मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०८:१३:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

खोइ उद्यमशील समाज बनाउने शिक्षानीति ?

Read Time : > 6 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०८:१३:००

हाम्रो शिक्षाले हामीमा जागिरे मानसिकता मात्र किन विकास गर्‍यो ? उद्यमी मानसिकता किन विकास गरेन ?


करिब तीन वर्ष पहिले एउटा टेलिभिजन बहसमा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र त्रिविका पूर्वउपकुलपति तीर्थ खनियाँसँग संवादमा थिएँ । बहसमा बेरोजगार युवा हुनु र युवाले जागिर नपाउनुमा म विश्वविद्यालयलाई पनि दोष दिँदै थिएँ । त्यही वेला खनियाँजीले भन्नुभयो– ‘जबलेस सोसाइटीका निम्ति विश्वविद्यालयलाई दोष दिन पाइँदैन । विश्वविद्यालयको काम पढाउने हो । बेरोजगारीको जिम्मा सरकारले लिनुपर्छ । तपाईं सरकारलाई भन्नुपर्ने कुरा विश्वविद्यालयलाई भन्दै हुनुहुन्छ ।’

जिम्मा राज्यले लिनुपर्छ । सरकार जवाफदेही हुनुपर्छ भन्नेमा बहस आवश्यक छैन । तर, मैले उठाउन खोजेको महत्वपूर्ण प्रश्न के थियो भने जबलेस सोसाइटीका निम्ति विश्वविद्यालयको जिम्मेवारी हुन्छ की हुँदैन ? उत्तर– विश्वविद्यालय नै प्रमुख जिम्मेवार हुन्छ । विश्वविद्यालयको प्रमुख जिम्मेवारी विद्यार्थीको योग्यता र क्षमताअनुसार उनीहरूलाई काम गर्न योग्य बनाउनु हो । तर, हाम्रा विद्यार्थीले डिग्री हातमा लिएर पनि किन जागिर पाइरहेका छैनन् ? अर्को झन् महत्त्वपूर्ण प्रश्न– हाम्रो शिक्षाले हामीमा जागिरे मानसिकता मात्र किन विकास गर्‍यो ? उद्यमी मानसिकता किन विकास गरेन ? यो प्रश्न त्यति सहज भने छैन । प्रश्न फेरि दोहोर्‍याउँछु– हाम्रो शिक्षाले किन जागिर खोज्न सिकायो, जागिर निर्माण गर्न किन सिकाएन ?

उद्यमशीलता पढाऔँ

प्रत्येक बच्चाको विद्यालय जाने र राम्रो शिक्षा प्राप्त गर्ने अधिकार हुन्छ । शिक्षाको उद्देश्य डिग्री हातमा लिएर फोटो खिचेर भित्तामा झुन्ड्याउनु मात्र होइन, जीवनमा आफ्नो ‘प्यासन’ पहिचान गर्नु हो । त्यसैलाई आफ्नो ‘प्रोफेसन’ बनाउनु पनि हो । म विद्यार्थीसँग छलफल गर्दा पढाइ सकेर के गर्ने लक्ष्य छ भनेर सोध्छु । अधिकांशको उत्तर हुन्छ– राम्रो जागिर खाने । लगत्तै अर्को प्रश्न सोध्ने गर्छु– कतिजना उद्यमी बन्न चाहनुहुन्छ ? वा अरूलाई जागिर दिन चाहनुहुन्छ ? उत्तरमा मुस्किलले एक–दुईजनाको हात उठ्छ ।

समस्या यहीँ छ, यही मानसिकतामा छ । यदि सबैले जागिर नै खाने हो भने जागिर दिने चाहिँ को ? सबैले पढेर डिग्री हातमा लिएर जागिर खोज्न हिँडे जागिरचाहिँ कसले दिन्छ ? किन एउटा युवा आफ्नो डिग्रीको योग्यताले पाउनेभन्दा तलको जागिर खान बाध्य छ ? किन एउटा मानिस स्नातकोत्तर गर्छ, पिएचडी गर्छ तर किन सोही विषयमा नयाँ सम्भावना खोज्ने, उद्यम गर्ने आँट गर्न सक्दैन ? किन त्यो चुनौती लिने साहस मेरा युवा साथीमा आइरहेको छैन ? किन हामीले हाम्रा युवाको क्षमतालाई ‘सिभी’ हातमा लिएर पल्लो गाउँको मामाको नाता लगाएर जागिर खान भनसुनमा खर्चिरहेका छौँ ?

यसको उत्तर हो– हाम्रो शिक्षा प्रणालीको असफलता । अहिलेको शिक्षा प्रणालीले हामीलाई सर्कसको जनावर बनाइरहेको छ । आफैँ केही गर्न नसक्ने, कसैले इसारा दिएपछि थोरै बेर ‘ट्रेन’ गरिएको कला मात्र देखाउने । हाम्रो शिक्षाले हामीले पढेकै कुराबाट नयाँ गर्न कहिल्यै सिकाएन । त्यो आँट गर्न सिकाएन । जागिर खोज्ने होइन, जागिर दिने उद्यमी बन्नुपर्छ भनेर कहिल्यै प्रेरित गरेन । तसर्थ, अब हाम्रो शिक्षा बदलिनुपर्छ र उद्यमशीलता नै हाम्रा कक्षामा पढाइनुपर्छ । हाम्रो शिक्षालाई जागिरे मानसिकताबाट परिवर्तन गरेर उद्यमशीलताको मानसिकतामा परिणत गर्न अब ढिला गर्नु हुँदैन । प्लस टु र विश्वविद्यालय नै त्यस्ता स्थान हुन्, जहाँ भविष्यका ठूला उद्यमीलाई आआफ्ना उद्यमबारे पहिलो ‘आइडिया’ आउँछ । तर, हाम्रा विद्यालय, कलेजले त्यसलाई मूर्तरूप दिने वातावरण निर्माण गर्न सकिरहेका छैनन् । आजको मानिसको आवश्यकतालाई सम्बोधन र समाधान गर्न सकिरहेका छैनन् ।

उद्यम, अर्थतन्त्र र शिक्षा

हामी अहिले जे छलफल गरिरहेका छौँ, त्यो जागिरसँग मात्र जोडिएको विषय होइन । यो त हाम्रो समग्र अर्थतन्त्र र समृद्धिसँग जोडिएको विषय हो । हाम्रो अर्थतन्त्र नै जागिर र रेमिट्यान्सले धानेको छ । हाम्रो हालको अर्थतन्त्र जागिरे मानसिकताबाट विकास भएको हो । ‘जागिरे अर्थतन्त्र’ले ‘उद्यमी अर्थतन्त्र’सँग प्रतिस्पर्धा गर्न सक्दैन । मार्क जुकरबर्ग र बिल गेट्सहरूले यदि राम्रो नम्बर ल्याएर कुनै आइटी कम्पनीमा जागिर खाने सपना देखेका भए उनीहरू कहाँ हुन्थे होलान् ? आज अमेरिका त्यो स्थानमा रहनुका पछाडि यस्तै साहसी आइडिया बोकेका उद्यमीकै देन होइन र ? तसर्थ, यो देशकै सबैभन्दा महत्वपूर्ण मुद्दा हो ।

अमेरिका र युरोपका कतिपय देशले आफ्नो शिक्षा प्रणालीमा सुरुदेखि नै ‘उद्यमी मानसिकता’ विकास गराए, जसले गर्दा एउटा विद्यार्थी जागिर खाने मात्र होइन, जागिर दिने स्थानमा पनि पुग्यो । सिर्जनशीलता र नवप्रवर्तनलाई अँगाल्यो । आफ्नो देशको मात्र होइन, विश्वका अन्य देशबाट पनि उत्कृष्ट जनशक्ति ल्याएर जागिर खुवायो । आज धेरै उत्कृष्ट नेपाली जागिर खोज्दै अमेरिका, अस्ट्रेलिया, युरोप या कतार गएका छन् । यहीँनेर हाम्रो शिक्षा र हाम्रो नेतृत्वले सोच्नुपर्छ, ती कम्पनी कसले खडा गरेका हुन् ? ती कम्पनीका संस्थापकले कहाँ पढेका छन् ? र, ती विद्यालयमा कस्तो शिक्षा सिकाइएको छ ? 

हुन त काम गर्न बाहिर जानु, रेमिटेन्स नेपालमा पठाउनु, हाम्रा युवाले विश्वका ठुल्ठूला कम्पनीमा काम गर्नु सतहबाट हेर्दा राम्रै हो । तर, अलि रोकिएर अनि गहिरिएर हेर्दा यसले देशको अर्थतन्त्रलाई ठूलो प्रभाव पारिरहेको छ । हाम्रा युवाले गरेको मिहिनेतले उनीहरूले जागिर त पाइरहेका छन्, तर त्यसबाट आएको नाफा त्यही देशले पाइरहेको छ । 

राजाको छोरा नै राजा बन्नुपर्छ र उद्यमी घरानाकै छोराछोरी उद्यमी बन्नुपर्छ भन्ने युग अन्त्य भइसकेको छ । तैपनि, हाम्रो पाठ्यक्रम र शिक्षानीति बदलिएको छैन । त्यसैले अब शैक्षिक मानसिकता परिवर्तन हुन जरुरी छ ।

म यहाँ देशभक्ति मात्र व्यक्त गरिरहेको छैन, अर्थतन्त्रकै कुरा गरिरहेको छु । राज्यले आफ्नो स्रोतसाधन प्रयोग गरेर एउटा विद्यार्थी वा नागरिकमा लगानी गर्छ, आशा गर्छ तर त्यही नागरिक अर्काको देश बनाउन जान्छ । यो राज्यको लगानी र आम्दानीको कुरा पनि हो । ‘मल्टिनेसनल कम्पनी’मा काम गर्दै गर्दा एउटा व्यक्तिको जीवन त बदलियो, तर त्यही मिहिनेत र परिश्रमले आफ्नो समाज र देश रूपान्तरण हुने अवसर गुम्यो । कारण हो– अपूरो शिक्षा । उद्यमी मानसिकता विकास गर्न नसक्ने शिक्षा । ‘म ठूलो भएर मेरा धेरै साथीसँग मिलेर उद्यम गर्छु र धेरैलाई जागिर दिन्छु’ भन्ने सोच विकास गर्न नसकेको शिक्षा । हामीले बुझ्नुपर्ने के हो भने ‘जागिरे अर्थतन्त्र’ले ‘उद्यमी अर्थतन्त्र’ भएको देशसँग प्रतिस्पर्धा गर्न सक्दैन । २१औँ शताब्दीमा जागिर खोज्ने अर्थतन्त्र होइन, जागिर दिने अर्थतन्त्रको खाँचो छ । त्यो काम हाम्रो शिक्षाले गर्न सक्नुपर्छ । 

उद्यमी पाठ्यक्रम

केही समयअघि केजरिवाल सरकारले दिल्लीमा ‘इन्टरप्रेनरसिप माइन्डसेट करिकुलम’ लागू गर्‍यो । ९ देखि १२ कक्षासम्मका विद्यार्थीका निम्ति यो विशेष कार्यक्रम लागू गरिएको थियो । हाम्रो शिक्षाले पनि छुट्टै ‘उद्यमी पाठ्यक्रम’ विकास गर्न जरुरी छ, जसले हामीलाई जागिरे मानसिकताबाट उद्यमी मानसिकतामा पुर्‍याओस् । यसले भोलि अफिसमा गएर कसरी काम गर्नुपर्छ वा कुनै विषयमा तालिम दिने मात्र होइन, विद्यार्थीलाई नयाँ कुरा आँट्न सिकाओस् । ठूलो काम गर्न, निर्णय लिन र साहस देखाउन सिकाओस् । गल्ती र हारलाई स्विकार्न सिकाओस् । 

शिक्षाको प्रमुख दुईवटा उद्देश्य न हो । पहिलो– संस्कार सिकाउने । दोस्रो– आफू को हुँ भनेर विद्यार्थीलाई पत्ता लगाउन सिकाउने र त्यही प्यासनलाई प्रोफेसनमा बदल्न लगाउने । पहिलो संस्कार सिकाउने काम कक्षा १ देखि ८ सम्मको शिक्षाले गर्नुपर्छ भने दोस्रो प्यासन पत्ता लगाउने र उद्यमी मानसिकता विकास गर्ने काम ९ देखि १२ कक्षासम्मको शिक्षामार्फत दिलाउन सकिन्छ । यो त्यति सजिलो विषय होइन, हामी यहाँ एकदिने वा एकहप्ते उद्यमशीलताको तालिमको चर्चा गरिरहेका छैनौँ । चार वर्षसम्म विद्यार्थीमा उद्यमी मानसिकता विकासका निम्ति पाठ्यक्रम निर्माण गर्ने, वातावरण निर्माण गर्ने विषयमा छलफल गरिरहेका छौँ । यो आफैँमा एउटा चुनौती हो । तसर्थ, यसका निम्ति एउटा राम्रो पाठ्यक्रम निर्माणको युवा टोली बनाउन जरुरी छ, जसले विद्यार्थी, शिक्षक र अभिभावकसँग निरन्तर सहकार्य गर्न सकोस् । हामी यस विषयमा काम गरिरहेको दिल्ली सरकारसँग पनि सहकार्य गर्न सक्छौँ । 

यस्तो पाठ्यक्रमको सबैभन्दा ठूलो चुनौती भनेको अभिभावक, विद्यार्थी र शिक्षकलाई नै यसको महत्‍व बुझाउन सक्नु हो । यो पाठ्यक्रम निर्माण गर्दैगर्दा उठ्ने प्रश्न– एउटा मानिस ‘बिजनेस म्यान’ वा ‘बिजनेस वोमन’ बन्न चाहँदैन भने उसलाई यो पाठ्यक्रम किन चाहिन्छ ? एउटा वैज्ञानिक वा एकजना डाक्टरलाई यो किन पढ्नुपर्‍यो ? अधिकांश अभिभावक र विद्यार्थीको उद्देश्य भनेकै पढाइ सक्ने र जागिर खाने हुन्छ । यहाँ हामीले के बुझाउन जरुरी छ भने एउटा उद्यमी मानसिकता भनेको व्यापारी वा कम्पनीको सिइओका निम्ति मात्र होइन, एउटा वैज्ञानिक वा डाक्टरका निम्ति पनि महत्‍वपूर्ण छ । यो मानसिकता भनेको प्रयोग गर्ने, साहस गर्ने, नयाँ कुरा गर्ने, हार्न सिक्ने, फेरि उठ्न सिक्ने मानसिकता हो । त्यसैले, त्यस्तो पाठ्यक्रम एउटा कर्मचारीदेखि व्यापारीसम्म सबैलाई आवश्यक छ । 

यस्ता पाठ्यक्रम किताब रटाएर विद्यार्थीलाई पढाउनुहुँदैन । उद्यमी पाठ्यक्रम विभिन्न ‘रिसर्च’, ‘केस स्टडिज’, ‘प्रोजेक्ट वर्क’, ‘प्रिजेन्टेसन’, ‘फिल्ड भिजिट’ आदिमा अडिएको हुन जरुरी छ । त्यसका निम्ति सुरुमै शिक्षकलाई तालिम दिएर तयार गर्नुपर्छ । र, योजनाबमोजिम काम भए–नभएको ‘मनिटर’ गर्ने टिम बनाउनुपर्छ । र, यसका निम्ति सरकार आफैँ खट्न जरुरी छ । यो उद्यमी पाठ्यक्रमले विद्यार्थीको बौद्धिक दायरा फराकिलो त बनाउँछ नै साथै यसले उनीहरूलाई जागिरको पछाडि डराएर लाग्नेभन्दा आफैँ केही गर्न तम्सिने बनाउँछ । यसले विद्यार्थीमा आत्मविश्वास त भर्छ, भर्छ साथै नेपालको अर्थतन्त्रलाई समेत उद्वेलित गर्छ ।

उद्यमी कार्यक्रमहरू
काठमाडौँमा नेवार समुदायको एउटा खाना ‘योमरी’ चर्चित छ । भक्तपुरको जुजु धौको सबैले तारिफ गर्छन् । त्यहीँ आकर्षक माटाका भाँडा बन्छन् । यही खाना वा कलालाई हामीले अहिलेको भन्दा फरक ढंगबाट उद्यमशीलताको नजरबाट किन हेर्न सकिरहेका छैनौँ ? किन त्यसलाई ब्रान्ड बनाएर संसारभरि छर्न सकिरहेका छैनौँ ? त्यो काम अरूभन्दा अहिलेका ताजा ११ कक्षामा पढ्दै गरेका विद्यार्थीले गर्न सक्छन् भन्ने मेरो विश्वास हो ।

अहिले दिल्लीका विद्यालयमा नयाँ कार्यक्रम ‘बिजनेस ब्लास्टर्स’ ल्याइएको छ । यस कार्यक्रममा उसले तीन लाख विद्यार्थीलाई विभिन्न समूहमा विभाजित गरेर सहभागी गराइरहेको छ । ती समूहले करिब ५१ हजार ‘बिजनेस आइडिया’ ल्याएका छन् । सरकार र निजी क्षेत्र मिलेर ती आइडियालाई ‘सिड मनी’ उपलब्ध गराइरहेका छन् । एउटा समूहका विद्यार्थीले पेन्टिङ बनाएर अनलाइनमा बेच्न राखे । उनीहरूका पेन्टिङ बिक्न थाले । उनीहरूले आफ्नै टोलका अन्य महिलालाई पनि त्यस कार्यमा संलग्न गराए । १२ कक्षा पढ्दै गरेका विद्यार्थीले केही महिलालाई रोजगारी उपलब्ध गराएर महिनाको ४०–५० हजार कमाउन थाले ।

अर्को एउटा समूहले प्रयोग गरेर केही कारणवश बिग्रिएका मोबाइल संकलन गर्‍यो । एउटै ब्रान्डका ३–४ वटा बिग्रिएका मोबाइल संकलन गरेर एउटा बिग्रिएको मोबाइलमा अर्काको सामान हालेर फेरि नयाँझैँ चल्ने बनाएर सस्तोमा बेच्न सुरु गर्‍यो । उनीहरूलाई राम्रै फाइदा भयो । १२ कक्षा पढ्ने विद्यार्थी प्रायः इन्जिनियर बन्नेबारे सोच्छन् । तर, अब बिस्तारै दिल्लीमा १२ कक्षा पढ्दै गरेका विद्यार्थी इन्जिनियर हायर गर्नेबारे सोच्दै छन् । हो, हामीले खोज्दै गरेको मानसिकता यही हो । दिल्ली सरकारले यस्ता आइडियालाई ‘फन्डिङ’ पनि गरेको छ । लगानीकर्ता पनि भित्रिरहेका छन् ।

मैले पनि धेरै यस्ता ११–१२ कक्षाका विद्यार्थी भेटेको छु, जोसँग केही नयाँ गर्ने आइडिया छ । तर, उनीहरूलाई बोर्डको परीक्षाको त्रासले खाइरहेको छ । यदि प्रत्येक विद्यार्थीमा उद्यमशीलताको मनोविज्ञान निर्माण गर्ने हो भने हामीले परिवारको मात्र होइन, समाज र देशको अर्थतन्त्रसमेत बदल्न सक्छौँ । यस्तो कार्यक्रमले राजनीति पनि बदल्न सक्छ । आज नेता किन आवश्यक छ ? जागिर खुवाउन । भनसुन गर्न । जागिर खुवाउने होइन, विद्यार्थी आफैँले जागिर दिने हो भन्ने मनोविज्ञान निर्माण गर्न सके देशमै पर्याप्त रोजगारी निर्माण हुने निश्चित छ । अनि यो मनोविज्ञान लागू हुन सके यो आत्मनिर्भर समाज निर्माण हुन सक्छ । नमस्कार गर्ने र चाकरी प्रथा अन्त्य हुन सक्छ । 

मानौँ, कक्षा १२ मा पढ्दै गरेका विद्यार्थीका यी आइडिया असफल भएनन् । उनीहरूको लगानी डुब्यो । के हुन्छ ? नराम्रो केही हुन्न । फाइदै हुन्छ । यो मानसिकता र कार्यक्रम हो, जहाँ विद्यार्थी असफल भए पनि हरेकले जित्नेछन् । किनकि, उनीहरूले के–के गर्दा असफल भइने रहेछ भनेर स्कुलमै पाठ सिक्नेछन् । उनीहरूले बजार बुझ्ने मौका पाउनेछन् । उनीहरूको सीप विकास हुनेछ ।

अन्त्यमा, 

एउटा राजाको छोरा नै राजा बन्नुपर्छ र एउटा उद्यमी घरानाकै छोराछोरी उद्यमी बन्नुपर्छ भन्ने युग अन्त्य भइसकेको छ । तैपनि, हाम्रो पाठ्यक्रम र शिक्षा बदलिएको छैन । त्यसैले अब शैक्षिक मानसिकता परिवर्तन हुन जरुरी छ । हामीले हाम्रा विद्यार्थीलाई हेर्दा भोलिका कम्पनीको सिइओ वा भविष्यका ठूला कम्पनीका प्रोमोटरका रूपमा हेर्न र बुझ्न जरुरी छ । यदि यसमा विश्वास गर्ने हो भने कक्षामा एउटा बच्चालाई भविष्यको सिइओ जस्तो व्यवहार गरेर हुर्काउनुपर्छ । 

हामी भविष्यको सिइओलाई किन जागिरे बनाउँदै छौँ ? हामी आफूभित्र लुकेको ‘बिजनेसम्यान’लाई किन खुम्च्याउँदै छौँ ? हामी एमबिए गरेको विद्यार्थीलाई ट्युसन पढाउन किन लगाउँदै छौँ ? योभन्दा शिक्षा असफल भएको अरू प्रमाण के चाहियो ? सुरुवात गरेकै प्रश्नबाट अन्त्य गरौँ । के जागिर दिने काम विद्यालय, विश्वविद्यालयको हो ? कुनै भूमिका नबाँधी उत्तर दिन्छु– हो । जागिर खाने मात्र होइन, जागिर दिने मनोविज्ञानसमेत विकास गराउने काम विद्यालय र विश्वविद्यालयहरूकै हो ।