१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गत ७ चैतमा रिहा भएका तिम्सिना कोलकाताको दमदमस्थित सेन्ट्रल करेक्सनल होम परिसरमा । फाइल तस्बिर
चिरञ्जीवी घिमिरे नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

४१ वर्ष अनाहकमै भारतीय जेलमा थुनिएका दुर्गाप्रसादले पाँच लाख भारु क्षतिपूर्ति पाउने

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५१:oo

तत्काल क्षतिपूर्ति रकम दिन पश्चिम बंगाल सरकारलाई कोलकाता उच्च अदालतको आदेश

विनाकसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गत चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई तत्काल भारु पाँच लाख (आठ लाख रुपैयाँ) क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख जम्मा गर्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो । 

‘आदेश दिएको मितिले ६ हप्ताभित्र दीपक जोशीको खातामा बंगाल सरकारले रकम जम्मा गर्नुपर्नेछ,’ आदेशमा भनिएको छ । उक्त क्षतिपूर्ति महावाणिज्य दूतावासको समन्वयमा दिइने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले बताए । 

‘सकेसम्म दुर्गाप्रसादकै खतामा पठाइनेछ । भएन भने पनि आमा वा नजिकको आफन्तको खातामा पठाइनेछ । यसका लागि हामी समन्वय गर्न तयार छौँ,’ पौडेलले भने । यो आदेशले तिम्सिनाको मुद्दामा सकारात्मक सन्देश दिएको उनको बुझाइ छ । ‘अदालतको यो आदेश न्यायाधीशको सामान्य विवेकले गरेको देखिन्छ । यसले थप क्षतिपूर्तिका लागि सकारात्मक सन्देश दिएको छ,’ उनले भने ।

तिम्सिनाले क्षतिपूर्तिका लागि गर्ने अन्य प्रक्रियामा अदालतको यो आदेशले असर नगर्ने पनि पौडेलले बताए । ‘उच्च अदालतले दमदम सेन्ट्रल जेलका अधिकारीसँग पनि रिपोर्ट लिएछ । अहिलेलाई पाँच लाख क्षतिपूर्ति दिन मिल्छ भन्ने सुझाव आएपछि अदालतले यो आदेश दिएको हो,’ उनले भने, ‘यसले अन्य क्षतिपूर्तिका लागि दीपक जैसीले गर्ने कुनै प्रक्रियामा बाधा गर्दैन । मैले यो मुद्दामा निःशुल्क सहयोग गर्ने वकिल हिरक सिन्हासँग पनि समन्वय गरेको छु । थप क्षतिपूर्तिका लागि भारतीय र अन्तर्राष्ट्रिय कानुनअनुसार प्रक्रिया अघि बढाउनेछौँ । यसका लागि महावाणिज्य दूतावासले समन्वय गर्नेछ ।’ 

अनाहकमा जेलमा राखिएकै कारण मानसिक रोगी बनेका तिम्सिनाको औषधोपचारमा समस्या पर्दै आएको थियो । अदालतको आदेशले परिवारलाई राहत महसुस भएको छ । ‘कोलकाता उच्च अदालतको यो आदेशले हामीलाई खुसी बनाएको छ । अब क्षतिपूर्तिका लागि थप कदम चाल्न बाटो खोलिदिएको छ,’ भतिजा गोपाल भन्छन्, ‘हामी सबैको सहयोगमा क्षतिपूर्तिका लागि मागदाबी गर्छौँ ।’ 

दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा विनाकसुर जेल परेका तिम्सिनाले सुनुवाइविना नै ४१ वर्ष भारतीय जेलमा बिताएका थिए । अभियोग नै पुष्टि नभई जेलमा राखिएका दुर्गाप्रसादको मानसिक अवस्था ठीक नभएको भन्दै गत चैतमा जेलबाट छाड्न कोलकाता उच्च अदालतले आदेश दिएको थियो । आदेशपछि उनी दमदमस्थित सेन्ट्रल करेक्सनल होमबाट ७ चैतमा रिहा भएका थिए ।

अदालतले ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउने सर्तसहित छाड्न आदेश दिएको थियो । उनको अवस्थाबारे उच्च अदालतलाई महावाणिज्यदूतको कार्यालयले जानकारी गराउँदै आएको छ । रिहा भएलगत्तै उच्च अदालत कोलकाताले तिम्सिनाले मागेमा क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारको नाममा आदेश दिएको थियो । यद्यपि, उक्त आदेशमा कति क्षतिपूर्ति दिने भन्ने उल्लेख थिएन । 

घर फर्किएपछि उनी केही महिना परिवारसँगै बसे पनि कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भयो । सुरुवातमा प्रदेश १ सरकारले निःशुल्क उपचार गरिदिए पनि फलोअप नगर्दा स्वास्थ्य बिग्रिन थाल्यो । घरै छाडेर बाहिर हिँड्न थालेपछि परिवारले हाल उनलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखेको छ ।

ad
ad