१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

चक्रपथको कलंकी–चाबहिल खण्ड नागरिकमैत्री बनाउन माग

कोटेश्वर–कलंकी १० दशमलव ३९ किलोमिटर सडक नागरिकमैत्री नभएको भन्दै जनस्तरबाट गुनासो आउन थालेको छ । पहिलेको चक्रपथमा भएको त्रुटिलाई सुधार गर्दै कलंकीदेखि चाबहिल खण्ड नागरिकमैत्री, अपांगमैत्री, साइकलयात्रीमैत्री चक्रपथ हुनुपर्ने आवाज उठेको छ ।

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५५:oo

चक्रपथको कलंकीदेखि चाबहिल (धोबीखोला)सम्मको ११ दशमलव ६ किलोमिटर खण्ड निर्माण कहिलेदेखि सुरु हुने भन्ने अझै टुंगो छैन । तर, यसअघि नै निर्माण सम्पन्न भइसकेको कोटेश्वर–कलंकी १० दशमलव ३९ किलोमिटर सडक नागरिकमैत्री नभएको भन्दै जनस्तरबाट गुनासो आउन थालेको छ । पहिलेको चक्रपथमा भएको त्रुटिलाई सुधार गर्दै कलंकीदेखि चाबहिलखण्ड नागरिकमैत्री, अपांगमैत्री, साइकलयात्रीमैत्री चक्रपथ हुनुपर्ने माग गरेका छन् ।

अपांगता अधिकारकर्मी अमृता ज्ञवाली तीन वर्षअगाडि निर्माण भएको चक्रपथको खण्ड अपांगमैत्री नभएको भन्दै अब बन्ने खण्ड अपांगमैत्री हुनुपर्ने बताउँछिन् ।‘म ह्विलचियर प्रयोगकर्ता हुँ । मलाई बाहिर निस्किन मन पर्छ । साथीभाइ भेट्न, रमाइलो गर्न मन पर्छ । तर, जुन रूपमा हाम्रा सडक संरचना निर्माण भएका छन्, त्यसले घरबाहिर निस्किनु ठूलो चुनौती भएको छ,’ उनले भनिन्, ‘ह्विलचियर प्रयोगकर्ताका लागि मुख्य सवारी ट्याक्सी नै हो । केही बस छन् । तर, पर्याप्त छैनन् । ह्विलचियर गुडाएर हिँड्नुपर्ने हुन्छ । त्यसका लागि संरचना नै छैन । झन् अहिले त चक्रपथ डरमर्दो भएको छ । अपांगता भएकालाई प्राथमिकता दिनुपर्ने हो, तर त्यसो गरिँदैन ।’ 

सन् २०११ को तथ्यांकअनुसार नेपालमा अपांगता भएकाको संख्या पाँच लाख थियो । अहिले त्यो संख्या चार गुणाले बढेको ज्ञवाली बताउँछिन् । त्यसैले अब चक्रपथको बाँकी खण्ड निर्माण गर्दा अपांगता भएका व्यक्तिले पनि सहज रूपमा प्रयोग गर्न सकिने खालको बनाउनुपर्ने उनले बताइन् । 

साइकल अभियन्ता किशोर श्रेष्ठ चक्रपथ साइकलमैत्री हुनुपर्ने बताउँछन् । साइकलमा यात्रा गर्दा कतै न कतै चक्रपथको भाग भेटिने हुँदा ती भाग साइकलमैत्री हुनुपर्ने उनको भनाइ छ ।
‘पछिल्लो समय सहरमा साइकलयात्रीको संख्या बढेको छ । तर, हाम्रो बाटो साइकलमैत्री छैन । सहरभित्र साइकल सधैँ चढ्नु चुनौतीपूर्ण छ । साइकलमैत्री बनाउने र बनिसकेका बाटो सुधार गर्ने भनेका छौँ । तर, त्यस्तो अवस्था छैन,’ श्रेष्ठले भने, ‘साइकलमा हिँड्ने क्रममा कतै न कतै चक्रपथसँग जोडिने अवस्था आउँछ । तर, हिँड्नु चुनौतीपूर्ण छ ।’ 

सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)का सिनियर आर्किटेक्ट राजेश थापा पहिले निर्माण गरेको चक्रपथखण्ड ज्यानमारा सडक भएको भन्दै अब त्यस्तो नहुन डिजाइन चरणमै सही तरिकाले काम गर्नुपर्ने बताउँछन् । ‘चक्रपथ बन्दा बेस्ट रोड बनेको भन्ने लागेको थियो । तर, हेर्दै जाँदा ज्यानमारा सडक भयो । दुर्घटना उत्तिकै भइरहेका छन्,’ थापाले भने, ‘नेपालमा कस्तो बाटो चाहिन्छ भन्ने नै भएन । नेपालीअनुसारको सडक निर्माण भएन । चीनअनुसारको सडक बन्यो ।’

सोसाइटी अफ ट्रास्पोटेसन इन्जिनियर नेपाल अध्यक्ष पदम शाही चक्रपथ निर्माणबाट केही सिक्नुपर्ने भन्दै सडक बनाउनु भनेको सवारीसाधनलाई मात्र प्राथमिकता दिनु नभएको बताउँछन् । ‘सडक निर्माण गर्दा सवारीलाई मात्र होइन पैदलयात्रु, साइकलयात्री, नागरिकमैत्रीदेखि सबैलाई ध्यान दिएर बनाउनुपर्छ । तर, कलंकी–कोटेश्वर सडकखण्ड त्यसलाई बिर्सिएर बनाएको भन्न सकिन्छ,’ शाही भन्छन्, ‘हाल मर्मत पनि राम्रोसँग भएको छैन । दुर्घटनालाई कम गर्न के गर्ने भन्ने सोच अगाडि बढेको छैन । दुर्घटनाको पछाडि के छ यसलाई तथ्यांकमा राखिएको पनि छैन । छिटोभन्दा पनि सुरक्षित तरिकाले गर्ने हो भने ट्राफिक व्यवस्थापनलाई ध्यान दिनुपर्छ ।’ संरचनाको योजना बनाउँदा सबै किसिमको प्रयोगकर्ताका लागि सडक हुनुपर्ने उनको भनाइ छ ।

किशोर श्रेष्ठ
साइकल अभियन्ता

पछिल्लो समय सहरमा साइकलयात्रीको संख्या बढेको छ । तर, हाम्रो बाटो साइकलमैत्री छैन । सहरभित्र साइकल सधैँ चढ्नु चुनौतीपूर्ण छ । साइकलमैत्री बनाउने र बनिसकेका बाटो सुधार गर्ने भनेका छौँ । तर, त्यस्तो अवस्था छैन ।

राजेश थापा
सिनियर आर्किटेक्ट

चक्रपथ बन्दा बेस्ट रोड बनेको भन्ने लागेको थियो । तर, हेर्दै जाँदा ज्यानमारा सडक भयो । दुर्घटना उत्तिकै भइरहेका छन् । नेपालमा कस्तो बाटो चाहिन्छ भन्ने नै भएन । नेपालअनुसारको सडक निर्माण भएन । चीनअनुसारको सडक बन्यो ।

 पदम शाही
इन्जिनियर

सडक निर्माण गर्दा सवारीलाई मात्र होइन पैदलयात्रु, साइकलयात्री, नागरिकमैत्रीदेखि सबैलाई ध्यान दिएर बनाउनुपर्छ । तर, कलंकी–कोटेश्वर सडकखण्ड त्यसलाई बिर्सिएर बनाएको भन्न सकिन्छ ।

नेपालतर्फको साइट क्लियरेन्सको काम हुँदै 
कलंकी–कोटेश्वर सडकखण्ड १४ माघ ०७५ मा चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । चीनको सांघाई कन्स्ट्रक्सन गु्रपले ०७० देखि चक्रपथ विस्तारको काम अघि बढाएको थियो । कलंकी–कोटेश्वर सडकखण्ड ०७३ माघसम्म निर्माण गर्ने लक्ष्य राखिएको थियो । तर, भूकम्प र नाकाबन्दीका कारण थपिएको समयअनुसार दुई वर्ष ढिला गरी सम्पन्न भयो । चक्रपथको कलंकी–कोटेश्वर सडकखण्ड निर्माणका लागि पाँच अर्ब लागत लागेको थियो । 

काठमाडौं चक्रपथ सडक योजना प्रमुख कुवेर नेपाली भन्छन्–  हामीले नेपाल सरकारको तर्फबाट गर्नुपर्ने पोल हटाउने, जग्गा अधिग्रहण, रूख कटानलगायतको काम लगभग सकाएका छौँ । चीनले कहिलेदेखि काम गर्ने र डिपिआर के हुँदै छ भन्ने जानकारी भएन ।

तीन वर्षअगाडि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको भनिए पनि अझै सार्वजनिक भएको छैन । काठमाडौं चक्रपथ सडक योजना प्रमुख कुवेर नेपाली चिनियाँ पक्षबाट के भइरहेको छ भन्ने जानकारी आफूहरूसँग नभएको भन्दै साइट क्लियरेन्सको काम करिब–करिब सकिएको बताउँछन् । ‘हामीले नेपाल सरकारको तर्फबाट गर्नुपर्ने पोल हटाउने, जग्गा अधिग्रहण, रूख कटानलगायतको काम लगभग सकाएका छौँ,’ उनले भने, ‘चीनले कहिलेदेखि काम गर्ने र डिपिआर के हुँदै छ भन्ने जानकारी भएन ।’ कलंकी–चाबहिल चक्रपथखण्ड पनि पहिलाको जस्तै बन्ने हो वा केही परिवर्तन हुन्छ भन्नेमा अनभिज्ञता प्रकट गरे ।

ad
ad