१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:४५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपेक्स र मनीकरणबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४५:oo

निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको निजी विद्युत् व्यापार कम्पनी मनीकरण पावर कम्पनीबीच पाँच सय मेगावाट विद्युत् व्यापार गर्ने समझादारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल पावर मार्केट समिट २०२२ मा भएको सम्झौताअनुसार नेपेक्ससँग मनीकरणले पाँच सय मेगावाट विद्युत् खरिद गरी भारतीय बजारमा बिक्री गर्नेछ । ‘समझदारीअनुसार अब नेपेक्सले मनीकरणलाई पाँच सय मेगावाट विद्युत् बिक्री गर्न सक्नेछ,’ नेपेक्सका प्रबन्ध निर्देशक आशिष गर्गले भने । उनका अनुसार बर्सातमा खेर गइरहेको विद्युत् भारतीय बजारमा उपयोग हुनेछ । यसले अहिले बर्खामा विद्युत् खेर जाने अवस्थाको अन्त्य गर्ने इप्पानको भनाइ छ । 

सोमबार काठमाडौंमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा नेपेक्सको तर्फबाट आशिष गर्ग र मनीकरणको तर्फबाट नबोजितसिंह कल्सीबीच समझादारीपत्रमा हस्ताक्षर भएको हो । 

तत्कालका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) गरेका आयोजनाबाट उत्पादन भएको विद्युत् खेर जाने गरेकाले प्राधिकरणले नेपेक्सलाई बिक्री गर्ने र नेपेक्सले मनीकरणमार्फत भारतमा बिक्री गर्ने बिजनेस मोडल रहेको उनको भनाइ छ । त्यसका लागि प्राधिकरणसँगै मिलेर अघि बढ्ने इप्पानका अधिकारीहरूले जानकारी दिए । यो परिमाणको विद्युत् मनीकरणले सन् २०२२ देखि खरिद गर्नेछ ।

त्यस्तै, नेपालमा विद्युत् खरिद सम्झौता रोकिइरहेको अवस्थामा सीधै मनीकरणसँग पिपिए सम्झौता गर्ने योजना रहेको प्रबन्ध निर्देशक गर्गको भनाइ छ । करिब पाँच सय मेगावाट आयोजनासँग पिपिए गर्ने योजना छ । भारतीय खरिदकर्तासँग १० देखि २५ वर्षसम्मका लागि सीधै पिपिए गर्ने भनिएको छ । त्यस्तै, मनीकरणले नेपेक्समा १५ प्रतिशत सेयर लगानी गर्नेछ र नेपेक्सको रणनीतिक साझेदारका रूपमा रहनेछ । मनीकरणले भारतमा दीर्घकालीन, अल्पकालीन सबै प्रकारको विद्युत् खरिद र बिक्री गर्ने काम गरिरहेको कम्पनी हो । 

मनीकरण पावर कम्पनीका प्रबन्ध निर्देशक नबोजितसिंह कल्सीले नेपालमा प्रयोग हुन नसकेको ऊर्जालाई भारतमा प्रयोग हुन सक्ने बताए । ‘तत्कालका लागि बढी भएको करिब पाँच सय मेगावाट विद्युत् लिन पाउनेछाैं,’ उनले भने । मनीकरण भारतमा विद्युत्, प्राकृतिक ग्यास र कोइला व्यापार गरिरहेको कम्पनी हो । यो भारतको निजी क्षेत्रको ठूलोमध्येमा एउटा विद्युत् व्यापार कम्पनी भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष आशिष गर्गले जानकारी दिए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी भइरहेको बताएकी छिन् । नेपाल पावर मार्केट समिटमा बोल्दै उनले निजी क्षेत्रलाई अनुमतिपत्र दिनका लागि कार्यविधि तयारी गरिरहेको बताइन । ‘कार्यविधि तयार गरेपछि निजी क्षेत्र र सरोकारवालालाई बोलाएर छलफल गरिनेछ,’ उनले भनिन् । दक्षिण एसियामा प्रतिव्यक्ति विद्युत् खपत न्यून रहेको र १५औँ पञ्चवर्षीय योजनामा सात किलोवाट प्रतिव्यक्ति खपत बनाउने सरकारको लक्ष्य रहेको उनले बताइन् । ‘त्यसका लागि पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भनिन् । सरकारले बढी विद्युत् खपत गर्ने उद्योगलाई उच्च प्राथमिकता दिएको जानकारी दिइन् । 

सम्मेलनमा मुख्य वक्ताका रूपमा भारतका पूर्वऊर्जा सचिव आरभी सिंहले नेपाल र भारतबीच एक हजार मेगावाट क्षमताको विद्युत् व्यापार गर्न सक्ने क्षमता भए पनि अहिले करिब तीन सय मेगावाट मात्र लैजान वा ल्याउन प्रयोग भइरहेको बताए । ‘नेपाल आफैँले विद्युत्को प्रयोग गर्नुपर्ने र दक्षिण एसियामा नेपालीको विद्युत् खपत न्यून रहेकाले पनि त्यो आवश्यक छ,’ उनले भने ।  

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आवको बर्खामा पाँचदेखि सात सय मेगावाट विद्युत् खेर फाल्नुपरेको र त्यसको मूल्य साढे दुई अर्बदेखि पाँच अर्ब रुपैयाँ रहेको बताए । आउने वर्ष यसरी नै खेर जाने अवस्था आउन नदिनका लागि काम गर्नुपर्ने शिक्षा पाएको उनले बताए । नेपालमा खेर जाने वेलामा भारतमा विद्युत्को अभाव हुने गरेको र भारतमा धेरै हुने वेला नेपालमा उच्च माग हुने गरेको बताए । यसका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए । ‘आउने वर्ष निर्यात गर्ने विद्युत्को मात्रा बढ्नेछ । त्यसका लागि काम भइरहेको  छ । निजी क्षेत्रले पनि प्रयास गरिरहेको छ । यसले पनि निर्यात वृद्धि गर्न सहयोग पुग्नेछ । नेपालको विद्युत् निर्यात हुनेछ,’ उनले भने ।

ad
ad