१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ मङ्सिर २९ बुधबार ०८:४६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटनमा व्यवस्थित बन्दै भलामचौर होमस्टे

पछिल्लो समय पर्यटकको प्रमुख गन्तव्य बन्दै भलामचौर

Read Time : > 2 मिनेट
२०७८ मङ्सिर २९ बुधबार ०८:४६:००

गुचुुमुच्च परेको सुन्दर गाउँ । काखैमा रहेको मनास्लु, डा .हर्कपिकलगायत सुन्दर हिमालका दृश्य । झट्ट हेर्दा सार्कभिलेज घलेगाउँकै झल्को दिन्छ, भलामचौरले । पर्यटकीय दृष्टीकोणले सुन्दर भइकन पनि ओझेलमा परेको लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, सिम्पानीको भलामचौर गाउँ भने अहिले पर्यटकको आर्कषण  गन्तव्य बनेको छ ।

पर्यटकीय सम्भावना बोकेको भलामचौरलाई मस्र्याङ्दी गाउँपालिकाले पर्यटकीय गन्तव्यको रूपमा अगाडि सारेको हो । स्थानीयहरु पनि गाउँमा होमस्टे सञ्चालन गरी पर्यटन पर्वद्धन र प्रचारप्रसारमा जुटेका छन । सदरमुकाम बेसीशहर हुँदै खुदीको गोपालडाँडाबाट साँढे पाँच किलोमिटर दूरीमा पुगिने भलामचौर अन्नपूर्ण पदमार्ग र गुरुङ सम्पदा मार्गमा पनि पर्ने भएकाले यसको पर्यटनको सम्भावना निकै बढी छ । पर्यटनको त्यो प्रचुर सम्भावनालाई सम्वृद्धिसँग जोड्न स्थानीयवासी लागि परेका हुन् । पर्यटकीय गाउँको रूपमा विकास भएको भलामचौरका ३० घरमा होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक लुकुमारी गुरुङ बताउँछिन । गाउँ आउने पर्यटकले स्थानीय संस्कृति, प्राकृतिक मनोरम वातावरण र स्थानीय परिकारको मज्जा लिन पाउँछन, गुरुङ भन्छिन, ‘लमजुङको पर्यटनमा भलामचौरले चाँडैनै नयाँ आयाम लिनेमा हामी ढुक्क छौं ।’

मनास्लु, डा. हर्क हिमाल लगायत दर्जनौं हिमशृंखला, नागबेली आकारमा बगेको मर्स्याङ्दी  नदी र मनोरम प्राकृतिक वातावरणले भलामचौर आउने पर्यटक लोभिने उनको भनाई छ । पर्यटकलाई लक्षित गरी गाउँमा शौचालय, बाथरुम, बेडरुम लगायत अत्याधुनिक संरचना पनि बनेको स्थानय तेजबहादुर गुरुङ बताउँछन । एक रातमा कम्तीमा एक सय जना पाहुना राख्न सकिनेछ । प्राकृतिक सुन्दरता र गुरुङ सस्कृतिको खानी भलामचौरको पर्वद्धन गरी पाहुनालाई स्थानीयस्तरमै उत्पादन भएका खानेकुरा मात्रै खुवाउने पर्वद्धकको तयारी छ ।

पर्यटकलाई कुनैपनि सुविधामा कमि नपुर्‍याउने सोचका साथ लागि परेका गाउँलेहरु गाउँ आउने वित्तिकै पर्यटकलाई स्वागत, उनीहरुको इच्छाअनुसारको स्थानीय परिकार, गुरुङ संस्कृतिमा आधारित घाटु, सोरठी कृष्णचरित्र देखाएर मनोरञ्जन पनि दिने गर्छन् । बाइसे –चौबिसे राजाको पाला रहेको गढी पनि गाउँ नजिकै छ । त्यहाँ  रहेको ठुृलो ओढारभित्र जुवा, त्रिपासा खेल्ने ढुंगा, सुन्दरी तलाउ, मान्द्रे ढुंगा र तीन कन्यादेवी मन्दिर, पहराको कलादेवी, सिद्ध मन्दिर पर्यटकका लागि आकर्षण दिने ठाउँ छन् । होमस्टे सुरु नगर्दै पनि फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक भलामचौर पुग्ने गरेका थिए । भलामचौर पुगेका पर्यटकले गाउँमै पालिएका गाई-भैंसीको दूध, घ्यू, दही, रोटी, मकै, कोदोका परिकार, अर्गानिक तरकारी, लोकल रक्सी, लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, निउरो, कुरिलो, बेथेलगायतका अर्गानिक खानाको स्वाद लिने गरेका थिए । 

चार करोड लगानीमा कृषि पर्यटन परियोजना संचालन
भलामचौरमा केही वर्षअघि मात्रै सुरु भएको व्यावसायिक होमस्टे थप व्यवस्थित हुने भएको छ । सिते बा ग्रुपअन्तर्गत एसजी हस्पिटालिटी नामक कम्पनीले कृषि तथा होमस्टे पर्वद्धनका लागि करिब चार करोडको लगानीमा भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजना नै संचालन गरेको हो ।कम्पनीले कृषि तथा पर्यटन पर्वद्धनका लागि करिब एक सय रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर काम सुरु गरेको हो । कम्पनीले स्थानीयसँग सम्झौता गरेसँगै होमस्टे व्यवस्थापन र कृषि उत्पादनका काम सुरु गरिसकेको जनाएको छ ।

 पहिलो वर्ष करिब ५० रोपनी जमिनमा ९० वटा टनेल निर्माण गरी तरकारी उत्पादनसमेत सुरु भइसकेको कम्पनीका पर्वद्धक नविनराज कुइँकेलले बताए । गाउँमा आउने पर्यटक लक्षित अर्गानिक तरकारीमात्रै नभई धान कोदो, कुखुरासमेतको व्यवसायिक उत्पादन गरी गाउँमा आएका पाहुनालाई गाउँकै स्वादमा रमाउने गरी पर्यटन व्यवसाय संचालन सुरु गरिएको पर्वद्धकहरूले बताएका छन् । 

कृषि उत्पादन र होमस्टे व्यवसायसँगै स्थानीयलाई कम्पनीले रोजगारी दिएको छ । रोजगारी नपाएर गाउँमै बेरोजगार बसेका पनि परियोजना संचालन भएसँगै रोगजार पाएको भलामचौर मिर्चे नमुना कृषि पर्यटन परियोजनाका उपाध्यक्ष कृष्ण न्यौपानेले बताए । भलामचौरमा सुुरु भएको व्यवस्थित होमस्टे र नमुना कृषि उत्पादनले स्थानीय मात्र नभई जिल्लाकै पर्यटन पर्वद्धनमा ठूलो टेवा पुग्ने स्थानीयको विश्वास छ ।