१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ पौष २१ बुधबार २०:५२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल लमजुङले पाएन कोराना संक्रमितको उपचार खर्च

Read Time : > 1 मिनेट
२०७८ पौष २१ बुधबार २०:५२:००

जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचारबापतको खर्च अझैसम्म पाउन सकेको छैन । कोरोना संक्रमितको उपचार खर्च गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता भए पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनले भने, ‘कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म संक्रमितको उपचारमा अस्पतालले खर्च गरेको एक करोड बढी रकम प्राप्त भएको छैन ।’ जिल्ला अस्पताल लमजुङमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ५ सय ६ जनाले निःशुल्क उपचार गराएका छन् । 

उपचार गराएका संक्रमितहरूको कुल रकम एक करोड ३३ लाख २१ हजार पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा गत आर्थिक वर्षमा चार सय ४१ जना कोरोना संक्रमितको उपचार भएको थियो भने चालू आर्थिक वर्षमा ६५ जनाको उपचार भएको छ । पहिलो चरणमा दुई सय ६२ जना कोरोना संक्रमितको उपचार गर्दा ७३ लाख ६४ हजार खर्च भएको थियो भने दोस्रो चरणमा १ सय ७९ जनाको उपचार गर्दा ४६ लाख १३ हजार रुपैयाँ खर्च भएको थियो । 

यस्तै, चालू आर्थिक वर्षमा १३ लाख ४४ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रशासन प्रमुख श्रेष्ठका अनुसार प्रदेश सरकारबाट प्राप्त हुने ४६ लाख १३ हजारमध्ये ४५ लाख रुपैयाँ निकासा भएर स्वास्थ्य कार्यालय लमजुङको खातामा आएको छ । उक्त रकम आवश्यक प्रक्रिया नपुगेकाले हालसम्म अस्पतालको खातामा रकम जम्मा नभएको अस्पतालले जनाएको छ । 

सम्झौतामा उल्लेख भएअनुसार प्रत्येक महिना शोधभर्ना भुक्तानी गर्ने उल्लेख भए पनि हालसम्म रकम नआएको अस्पतालले जनाएको छ । कोभिड संक्रमितको उपचार खर्च सरकारले उपलब्ध गराउने भनेपछि जिल्ला अस्पताल लमजुङ, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड–१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड १९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । 

सम्झौतामा उल्लेख भएअनुसार संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च अस्पतालको आइसोलेसनमा सामान्य उपचारको निम्ति दैनिक तीन हजार पाँच सय, मध्यमस्तरको उपचारको निम्ति सात हजार र गम्भीर प्रकृतिको उपचारको निम्ति दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ ।