मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ११ शनिबार ०७:१५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो जितसँगै युएईमाथि नेपालको दबाब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ११ शनिबार ०७:१५:००

लगातार तेस्रो जितपछि पनि नेपाल अंकतालिकाको दोस्रो स्थानमै छ, तर शीर्ष स्थानमा रहेको युएईमाथि दबाब बढाएको छ, छनोट खेलमा अपराजित आयोजक युएईले कुवेतलाई सात विकेटले हराउँदै रनरेटमा सुधार गरेको छ

आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसियन छनोट प्रतियोगितामा नेपाली महिला टोलीले लगातार तेस्रो जित हात पारेको छ । नेपालले शुक्रबार मलेसियालाई ६ विकेटले हराएको हो । जितसँगै नेपाल अंकतालिकाको दोस्रो स्थानमा यथावत् नै छ । नेपालले चार खेलबाट ६ अंक जोडेको छ । नेपालले ग्लोबल छनोट आशा कायमै राखेको छ । आयोजक युएईले चारै खेलमा शतप्रतिशत जित निकाली शीर्ष स्थान बलियो बनाएको छ । युएईको आठ अंक छ । एसियन छनोट प्रतियोगिताकोे शीर्ष स्थानमा रहने टोली ग्लोबल खेलमा पुग्ने प्रावधान छ । 

युएईको आइसिसिए २ मैदानमा मलेसियाले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर ९२ रनको मध्यम योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपालले १८.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन जोड्दै जित हात पा¥यो । यसअघि नेपालले भुटान र कुवेतमाथि फराकिलो अन्तरले पाखा लगाएको थियो । नेपालको जितमा सीता रानामगरले अलराउन्डर प्रदर्शन गरेकी थिइन् । उनले ब्याटिङको क्रममा ३८ बलमा ३० रन तथा बलिङमा १६ रन खर्चेर एक विकेट हात पारिन् । 

दोस्रो विकेटको बलियो साझेदारी
पछिल्लो समय नेपालले ओपनिङ परिवर्तन गरिरहेको छ । कुवेतविरुद्ध कप्तान रुविना क्षेत्री र इन्दु बर्माले ओपनिङमा आएका थिए । यसपटक मलेसियाविरुद्ध इन्दु र सीताले सुरुवातमै ब्याटिङ गरेका थिए । दुवैले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । इन्दुले आठ बल सामना गरी चार मात्र जोडिन् । त्यसपछि सीताले कप्तान रुविनासँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपाललाई ६४–२ को स्थितिमा राखिन् । क्रिजमा सेट हुने क्रममा रुविना रन आउट भइन् । उनले २९ बलमा २० रन जोडिन् । 

रुविना आउट भएको चार रनपछि नै सीताले पनि आफ्नो विकेट गुमाउन पुगिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरेकी थिइन् । सरिता मगर र कविता कुँवरले त्यसपछि नेपालको ब्याटिङ इनिङ्स सम्हाले । दुवैले चौथो विकेटका लागि २२ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्‍याए ।

कविता इनिङ्सको १७.४ ओभरमा पेभेलियन फर्किइन् । उनले १६ बलमा १० रन बनाइन् । इनिङ्समा सरिता नटआउट रहँदै १७ बलमा १५ रनको योगदान दिइन् । नेपालले अतिरिक्त रूपमा १३ रन पाएको थियो । 

नेपालको कसिलो बलिङ
मलेसियाले मध्य योगफल खडा गर्नु पछाडि नेपालका बलरले उत्कृष्ट बलिङ गरेका थिए । सवनम राईले २७ खर्चेर दुई विकेट हात पारिन् । उनले एक मेडन ओभर पनि फय फ्याँकिन् । यसैगरी रुविनाले नौ रन खर्चेर एक विकेट लिइन् । मलेसियाको सुरुवात निकै कमजोर रह्यो । इनिङ्सको छैटौँ बलमै कप्तान वारिफ्रेड शून्य रनमा आउट भइन् । इलास हन्टर र युश्रीनाले तेस्रो विकेटका लागि २४ रनको साझेदारी गरिन् । सवनामले युश्रीनालाई बोल्ड गरिन् । युश्रीनाले २५ बलमा दुई चौकाको सहयोगमा १२ रन बनाइन् । रुविनाले रन आउट गरिन् । हन्टरले ४८ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ३९ रनको योगदान दिइन् । मध्यक्रमकी ब्याट्सम्यान मास इल्सायले २१ बलमा १४ रन बनाइन् । त्यसपछिका चार ब्याट्सम्यानले दश मात्र बनाए । नेपालले अतिरिक्त रूपमा १६ रन दिएको थियो । 

कुवेतमाथि युएईको सानदार जित
प्रतियोगितामा अपराजित रहेको एक मात्र टोली युएईले शुक्रबार कुवेतमाथि सात विकेटको जित निकालेको छ । युएईले ८४ बलअघि नै सफलता प्राप्त गरेको हो । पहिलो ब्याटिङ गरेको कुवेतले २० ओभरमा पाँच विकेट गुमाएर ७६ रन जोड्यो । प्रत्युत्तरमा युएईले ६ ओभरमा तीन विकेटको क्षतिमा ७७ रन जोड्दै रनरेट पनि सुधार ग¥यो । युएईको जितमा काभिसाले १३ बलमा ६ चौकाको सहयोगमा ३३ रनको योगदान दिइन् । 

युएईको जितमा इसा ओजा र काभिसाले उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवैले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । ओजाले केबल १३ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाइन् । यसअघिको ब्याटिङमा मायम ओमारले नटआउट रहँदै ३७ बलमा ३१ रन बनाइन् ।