१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:१४:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

थप आठ बिलेट उद्योगमा करिब १५ अर्ब लगानी हुँदै

सरकारले स्पन्ज आइरनमा कर छुट दिएपछि बिलेट आयात गरेर डन्डी बनाउने उद्योगहरू धमाधम देशभित्रै बिलेट उद्योग खोल्दै । बिलेटको वार्षिक उत्पादन क्षमता साढे १२ लाख टन थपिएर साढे २७ लाख टन पुग्ने

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१४:oo

सरकारले स्पन्ज आइरन आयातमा कर घटाउने र तयारी स्टिल बिलेटमा बढाउने नीति लिएपछि नेपालमा आक्रामक रूपले बिलेट कारखानामा लगानी थपिँदै छ । पछिल्लो समय थप सात उद्योगले बिलेट उत्पादन गर्ने कारखाना स्थापना गर्दै छन् भने एउटा उद्योगले क्षमता बढाउँदै छ । यी उद्योगहरूले बिलेट उत्पादनमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्दै छन् । उद्योग सञ्चालनमा आएपछि नेपालमा बिलेट उत्पादन क्षमता वार्षिक साढे १२ लाख टनले वृद्धि हुँदै छ ।

यसअघि सञ्चालनमा आइसकेका नौवटा बिलेट उद्योगबाट १४ लाख ८६ हजार टन बिलेट उत्पादन भइरहेको छ । नयाँ उद्योगहरू सञ्चालनमा आएपछि उत्पादन क्षमता करिब साढे २७ लाख टन पुग्ने नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए । ‘पहिला सञ्चालनमै रहेका उद्योगहरूको बिलेट उत्पादन क्षमता मुलुकको माग धान्ने स्तरमा थियो, तर स्पन्ज आइरन र बिलेटको भन्सार दर एउटै रहँदा क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भइरहेको थियो,’ उनले भने, ‘अहिले सरकारले देशभित्रै बिलेट उत्पादनमा सहुलियत दिएपछि सञ्चालनमा रहेका उद्योगहरूको क्षमता उपयोग पनि बढिरहेको छ, सँगसँगै नयाँ उद्योगमा लगानी पनि बढिरहेको छ ।’  

यसअघि नौ उद्योगहरूले बिलेट उत्पादन गर्दै आइरहेको न्यौपानेको भनाइ छ । बिलेट उत्पादन गरिरहेका लक्ष्मी, जगदम्बा, अम्बेलगायत उद्योगहरूले क्षमता बढाउन लागेका छन् । सरकारले बिलेटमा कर बढाएपछि विरोधमा उत्रिएका डन्डी उद्योगीहरू पनि अहिले आफैँ देशभित्रै बिलेट उत्पादन गर्न लागेका छन् । नयाँ लगानी हुन लागेका अधिकांश बिलेट उद्योगहरूले सरकारको नीतिअगाडि नै बिलेट उत्पादनको तयारी थालेका थिए । स्वदेशी उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गर्ने सरकारको नीतिसँगै बजारमा प्रतिस्पर्धामा उत्रिन उनीहरूले बिलेट उद्योग स्थापना कार्यलाई तीव्रता दिएका छन् । 

अहिले स्वस्तिक रोलिङ मिल्स, श्री स्टिल्स, जय अम्बे स्टिल्स, हुलास वायर, विजया स्टिल्स, जगदम्बा स्टिल्स, लक्ष्मी स्टिल्स र रिद्धिसिद्धि (समृद्धि मेटालिक्स) स्टिल्सले बिलेट उत्पादन गर्न लागेका छन् । लक्ष्मी र जगदम्बा यसअघि नै बिलेट उत्पादन सुरु गरिसकेका उद्योग हुन्, अहिले क्षमता विस्तारमा लागेका हुन् । यीमध्ये अधिकांश उद्योगहरूले आगामी ६ महिनाभित्र बिलेट उत्पादन सुरु गरिसक्ने संघका अध्यक्ष न्यौपानेले बताए । स्वस्तिक रोलिङ मिल्सले अहिले परीक्षण उत्पादन सुरु गरिसकेको सञ्चालक राजेन्द्र राउतले जानकारी दिए । अम्बे ग्रुपको भैरहवास्थित डन्डी उद्योगमा अहिले पनि बिलेट उत्पादन भइरहेको छ । ग्रुपकै नेपालगन्जस्थित जयअम्बे स्टिल्स उद्योगमा बिलेट उद्योग स्थापना गर्ने काम करिब ८५ प्रतिशत सम्पन्न भइसकेको सञ्चालक हरि न्यौपानेले जानकारी दिए । 

 नीतिमा के छ ?
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत देशभित्र बिलेट उत्पादनलाई प्रोत्साहन गर्न कच्चा पदार्थ (स्पन्ज आइरन) आयातमा भन्सार शून्य गरिदिएका छन् । त्यस्तै, स्वदेशमा उत्पादित बिलेट तथा फलामजन्य वस्तुमा अन्तःशुल्कसमेत खारेज गरिदिएका छन् । तर, आयातीत बिलेटमा भने अन्तःशुल्क बढाएर प्रतिकिलो दुई रुपैयाँ ५० पैसा पुर्‍याएका छन् । बिलेट आयात ५ प्रतिशत भन्सारदर पनि यथावत् छ । प्रतिस्थापन विधेयक आउनुभन्दा अघिसम्म बिलेट र स्पन्ज आइरनमा समान ५ प्रतिशत भन्सार दर थियो । साथै, आयातीत र स्वदेशमा उत्पादित दुवै बिलेटमा समान एक रुपैयाँ ६५ पैसा अन्तःशुल्क लाग्ने गथ्र्यो । सरकारले अहिले भन्सार स्रोतमै अन्तःशुल्क तिनुपर्ने व्यवस्था पनि गरेको छ । नेपालमा करिब २५ उद्योगले टिएमटी डन्डी उत्पादन गर्दै आइरहेका छन् । नेपाल स्टिल बिलेट उत्पादक संघले तीन–चार वर्षदेखि नै स्पन्ज आइरन र बिलेटको भन्सारदर कम्तीमा १० प्रतिशत फरक बनाउन माग गर्दै आइरहेको थियो । 

 नयाँ उद्योगको कति क्षमता ?
वार्षिक एक लाख मेट्रिकटन बिलेट उत्पादन गर्दै आइरहेको लक्ष्मी स्टिल्सले एक अर्ब रुपैयाँ लगानी थपेर ८० हजार मेट्रिकटन क्षमता बढाउँदै छ । उद्योगको मेसिन अर्डर भइसकेको र करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको उद्योगका सञ्चालकसमेत रहेका संघका अध्यक्ष न्यौपानेले बताए । उनले बाराको परवानीपुरमा यसै वर्ष साढे ६ अर्ब रुपैयाँ लगानी गरेर सर्वोत्तम बिलेट उद्योग सञ्चालनमा ल्याइसकेका छन् । सर्वोत्तम स्टिल्सको बिलेट उत्पादन क्षमता वार्षिक तीन लाख मेट्रिकटन रहेको छ ।

अम्बे ग्रुपले नेपालगन्जमा सञ्चालन गरेको जयअम्बे स्टिल्स उद्योगका लागि बिलेट उत्पादन गर्न लागेको छ । ग्रुपका अध्यक्ष हरि न्यौपानेले वार्षिक दुई लाख मेट्रिकटन बिलेट उत्पादन गर्ने उद्योगको काम अन्तिम चरणमा पुर्‍याएको बताए । तीन अर्ब रुपैयाँ लगानी हुने उद्योग अबको दुई–तीन महिनाभित्र सञ्चालनमा आइसक्ने उनको भनाइ छ । अम्बे स्टिल्सको भैरहवा उद्योगमा भने यसअघि नै वार्षिक एक लाख २२ हजार मेट्रिकटन क्षमताको बिलेट उद्योग सञ्चालनमा छ ।जगदम्बा इन्टरप्राइजेजले पर्सामा ठूलो बिलेट उद्योग लगाउँदै छ । करिब साढे दुई अर्ब रुपैयाँ लगानी हुने उद्योगको २० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक अनिल रुंगाटाले बताए । वार्षिक दुई लाख मेट्रिकटन उत्पादन क्षमता रहेको यस उद्योगमा साहिल अग्रवाल, अनिल रुंगाटा र विदेशीको समेत लगानी रहेको छ । रुंगाटाले भने, ‘उद्योगका लागि मेसिन अर्डर भइसकेको छ, छिट्टै काम सकेर उद्योग सञ्चालनमा ल्याउँछौँ ।’

भैरहवाको श्री स्टिल्सले वार्षिक एक लाख ५० हजार मेट्रिकटन क्षमताको बिलेट उद्योग स्थापना गर्दै छ । यो उद्योगको पनि मेसिन अर्डर भइसकेको र साइटमा भवन निर्माणको काम भइरहेको सञ्चालक राजेश अग्रवालले बताए । श्री स्टिल्समा एक अर्ब २५ लाख रुपैयाँ लगानी हुनेछ । लक्ष्मी ग्रुपले पनि नवलपरासीको रामग्राम नगरपालिका–६ मा बिलेट उत्पादन गर्न उद्योग विभागमा समृद्धि मेटालिक्स उद्योग दर्ता गरेको छ । यो ग्रुपले नवलपरासीमा सिद्धिलक्ष्मी स्टिल्स उद्योगबाट ‘समृद्धि’ ब्रान्डमा डन्डी उत्पादन गर्दै आइरहेको छ । स्वदेशमै बिलेट उत्पादन गर्नका लागि ग्रुपले दुई अर्ब ६७ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव उद्योग विभागमा पेस गरेको छ । यो उद्योगको वार्षिक बिलेट उत्पादन क्षमता दुई लाख २२ हजार मेट्रिकटन हुनेछ । ग्रुपले यही मंसिर १४ गते विभागमा विभागमा उद्योग दर्ता गराएको हो । 

विराटनगरको हुलास वायरले पनि बिलेट उत्पादनको तयारी थालेको छ । हुलासले वार्षिक एक लाख १८ हजार मेट्रिकटन क्षमताको बिलेट उद्योग लगाउँदै छ । कृष्णनगरको विजया स्टिल्सले पनि वार्षिक ८० हजार मेट्रिकटन क्षमताको उद्योग लगाइरहेको छ । यी दुबै उद्योगमा एक/एक अर्ब लगानी हुने अनुमान छ । स्वस्तिक रोलिङ मिल्सले बार्षिक २ लाख टन उत्पादन क्षमताको उद्योग स्थापना गरिसकेको छ । करीव ३ अर्ब लगानी रहेको उद्योगबाट अहिले परीक्षण उत्पादन भइरहेको सञ्चालक राजेन्द्र राउतको भनाई छ । उनले भने, ‘हामीले स्पञ्ज आइरन ल्याएर बिलेट बनाई त्यसबाट डन्डी, एङ्गल र च्यानल उत्पादन गर्छौं ।’स्टिल बिलेट उत्पादक संघका अध्यक्ष न्यौपानेका अनुसार एउटा सानो बिलेट उद्योग लगाउन पनि एक अर्ब रुपैयाँ हाराहारी लगानी हुन्छ । बिलेट उद्योगले विद्युत् खपत बढाउनुका साथै आयात प्रतिस्थापनमा पनि ठूलो योगदान गर्नेछ । 

ad
ad