१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १०:२८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको प्रणाली ह्याक गर्ने असफल प्रयास : ह्याकर इमेल सर्भरमै सीमित, बैंकहरू हाई अलर्टमा

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १०:२८:००
  • गत साउनमा पनि करिब १५ वाणिज्य बैंकको नाम नै किटान गरेर ह्याक गर्ने धम्कीसहित इमेल आएको थियो
  • विश्वव्यापी रूपमा र्‍यान्सम एट्याक (ह्याक गरेर डाटामा अवरोध गर्ने र खुलाउन शुल्क लिने प्रवृत्ति) सन् २०२० को तुलनामा २०२१ को मध्यसम्ममा एक सय ५० प्रतिशतले वृद्धि

बिहीबार बिहान करिब साढे १० बजेतिर कुमारी बैंकलाई प्रणाली ह्याकिङ गर्ने चेतावनीसहितको मेल आएसँगै राष्ट्र बैंकसहित सबै बैंकहरू हाई अलर्टमा बसेका छन् । ह्याक गर्ने चेतावनीसहितको मेल बैंकले प्राप्त गरेसँगै सम्पूर्ण बैंकिङ प्रणाली डाउन गरेर हाई अलर्टमा बसेको कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी प्रमुख अनुज तिमिल्सिनाले बताए । ‘हामीले मेल आएलगत्तै करिब पाँच घन्टा प्रणाली डाउन गरेर चेक गरेका छौँ,’ उनले भने, ‘अहिले कुनै समस्या देखिएको छैन ।’ बैंकमा साउदी ग्रुप अफ कम्पनीको नामबाट मेल आएको तिमिल्सिनाले जानकारी दिए । यद्यपि, यो चेतावनी मात्र भएको आशंका बैंकरहरूले गरेका छन् । 

बैंकहरूमा यस्ता चेतावनी दैनिकजस्तो आइरहने नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । ‘अहिले यस्तो चेतावनी दैनिकजस्तो आउने गरेको देखिन्छ, धेरै यस्ता चेतावनी गम्भीर प्रकृतिका हुँदैनन्,’ उनले भने, ‘नयाँ सिकारुहरूले पनि यस्तो प्रयास गर्छन् वा पुरानैले पनि यस्तो गरिरहेका भने हुन्छन्, तर धेरै यस्ता प्रयासमा मात्रै सीमित हुन्छन् ।’

यद्यपि, सबै बैंकहरूमा यसबारे जानकारी गराइएको र सावधान हुन भनिएको छ । यस्ता इमेल चेतावनीकै रूपमा मात्रै आएको भए पनि सबै बैंक तथा वित्तीय संस्थाहरूलाई हाई अलर्टमा बस्न भनिएको र अहिले राष्ट्र बैंककै प्रणालीको पनि परीक्षण भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । ‘हामीले सबै बैंक तथा वित्तीय संस्थाहरू र आफ्नै (राष्ट्र बैंक)कै समेत प्रणाली जाँच गरिरहेका छौँ,’ उनले भने, ‘डराउनुपर्ने कुनै अवस्था देखिएको छैन, तर सबैलाई हाई अर्लटमा बस्न भनेका छौँ ।’ 

ह्याकरले कुमारी बैंकको इमेलमा भने पहुँच पुर्‍याउन सफल भएको देखिएको छ । ‘उहाँहरूको इमेल कम्प्रमाइज भएको पाइएपछि हाहाकार भएको हो,’ नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले भने, ‘अर्थात्, इमेलले स्वचालित रूपमा प्रतिक्रिया (अटो रेस्पोन्स) दिएको देखिएको थियो ।’ बैंकहरूमा सामान्यतया सबै काम गर्ने विभागहरूको ‘सर्भर जोन’ अलग–अलग हुने भएकाले इमेल सर्भरमा बाहेक अयन्त्र समस्या देखिएन । ‘सो इमेलमा मात्र समस्या देखिएकाले यो सजिलै निराकरण हुनेछ,’ श्रेष्ठले थपे । 

गत साउनमा पनि करिब १५ वाणिज्य बैंकको नाम नै किटान गरेर ह्याक गर्ने धम्कीसहित इमेल आएको थियो । राष्ट्र बैंकका तत्कालीन प्रवक्तालाई फोन सम्पर्कबाट समेत यसरी चेतावनी दिइएको थियो । सो समय पनि बैंकहरू हाई अलर्टमा बसेको भए पनि यो चेतावनीमै सीमित भयो । अन्य मुलुकका बैंकिङ प्रणाली ह्याक गर्न फरक मुलुकमा यस्तो चेतावनी पठाउने गरेको पाइने समेत उपाध्याय बताउँछन् । 

‘यसो गर्दा ध्यान अन्यन्त्र मोड्न सकिने  भएकाले पनि यस्तो गर्ने गरेको पाउँछौँ,’ उपाध्यायले भने । विश्वव्यापी रूपमा ¥यान्सम एट्याक (ह्याक गरेर डाटामा अवरोध गर्ने र खुलाउन शुल्क लिने प्रवृत्ति) सन् २०२० को तुलनामा २०२१ को मध्यसम्ममा एक सय ५० प्रतिशतले बढेको रोयटर्सलगायतका सञ्चारमाध्यमले क्यानेडेली सिग्नल इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै लेखेका छन् । 

विभिन्न मुलुकमा पहिलो चरणमै प्रणालीमा आक्रमण नगरेर लक्षित संस्थाहरूमा प्रयोग हुने कम्प्युटरलगायतमा आक्रमण गर्ने र महिनौँ अध्ययन गरेर प्रणालीलाई लक्षित गर्ने देखिएको यस क्षेत्रका जानकारहरू बताउँछन् । 

नेपालमा यसअघि ०७४ मा एनआइसी एसिया बैंकबाट ह्याकरहरूले करिब ४० करोड स्थानान्तरण गरेर विदेशका ६ बैंकबाट भुक्तानी लिने प्रयास भएको थियो । यसमध्ये करिब १६ करोड स्थानान्तरण भए पनि धेरै रकम फिर्ता ल्याउन सकिएको थियो । भदौ ०७६ मा समेत चिनियाँ ह्याकरहरू नेपालमै आएर एटिएमका माध्यमबाट सात बैंकबाट एक करोड ७५ लाख र भारतबाट सोही समयमा एक करोड भारु झिक्न सफल भएका थिए । तर, नेपालमा चिनियाँ नागरिकको पक्राउसँगै अधिकांश रकम फिर्ता ल्याउन सकिएको थियो ।