१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दमकमा बन्दै गरेको भ्यू टावरको भित्री कथा : पहिला जग्गा खरिद, पछि भ्यू टावरलाई दान अनि प्लटिङ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३८:oo

झापाको दमक–३ स्थित टुकुरेमा बन्दै गरेको १८ तले भ्यू टावरका जग्गादाता पाँचजना छन्। ती हुन्– केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं। उनीहरू र केही ऐलानी गरी भ्यू टावरका लागि ०७३ मा चार बिघा १८ कठ्ठा साढे सात धुर जग्गा प्राप्त भएको थियो।

यी पाँचजनाले भ्यू टावरलाई दिएको जग्गा उनीहरूको पुर्ख्यौली वा पुरानो जग्गा हैन। एक वर्षअघि स्थानीयबाट जग्गा सस्तोमा किनेर उनीहरूले भ्यू टावरलाई दान गरेका हुन्। यी पाँचजना घर जग्गा कारोबारी हुन्। उनीहरूको ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ छ। जसले घरजग्गाको कारोबार गर्छ। जसको सम्पर्क कार्यालय भ्यू टावरदेखि ठीकअघि छ। यो हाउजिङ प्रालिको मुख्य कार्यालय दमक–५ मा छ। तर, सञ्चालकले भ्यू टावरअघि सम्पर्क कार्यालय खोलेर जग्गाको विज्ञापन सुरु गरिसकेका छन्। यद्यपि, दमक नगरपालिकाले भ्यू टावर वरिपरि पाँच सय मिटर क्षेत्रमा प्लानिङ नगरी बेच्न नपाउने भनेका कारण बिक्री गर्न भने पाएका छैनन्। 

भ्यू टावरका लागि जग्गा दिनुभन्दा एक वर्षअघि हाउजिङ प्रालि र यसका पाँच सञ्चालकले भ्यू टावरवरिपरि जग्गा खरिद गरेका थिए। उनीहरूले त्यहाँका स्थानीयको करिब १२ बिघा जग्गा सस्तोमा खरिद गरेका थिए। १२ बिघामध्येबाट भ्यू टावरका लागि ४ विघा १८ कठ्ठा साढे सात धुर जग्गा उनीहरू आफैँले दिएको हाउजिङका सञ्चालक टंकप्रसाद सिटौलाले बताए। ‘१२ बिघामध्ये भ्यू टावरका लागि दिएको जग्गाबाट उभ्रिएको जग्गा केही हाउजिङ र केही हामी सञ्चालकको नाममा छ,’ उनले भने, ‘तर, यो हाम्रो संयुक्त हो।’ स्थानीयबाट सस्तोमा किनेको जग्गा उनीहरूले दमक नगरपालिकालाई दान गरेर जग्गाको मूल्य बढाउन खोजेको प्रस्ट हुन्छ। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले विगतदेखि नै त्यही ठाउँमा भ्यू टावर बनाउने योजना रहेको सुनाए। जसले कतै जग्गा कारोबारमा संलग्नकै योजनाअनुसार भ्यू टावरको योजना आएको त हैन भन्ने शंका उत्पन्न भएको छ। किनकि प्लटिङ व्यवसायीले दमकको ग्रामीण ठाउँमा रहेको खेतीयोग्य यो जग्गा भ्यू टावरलाई दान गर्नभन्दा एक वर्षअघि मात्र खरिद गरेका थिए। 

तत्कालीन दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहाल (जो ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए) ले जग्गा मागेका कारण आफूहरूले उपलब्ध गराएको बताउँछन्, हाउजिङका सञ्चालक सिटौला। ‘हामीले त फन पार्क निर्माणका लागि भनेर किनेको जग्गा हो, यो। पछि युवराज दाहाल सरले भ्यू टावर निर्माण गर्ने जग्गा दान गर्नु भनेपछि हामीले गरेका हौँ,’ सिटौला भन्छन्, ‘हामीले जग्गा खरिद गरेको ठाउँमा विकास आउने भएपछि तीन बिघा जग्गा दिने भयौँ। तर, पछि फेरि जग्गा अपुग भयो भनेपछि दुई बिघा जग्गा थप गरिदियौँ। यो जग्गा नगरपालिकाले अरूबाट मागेर फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।’ 

जग्गा कारोबारीले त्यस क्षेत्रको खेतीयोग्य जग्गा तत्कालीन समयमा प्रतिकठ्ठा अढाई लाखदेखि तीन लाखसम्म लगाएर किनेका थिए। तर, अहिले त्यहाँको जग्गाको मूल्य प्रतिधुर नै तीन लाखदेखि पाँच लाखसम्म पुगेको स्थानीय बताउँछन्। भ्यू टावर वरिपरि जग्गा किनेर प्लटिङको योजना बनाउँदै कार्यालय खोल्नेले जग्गाको मूल्य बढाउन ल्याएको योजना हुन सक्ने उनीहरू बताउँछन्। उनीहरूले कार्यालय खोले पनि बिक्री भने सुरु गरेका छैनन्। ‘नगरपालिकाले ल्यान्ड पुलिङ गर्ने भनेको छ। त्यहाँ मात्र हैन वरिपरि ५०/६० बिघामा नयाँ सहरको योजना ल्याउने भनेको छ। नगर विकासले गर्छ कि सहरी विकासले गर्छ थाहा छैन। त्यो गरेपछि मात्र बेच्ने भन्नेछ,’ सिटौलाले भने, ‘अहिले बेचौँला भोलि बाटो बढ्यो भने कहाँ लाने ? भोलि प्लानिङ भएपछि मात्र बेच्ने भन्ने कुरा हो।’

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक ०७२ मा प्रधानमन्त्री हुँदा भ्यू टावर निर्माणको सोच अघि सारेका थिए। त्यसपछि जग्गा व्यवस्थापनलगायतका कारण उक्त समयमा भ्यू टावर निर्माणको प्रक्रिया अघि बढ्न सकेन। प्रधानमन्त्री ओलीले दमकमा भ्यू टावर बनाउने उद्घोष गरेपछि जग्गाको खोजी सुरु भयो। दमक–३ को टुकुरे क्षेत्रलाई नगरपालिकाले भ्यू टावर निर्माणका लागि उपयुक्त ठहर्‍याएपछि जग्गा कारोबारी सल्बलाएका थिए। कारोबारी आफैँले पछि जग्गा दान पनि गरे। ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि भ्यू टावर निर्माण प्रक्रिया अघि बढेको हो। एक सय मिटर उचाइको १८ तले भ्यू टावरमा अहिले आठ तलाको काम भइरहेको छ। २७ पुस २०७८ मा सम्पन्न गर्नुपर्ने भ्यू टावरको काम भने ५० प्रतिशत मात्र भएको सघन सहरी तथा भवन निर्माण कार्यालय झापाले जनाएको छ। टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए। यो भ्यू टावर व्यापारिक प्रयोजनसहितको हुनेछ। 

दुई बिघा जग्गा फर्काइदिने नगरपालिकाको प्रतिबद्धता
जग्गा कारोबारीले भ्यू टावरलाई दिएको ४ बिघा १८ कठ्ठा साढे सात धुर जग्गाबाट दुई बिघा जग्गा फर्काउने नगरपालिकाले प्रतिबद्धता गरेपछि जग्गा दान गरेका थिए। भ्यू टावरलाई दिएको जग्गामध्ये करिब १२ कठ्ठा ऐलानी जग्गा पनि पर्छ। जुन भ्यू टावरलाई नि:शुल्क आएको हो। स्थानीयको सस्तोमा जग्गा किनेर महँगो बनाउने जग्गा व्यवसायीलाई नगरपालिकाले कागजी प्रतिबद्धता जनाएर जग्गा फिर्ता गर्ने सुनिश्चितता गरेको हो। 
उनीहरूले दिएको करिब चार बिघा ६ कठ्ठामध्ये दुई बिघा फिर्ता गर्नुपर्ने गरी नगरपालिकाले लिखित प्रतिबद्धता जनाएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए। ‘सुरुमा स्थानीयले भ्यू टावर आउँछ भनेर पत्याएनन्। जग्गा दिन नमानेपछि सबै उहाँहरूबाट ल्यायौँ,’ उनले भने, ‘अब स्थानीयबाट मागेर उहाँहरूलाई फिर्ता गर्नुपर्नेछ। भ्यू टावर आसपासको जग्गा स्थानीयलाई मागेर एक बिघा फिर्ता भएको छ। बाँकी एक बिघा गर्नुपर्नेछ।’

स्थानीयलाई झुक्याइएर किनिएको थियो जग्गा
दमक–३ का रमेश पौडेलले ०७२ सालमा दुई बिघा १३ कठ्ठा जग्गा बिक्री गरे। उनले कठ्ठाका तीन लाख रुपैयाँले जग्गा बेचेका थिए। जहाँ उनले बचेको जग्गा छ, अहिले त्यही भ्यू टावर ठडिएको छ। जग्गा कारोबारीले उनीसँग ढाँटेर जग्गा किनेको उनी बताउँछन्।
‘त्यो वेला कृषि फर्म खोल्ने भनेर जग्गा किनेका हुन्। हाताहाती पैसा दिने भने। हामीले पनि अलिक धेरै आउने ठाउँमा किन्ने भनेर बेच्यौँ,’ उनी भन्छन्, ‘अहिले त यहाँ सबैभन्दा तल पनि कठ्ठाको ५० लाखमा बिक्री वितरण हुन्छ। हामीलाई ढाँटेर भ्यू टावर पो ल्याए। उनीहरूको योजना यही भएको भए त भनेको भए हुने नि !’ 

दमक–३ दाँपगाछीकी रूका ढकालको परिवारको १५ कठ्ठा जग्गा पनि केवलीप्रसाद खरेलले बिक्री गरेका थिए। रूकाका श्रीमान गोपालको नाममा रहेको उक्त जग्गा प्रतिकठ्ठा तीन लाखले बिक्री गरेका थिए। अहिले भ्यू टावरको गेटैमा उनको जग्गा छ। अहिले त्यहाँ प्रतिधुर पाँच लाखसम्म भनिरहेको रूका बताउँछिन्। अहिले उनीहरू त्यहाँ करिब दुई कठ्ठामा मात्र बसोबास गरिरहेका छन्। ‘सीधा मान्छेलाई ढाँटेर जग्गा किने। ०७२ मा हामीले जग्गा बेचेका हौँ। हामीसँग जग्गा किन्दा भूकम्पले काठमाडौँबाट विस्तापित भएका आएर बस्ने। कृषि फर्म चलाउने भने,’ उनी भन्छिन्, ‘वरिपरिको जग्गा पनि किनेको छ भने पनि हाम्रो जग्गा बीचमा पर्ने भयो भनेर बेच्यौँ। पछि त भ्यू टावर पो आयो। नढाँटेको भए त हुने नि !’

जग्गा कारोबारीले त्यसक्षेत्रमा जग्गा खरिद गर्दा स्थानीलाई कृषि फर्म ल्याउने, अरू प्रयोजनमा जग्गा प्रयोग गर्ने आश्वासन दिएको स्थानीय बताउँछन्।’ दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली भने खुसीले बेचिसकेको जग्गामा अहिले झुक्याएको भन्न नमिल्ने बताउँछन्। ‘हामीले अगाडिदेखि नै त्यहीँ भ्यू टावर बनाउने भनेर जग्गाको खोजी गरिरहेका थियौँ। स्थानीयलाई पनि जानकारी गराएका थियौँ। कुन ढंगले किनबेच भयो हामीलाई थाहा छैन,’ उनी भन्छन्, ‘खुसीले बेचिसकेको जग्गामा भाउ बढेपछि त्यसो भन्न त पाइएन नि !’

भ्यू टावरबाहेक छैन विकास
गाउँमा धमाधम भ्यू टावर बन्दै छ। कोरोना महामारीको समयमा देश लकडाउनमा हुँदा पनि भ्यू टावर धमाधम बन्यो। तर, अरू विकास भने शून्य छ। न गाउँमा खाने पानी छ, न त सडक नै। ‘हामी त ट्युबेलको पानी खान्छौँ। भ्यू टावर वरिपरि त बाटो पिच भएको छैन,’ रूका भन्छिन्, ‘भ्यू टावर बन्न थालेपछि गाउँमा ट्रिपर र गाडी आए। कच्ची बाटोका कारण विकास हैन धुलोचाहिँ आयो।’

भ्यू टावरको सट्टा गाउँमा कृषि उत्पादन केन्द्र, कृषि क्याम्पस, अस्पताल आएको भए स्थानीयलाई सुविधा हुने रमेश बताउँछन्। ‘यो त कृषि क्षेत्र हो। यहाँ कृषि फर्महरू। कृषि कलेजहरू आए हामीलाई धेरै राम्रो हुने थियो। अस्पताल आएको भए उपचारका लागि बाहिर त जानुपर्ने थिएन,’ उनी भन्छन्, ‘तर, भ्यू टावर आयो। यसको त खासै काम के होला र ? बरू यहाँ के के बनाउने भनेर यहाँका स्थानीयलाई पो उठिवास् लगाउने हुन् कि !’

भ्यू टावरवरिपरि जग्गा व्यापार गर्न यस्ता छन् नगरपालिकाको मापदण्ड
भ्यू टावरको चारैतर्फ पाँच सय मिटर क्षेत्रमा जग्गा बिक्री वितरणमा नगरपालिकाले रोक लगाएको छ। ‘पाँच सय मिटर आसपासमा प्लानिङ नगरी बेच्न नपाउने भनरे रोकेका छौँ,’ ओलीले भने, ‘जनताले दिएमा हामी ल्यान्ड पुलिङअन्तर्गत गर्छौँ एक/दुई चरणमा छलफल भयो। जनताले ल्यान्ड पुलिङको अनुमति दिएका छैनन्।’ यस्तै, यहाँ बिक्री वितरण गर्दा अनिवार्य मापदण्डको पालना गर्नुपर्ने नगरप्रमुख ओली बताउँछन्। ‘जग्गा सात धुरभन्दा तलको हुनु भएन, ३२ फुट मुख, २० फुट बाटो, ५ प्रतिशत खुला क्षेत्र, बिजुलीको पोल अनिवार्य हुनुपर्छ,’ उनी भन्छन्। 


 
 

ad
ad