१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका दार्चुला
२o७८ पौष १६ शुक्रबार १o:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विदेशी चलखेलले द्वन्द्वको खतरा बढ्यो : महर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १o:३२:oo

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशी चलखेलका कारण नेपाली जनता-जनताबीचमा द्वन्द्व निम्तिने खतरा बढेको बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका वेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको स्मरण गर्दै कांग्रेस नेता महरले अहिले पनि राष्ट्रिय मेलमिलापको झनै आवश्यकता बढेको बताएका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कांग्रेस दार्चुलाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रिय स्वार्थपूर्ति आजको प्रमुख विषय भएको टिप्पणी गरेका छन्। ‘जनता-जनताबीच तिक्तता उत्पन्न हुने गरी आउन सक्ने खतरालाई ध्यानमा राखेर वैदेशिक सम्बन्ध स्थापित गर्न सबै दलहरूबीच कसिलो एकता आवश्यक छ,’  महरले भने।

पछिल्लोपटक अमेरिकन परियोजना एमसिसी र चाइनिज परियोजनाप्रति मानिसको विभिन्न धारणा बनिरहेकोप्रति संकेत गर्दै महरले देश बलियो हुन आर्थिक स्थिति बलियो हुनुपर्ने बताएका छन् । ‘देशमा आर्थिक गतिविधि भएका नागरिकको जीवनस्तर माथि उठ्छ। त्यसो हुन सके मात्रै हाम्रो नागरिकता र देश बलियो हुन्छ। आजको आवश्यकता भनेको आर्थिक विकास केन्द्रित राजनीति हो,’ महरले भने।

भारतको नियन्त्रणमा रहेको कालापानी, लिम्पियाधुरा, लिपुलेक वार्ताका माध्यमले फिर्ता ल्याउनुपर्ने उनले जिकिर गरेका छन्। राष्ट्रिय योजना आयोगसँग कांग्रेसले सुदूरपश्चिमबाट थालेको देश विकासको खाका कोरेर जनतालाई आर्थिक रूपमा बलियो बनाउने अभियान ७७ वटै जिल्लामा लगिने उनले बताए। उनले जनताको भावना बुझ्नै कांग्रेसले सोहीअनुसार देशमा विकासको मोडेल तयार गर्ने बताएका छन्।

महरले कार्यक्रममा बिपीको योगदानको चर्चा  गरेका थिए। ०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता–कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए। 

देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यानको बाजी थापेर ४५ वर्षअगाडि आजकै दिन स्वदेश फर्किएको महरले बताए। ०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको ‘कु’पछि कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको महरले बताए। लोकतान्त्रिक राजनीतिमा बिपीको योगदान सबैभन्दा ठूलो रहेको बताउँदै महरले मुलुकले बिपी पदचाप छोड्न नहुने धारणा राखेका थिए।