मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २६ सोमबार
  • Monday, 16 December, 2024
२o७८ पौष २६ सोमबार o८:१८:oo
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

दोहोरी साँझका ‘दुःखी’ कलाकार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २६ सोमबार o८:१८:oo

कुनै समय दोहोरी साँझ (रेस्टुरेन्ट) कलाकार उत्पादन गर्ने ‘पाठशाला’जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझलाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चर्चित लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन अधिकारी, रामजी खाण, भागीरथ चलाउनेलगायतकाको पृष्ठभूमि पनि दोहोरी साँझ नै हो ।कलाकारितामा स्थापित भइसकेका कतिपय कलाकार अझै पनि दाहोरी साँझमा गीत गाउँछन् । तर, पछिल्लो समय दोहोरी साँझमा गीत गाउनु भनेको पीडा बेसाउनुजस्तै हुने गरेको गायक–गायिकाको दुखेसो छ । दोहोरी साँझमा वर्षाैँ गीत गाएर पनि मूलधारमा आउन नसकेको उनीहरू बताउँछन् । ‘न त कसैले कामका बारे चर्चा गर्छन् न त कुनै पुरस्कार, सम्मान पाइन्छ,’ उनीहरू दुखेसो गर्छन् । तर पनि संगीतको भोक र परिवारको अभाव टार्न उनीहरू निरन्तर गीत गाइरहेका छन् । 

प्रभुराज पाण्डेले लोकदोहोरीमा भविष्य देखेर गीत गाउन थालेको १० वर्ष भयो । गीतसंगीतप्रतिको झुकावकै कारण उनी अभाव सहेर पनि निरन्तर लागिरहेका छन् । उनी दोहोरी साँझमा दोहोरी र एकल गीत गाउँछन् । पछिल्लो समय चाबहिलस्थित सम्राट दोहोरी साँझमा गीत गाउने गरेको उनले बताए । गीत गाउने हुटहुटीले बाजुरादेखि काठमाडौैंसम्म डोहोर्‍याको उनको भनाइ छ । उनी भन्छन्, ‘सानैदेखि गीतसंगीतमा रुचि थियो । ‘गाउँमा हुँदा रेडियो र मेला महोत्सवमा बजेको देउडा, लोकभाकाले खुबै तान्ने गथ्र्यो,’ उनले भने, ‘रेडियोमा गीत बज्दा गाउन खुब रहर लाग्थ्यो । तर, स्रोतसाधन नै थिएन । बाजुरामा रेडियोबाट गीत बज्थे मात्रै, सुनाउने ठाउँ नै थिएन ।’ साथै गीतसंगीत सिक्ने पाठशाला पनि थिएनन् । खुम्चिएर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

घरको एक्लो छोरो भएकोले राम्रो जागिर खाओस् भन्ने परिवारको आशय थियो । यही क्रममा स्नातक तहको अध्ययन पूरा गरेपछि उनले गाउँकै विद्यालयमा पढाउन पनि सुरु गरे । दुई वर्ष स्कुलमा पढाएपछि उनी कलाकार बन्ने सपना बोकेर काठमाडौं आए । उनले भने, ‘०७० तिर एकान्तकुनामा रहेको ओखरबोट दोहोरी साँझमा आबद्ध भएर गीत गाउन थालेँ । त्यसपछि पूर्णकालीन रूपमा दोहोरी साँझमा गीत गाउन थालेँ ।’ दुई वर्षअघि उनी ‘आइएमई लोकस्टार’ नामक प्रतियोगितामा सहभागी भए । तर, टप टेनबाट बाहिरिए । ‘लोकस्टारले लोकगीत संगीतमा स्थापित बनाउन सहयोग गर्ला भनेर गएको थिएँ । तर, झन् अप्ठ्यारो बनाइदियो ऋण पो लाग्यो । उल्टो घाटामा परेको छु,’ उनले भने ।

उनको आम्दानीको मुख्य स्रोत दोहोरी साँझ नै हो । एउटा दोहोरी साँझमा गीत गाएबापत महिनाको १८ हजार रुपैयाँ पाउँछन् । पाण्डे गीतसंगीतमा ‘प्यासन’ भएकाले दोहोरी साँझमा गीत गाएको बताउँछन् । तर, दोहोरीमा थुप्रै पीडा रहेको उनको अनुभव छ । स्थापित कलाकार बन्ने प्यासनले उनी दोहोरी साँझबाट बाहिरिन सकेका छैनन् । उनी भन्छन्, ‘अब कलाकार कहिले बन्ने हो थाहा छैन । एक दशक हुन लागिसक्यो दोहोरी साँझमा गाउन थालेको । अहिलेसम्म केही उपलब्धि छैन ।’ 

सल्यान स्थायी घर भएका पिएन साइला (प्रेम नेपाली) ले पनि दोहोरी साँझमा गीत गाउन थालेको एक दशक भइसकेको बताए । उनलाई दोहोरी साँझमा पिएन साइला भनेर चिन्छन् । उनी बालाजुस्थित ‘लाहुरे दोहोरी साँझ’मा गीत गाउँछन् । उनी भन्छन्, ‘मलाई गीतसंगीतको नराम्रो लत बस्यो । संगीतले नछोड्ने रहेछ । अर्काे पेसामा लाग्न मन लागेन । जति दुःख भए पनि यो पेसा छाड्न सकिनँ ।’ उनले पनि आम्दनीको प्रमुख स्रोत दोहोरी साँझलाई नै बनाएका छन् । 

दोहोरी साँझमा गीत गाएबापत मासिक १५ हजार रुपैयाँ पाउने गरेको उनको भनाइ छ । तर, दोहोरी साँझमा मात्रै गीत गाएर जिन्दगी चलाउन नसक्ने उनले अनुभव गरेका छन् । अझ कोरोना महामारीका कारण रात्रिकालीन व्यवसाय बन्द हुँदा आर्थिक अभावले ज्यामी कामसमेत गरेको उनले बताए । ‘बिहान–बेलुका चुलो नबल्ने भयो । घर धान्न गाह्रो भएपछि ६ महिना ज्यामी काम गरेँ,’ उनले भने । महामारीकै बीचमा श्रीमती पनि गुमाएको उनले बताए । श्रीमतीको मृत्युपश्चात् उनी विरक्तिएका छन् । भन्छन्, ‘छाडेर गइनँ, दुई छोरा पाल्नुपर्छ । रोजीरोटीको लागि मात्रै गरिहेको छु । दोहोरी साँझ आफ्नो पीडा लुकाएर अरूलाई हँसाउने ठाउँ बनेको छ ।’ 
 दुःख मात्रै छैन, धेरैलाई कला क्षेत्रमा स्थापित पनि गरेको छ
शिव हमाल, उपमहासचिव,राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै ६४ वटा दोहोरी साँझ सक्रिय छन् । यी दोहोरी साँझमा करिब नौ सय कलाकार आश्रित छन् । दोहोरी साँझ जीविकोपार्जनको माध्यम मात्रै नभएर धेरैका लागि गीतसंगीतलाई पेसा बनाउने माध्यम पनि बनेको छ । दोहोरी साँझ कलाकार बन्न खोज्नेहरूका लागि महत्वपूर्ण प्लेटफर्म पनि बनेको छ । यहीबाट कलालाई निखारता ल्याउने धेरै छन् । अहिलेका कैयौँ स्थापित कलाकारले दोहोरी साँझबाटै कला क्षेत्रको यात्रा सुरु गरेका उदाहरण छन् । रहर पूरा गर्न मात्रै आएकाले पनि राम्रै आम्दानी गरिरहेका छन् । दोहोरी साँझलाई पहिला रक्सी खाने र गीत गाउने ठाउँका रूपमा मात्रै हेरिन्थ्यो । अहिले गीतसंगीतलाई माया गर्ने मान्छेहरूको पनि बाक्लो उपस्थिति हुन्छ । कोरोना महामारीले दोहोरी साँझ लामो समय बन्द भयो । अहिले बिस्तारै दोहोरी साँझहरू पुरानै अवस्था फर्कन थालेका छन् ।

 जति दुःख भए पनि गाउन छाड्दिनँ
 मोहन विश्वकर्मा, कलाकार 

मोहन विश्वकर्माले दोहोरी साँझमा गीत गाउन थालेको करिब ११ वर्ष भएको बताए । उनले काठमाडौंका थुप्रैै दोहोरी साँझमा गीत गाइसकेका छन् । अझै पनि उनी दोहोरी साँझमा भविष्य खोजिरहेका छन् । स्कुल पढ्दा विभिन्न कार्यक्रममा मीठो स्वरमा गीत गाउने भएकोले परिवार र स्कुलका शिक्षकहरूले गायक बन्ने सुझाव दिने गरेको उनले बताए । यही सुझावलाई उनले पेसा बनाउन दोहोरी साँझ रोजे । आम्दानी पनि हुने रहर पनि पूरा हुने भएकाले यो पेसा रोजेको उनको भनाइ छ । पछि घरपरिवारले गीतसंगीत असुरक्षित पेसा भएकाले अन्यत्रै जागिर खान सुझाव पनि दिएका थिए ।  उनले भने, ‘दोहोरी साँझले भात खान त दिएको छ । तर, कलाकार बन्ने सानैदेखिको सपना पूरा भएको छैन । दोहोरी साँझ काठमाडौंमा बस्ने माध्यम मात्रै बनेको छ ।’