मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०८:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुधार नहुँदै नेप्से सूचकमा पुन: पहिरो, आशावादी रहेका लगानीकर्ता निराश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार ०८:३३:००

साताको अन्तिम कारोबार बिहीबार नेप्से सूचकमा पुनः पहिरो गएको छ । बुधबार सामान्य बढेपछि आशावादी रहेका लगानीकर्ता निराश बन्न पुगेका छन् । मौद्रिक नीतिको समीक्षापछि बजार सकारात्मक हुन सकेको छैन भने लगानीका लागि बैंकहरूले सेयर कर्जामा संकुचन कायमै राखेको अवस्था छ । नेप्से सूचक घटेर दुई हजार चार सयनजिक पुगेको छ । लगानीकर्ता मंसिर र पुस महिनालाई बजारले करेक्सन लिने महिनाका रूपमा व्याख्या गर्छन् । मौद्रिक नीतिको समीक्षापछि घटेको बजारमा बुधबार मात्र केही सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेको थिएन । कारोबार रकममा सुधार आउन नसक्दा नै बजारप्रति लगानीकर्ताको मनोबल गिरेको छ ।

बिहीबार नेप्से सूचक ४९ अंकले घटेर दुई हजार पाँच सय ८४ दशमलव ६१ बिन्दुमा पुगेको छ ।  घटेको बजारमा एक सय ७७ वटा कम्पनीका सूचक घटेका छन् भने २२ वटा कम्पनीका सूचक मात्र बढेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको ६ दशमलव ८० प्रतिशत, मैलुङ खोला जलविद्युत् कम्पनीको ६ दशमलव ७५ प्रतिशत, श्री इन्भेस्टमेन्ट फाइनान्सको ५ दशमलव ४१ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, गुडविल फाइनान्स, रिलायन्स फाइनान्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर ५ प्रतिशतभन्दा बढीले घटेका छन् ।

कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये सर्वाधिक विकास बैंक र फाइनान्सका समूहको सूचक घट्दा यी समूहका लगानीकर्ता निराश बन्न पुगेका छन् । माइक्रो फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा वित्त समूहको सूचकमा सामान्य गिरावट आएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४६ अंकले घटेको छ ।

दुई कम्पनीको सेयरमा लगातार सर्किट 
दुई कम्पनीको सेयर लगातार सर्किट मूल्यमा बढेर कारोबार भएको छ । सामलिङ पावर कम्पनी र ङादी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, सबैको लघुवित्त वित्तीय संस्था, एनएमबि बैंकको सेयर मूल्य सर्वाधिक बढेको छ । 

कारोबार रकममा सुधार
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३१ कम्पनीको ७९ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ४१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर, नेपाल दूरसञ्चार प्राधिकरण, नबिल बैंकको सेयर ११ करोड रुपैयाँदेखि नौ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।