मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार ०६:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन दिनपछि सेयर बजार सामान्य बढ्यो : कारोबार रकम १२ महिनापछिकै सुस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १६ बिहीबार ०६:२८:००

लगातार तीन दिन घटेको सेयर बजारमा कारोबारको चौथो दिन बुधबार भने झिनो अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक ५ दशमलव २८ अंकले बढेर दुई हजार ६ सय ३३ दशमलव ६६ बिन्दुमा पुगेको छ । नेप्से सूचक सकारात्मक भए पनि कारोबार रकम भने १२ महिनायताकै कम भएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको ५३ लाख कित्ता/इकाइ सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ७४ करोड २० लाख रुपैयाँको किनबेच भएको छ ।

यसअघि ७ कात्तिक २०७७ मा दुई अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । सो दिन सर्वाधिक सेयर खरिद–बिक्री हुने कम्पनीमा नेपाल दूरसञ्चार प्राधिकरणको १४ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । महिला लघुवित्त वित्तीय संस्था, नेसनल हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंकको नौ करोड रुपैयाँदेखि सात करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

सेयर खरिद–बिक्री रकम घट्नुमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका देखिन्छन् । बजारको अवस्थालाई बुझेर मात्र बजार प्रवेश गर्ने हुँदा लगानीकर्ता सेयर किन्ने र हतारिएर सेयर बेचिहाल्ने पक्षमा देखिएका छैनन् । केही कम्पनीहरूको अझै पनि लाभांश प्रस्ताव गर्ने क्रम जारी रहेको छ । 

दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार 
सामान्य अंकले बढेको नेप्सेमा दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । सामालिङ पावर कम्पनी, न्यादी पावर कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । कर्पोरेट डेभलपमेन्टको ९ दशमलव ३९ प्रतिशत, समृद्धि फाइनान्स कम्पनी ७ दशमलव ७३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ७ दशमलव ३९ प्रतिशतले बढेको छ ।

 लगातार पछिल्लो दुई हप्ता बढिरहेको आइसिएफसी फाइनान्स कम्पनीको सेयर ५ दशमलव ६२ प्रतिशतले घटेको छ । युनाइटेड इस्योरेन्स, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, हिमाल दोलखा हाइड्रोपावरको तीनदेखि दुई प्रतिशतले गिरावट आएको छ ।

सेयर गतिविधि 
-नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)ले २०७७/०७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । आठ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई राष्ट्र बैंकले अनुमोदन गरेपछि साधारणसभाबाट पारित भई सेयरधनीहरूले प्राप्त गर्नेछन् ।
-इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको कार्यकारी अधिकृतमा लीलामणि न्यौपानेलाई नियुक्त गरिएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई चार वर्षको करार अवधिका लागि नियुक्त 
गरेको हो ।
-आरएमडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश गरी सेयरधनीहरूलाई छुट्याएको छ ।