्राप्त गर्ने अवसर सकिए पनि यसमा लगानीकर्ता झुम्मिएका छन् । मूल्य परिवर्तनका आधारमा यो समूहको मध्यम रेन्जमा मूल्य रहेकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । यस दिन ‘अन्य’ समूहगत परिसूचक मात्रै घटेको छ ।