१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
चितवनको नारायणी नदी किनारमा एमालेको १०औँ महाधिवेशन उद्घाटनका लागि तयार पारिएको मञ्च । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:५२:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

यसरी हुँदै छ एमालेको दशाैँ महाधिवेशन

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:५२:oo

नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन, सौराहाको सेभेन स्टार होटेलमा बन्दसत्र, पाँच हजार स्वयंसेवक परिचालन, १३ ठाउँमा पार्किङको व्यवस्था

एमालेको १०औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । १० देखि १२ मंसिरसम्म हुने महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधि चितवनको सौराह आइपुगेका छन् । उद्घाटनअघि देशभरबाट उपस्थित भएका सहभागीको विभिन्न स्थानबाट र्‍यालीसहित नारायणी किनारमा बनाइएको कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायत स्थानबाट निस्किएका र्‍यालीहरू एकसाथ कार्यक्रमस्थलमा प्रवेश गर्ने तयारी भएको छ ।

मूल व्यवस्थापन समितिका सहसंयोजक पाण्डेले सुरक्षा व्यवस्थालगायत तयारी पनि सम्पन्न भएको बताए । सुरक्षाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको संख्यासमेत बढाइएको छ । जिल्ला प्रहरी र केन्द्रबाट एआइजी सहकुल थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिनेछ । गण्डकी र बागमती प्रदेशका डिआइजीहरू सुरक्षा व्यवस्थाका लागि चितवनमा नै खटिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि एआइजीकै नेतृत्वमा सुरक्षा अधिकारीहरू चितवनमा खटिएको केन्द्रीय महाधिवेशन व्यवस्थापन समिति सहसंयोजक पाण्डेले बताए । 

महाधिवेशनका लागि आउने सवारीसाधनको सहजताका लागि अन्य ठूला गाडीलाई ५ बजेसम्म रोक्ने व्यवस्था गरिएको छ । त्यसको समन्वय गर्न ट्राफिक प्रहरीलाई अनुरोध गरिएको छ । चितवन पुगेका सहभागीका सवारीसाधन पार्किङका लागि १३ वटा स्थानमा व्यवस्था गरिएको छ । ठाउँ–ठाउँमा गाडी बिग्रिएको खण्डमा व्यवस्थापन गर्न क्रेनको व्यवस्थासमेत गरिएको छ । सहभागीको स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर दमकल, एम्बुलेन्सको व्यवस्था गरिएको छ । नजिकै नदी भएकाले हुन सक्ने दुर्घटनालाई मध्यनजर गरेर उद्धारका लागि मोटरबोटहरू तयारी हालतमा राखिएका छन् । 

अतिथि को–को आउँदै छन् ?
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य सातवटा पार्टीका प्रमुख नेताहरू आउने निश्चित भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कार्यक्रममा सभागी हुनेछैनन् । उनले पार्टीका अरू नै नेतालाई पठाउने भने पनि को आउने भन्ने निश्चित भएको छैन । त्यसबाहेक जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् । 

योगेश भट्टराई, सचिव, एमाले

पार्टीका सदस्यबाट उठाइएको आन्तरिक लेबी र सहयोगका आधारमा रकम खर्च गरेर महाधिवेशन गर्न लागेका छौँ । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् । 

त्यस्तै, भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न १५ देशका विदेशी अतिथि महाधिवेशनमा शुभकामना दिनका लागि आइपुगेका छन् । अन्य २५ देशबाट शुभकामना सन्देश आइपुगेको एमालेले जनाएको छ । विदेशी अतिथिले खुलासत्रमा आसनग्रहण मात्र गर्ने र बन्दसत्र सुरु भएपछि ११ मंसिर बिहान शुभकामना दिने कार्यसूची बनाइएको छ । कोभिडका कारण चिनियाँहरूले विदेश भ्रमण नगरेकाले चिनियाँ कम्युनिस्ट पार्टीले भने भिडियो सन्देश पठाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । 

सौराहामा बन्दसत्र
नारायणी नदी किनारमा शुक्रबार उद्घाटनसत्र सम्पन्न भएपछि दोस्रो दिन शनिबारदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सहभागी हुने प्रतिनिधि, पर्यवेक्षक, अतिथिलगायतको खाना र आवासको सम्पूर्ण खर्च पार्टीले नै बेहोर्ने भएको छ । त्यसका लागि एमालेले साढे सात करोड खर्च हुने अनुमान गरेको छ । 

प्रचार विभाग प्रमुख भट्टराईले कसैसँग पनि चन्दा नमागेर पार्टीका सदस्यबाट उठाइएको आन्तरिक लेबी र सहयोगका आधारमा उक्त रकम खर्च गरेर महाधिवेशन गर्न लागेको बताए । महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र एक सय २९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित–उत्पीडित समूहबाट प्रतिनिधित्व हुने भट्टराईको भनाइ छ । शुक्रबार साँझ नै प्रतिनिधिको परिचयपत्र वितरण गरेर शनिबार बिहान साढे ८ बजेबाट बन्दसत्र सुरु हुनेछ । त्यसका लागि ११ सदस्यीय अध्यक्षमण्डल र माइन्युट कमिटीसमेत पार्टी स्थायी कमिटीले बनाइसकेको छ । 

बन्दसत्रलाई पार्टी अध्यक्षसँगै विदेशी पाहुनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्यसलगत्तै निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ । शनिबार साँझ ६ बजेसम्म उम्मेदवारी दाबी, फिर्तालगायत सम्पूर्ण प्रक्रिया सकेर उम्मेदवारको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिएको छ । आइतबार बिहान ८ बजेबाट विद्युतीय मतदान मेसिनबाट मतदान हुनेछ । त्यसका लागि सयवटा विद्युतीय मतदान मेसिन ल्याइएको छ । भट्टराईका अनुसार आइतबार साँझसम्म मतपरिणमा सार्वजनिक गर्ने र सोमबार बिहान महाधिवेशनको सम्पूर्ण परिणामबारे चितवन घोषणा सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।

७२ कलाकार एकैपटक नाच्न मिल्ने मञ्च

अति विशिष्ट अतिथि, स्थायी कमिटी, केन्द्रीय सदस्य गरी पाँच सयजना अट्ने मञ्च तयार पारिएको छ । पश्चिमतिर फर्केको मञ्चमा विशिष्ट अतिथिसहित पार्टीका स्थायी कमिटी बस्नेछन् भने उत्तरतर्फ फर्किएको अर्को मञ्चमा केन्द्रीय सदस्य रहनेछन् । बीच भागमा ७२ जना कलाकारले एकैपटक प्रस्तुति दिन सक्ने क्षमताको मञ्च बनाइएको व्यवस्थापनमा संलग्न एमाले नेता विनोद श्रेष्ठको भनाइ छ । 

विशाल मञ्चको अगाडिपट्टि सञ्चारकर्मी र अतिथिका लागि ठूलो भाग छुट्याइएको छ । सहभागीका लागि चितवनतर्फको नारायणी नदी किनारमा मात्र अपुग हुन सक्ने भएकाले पारिपट्टि नवलपुरको गैँडाकोट क्षेत्रमा पनि ठूलो स्क्रिन राखिएको छ । साथै, कार्यक्रमस्थलमा पनि विभिन्न ठाउँमा मञ्चको दृश्य हेर्न मिल्ने स्क्रिनको व्यवस्था गरिएको छ । 

महाधिवेशनका लागि एमालेले चितवनका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ भने सडकका दुवै किनारमा ब्यानर र झन्डाहरूले सजाएको छ । चितवनमा मात्र ५० ठाउँमा स्वागतद्वार बनाइएका छन् । उद्घाटनस्थलनजिकै विभिन्न ठाउँमा सेल्फी प्वाइन्ट बनाइएका छन् भने एमालेले महाधिवेशनमा प्रयोग गरेको गैँडाको मस्कट पनि बनाइएको छ ।

आठजना निजामती कर्मचारी  एमाले महाधिवेशन प्रतिनिधि 
काठमाडौं/निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती कर्मचारी र शिक्षक एमालेको दशौँ महाधिवेशनका प्रतिनिधि बनेर सहभागी भएका छन् । निजामती सेवाका आठजना कर्मचारी महाधिवेशन प्रतिनिधि बनेका छन् । 

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षसमेत रहेका बलेफी गाउँपालिकाका प्रशासकीय अधिकृत केदार देवकोटा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका लेखापाल लेखनाथ कोइराला, कृषि सेवाका कर्मचारी प्रभात शाह तथा स्वास्थ्य सेवाका कर्मचारीहरू भवानी दाहाल, अञ्जु बस्नेत र रामबहादुर चन्द महाधिवेशन प्रतिनिधि भएका छन् । 

त्यस्तै स्वास्थ्यमा माथिल्लो तहका कर्मचारी डा. सन्तोष पौडेल र डा. झलक शर्मा गौतम पनि महाधिवेशनमा सहभागी हुने सूचीमा रहेको स्रोत बतायो । पौडेल ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा कार्यरत छन् । 

कर्मचारी संगठनका अध्यक्ष रहेका देवकोटाले संगठनबाट महाधिवेशन प्रतिनिधि नतोकिएको र यद्यपि महाधिवेशन हेर्नका लागि भने कर्मचारी जान सक्ने बताए । आफू पनि महाधिवेशन प्रतिनिधि नभई हेर्न मात्र जान लागेको उनको दाबी छ । 

एमाले मात्र होइन निजामतीमा सबै पार्टीनिकट संगठन छन् । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले पनि कांग्रेसको आसन्न महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पठाउने तयारी गरेको छ । माओवादी केन्द्रनिकट नेपाल निजामती कर्मचारी राष्ट्रिय संगठन छ । उनीहरू पनि खुलेआम रूपमा पार्टीका कार्यक्रममा सहभागी हुने गरेका छन् । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२)मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको स्वामित्व र नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति मात्र राजनीतिक दलको सदस्य हुन पाउने उल्लेख छ । 

दलका आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेल राजनीतिक दलसम्बन्धी ऐनअनुुसार राष्ट्रसेवक कर्मचारी दलको सदस्य हुन नहुने प्रावधान भएको र त्यही कार्यान्वयनका लागि निर्देशन दिइएको बताए । त्यसविपरीत कसैले सदस्य बनाएमा त्यस्ता दलको विवरण आयोगले अद्यावधिक नगर्ने उनी बताउँछन् । त्यस्ता कर्मचारीलाई सम्बन्धित ऐनअनुसार सम्बन्धित निकायले नै कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

दशौँ महाधिवेशनलाई सर्वसहमतिकै बनाउने प्रयास भइरहेको छ : सुरेन्द्र पाण्डे, सहसंयोजक, महाधिवेशन मूल व्यवस्थापन समिति

महाधिवेशन मूल व्यवस्थापन समितिको सहसंयोजक हुनुहुन्छ, तयारीसम्बन्धी के–के काम सकिए ?
प्रत्यक्ष र अप्रत्यक्ष दुवै तरिकाले महाधिवेशनको तयारी सम्पन्न गरेका छौँ । प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको छ । महाधिवेशनमा एक सय ६ जना मनोनीतसहित करिब २३ सय प्रतिनिधि सहभागी हुँदै हुनुहुन्छ । दोस्रो, उद्घाटनमा पाँच लाख जनसमुदाय सहभागी गराउने तयारी गरेका छौँ । सबै जिल्लाका विभिन्न ठाउँबाट जनसमुदाय उद्घाटनमा आउँदै हुनुहुन्छ । चितवनमा आवागमन धेरै बाक्लो भइसकेको छ । जता हेर्दा पनि महाधिवेशनमय माहौल छ । पाँच हजार स्वयंसेवक महाधिवेशन उद्घाटन व्यवस्थापनका लागि परिचालन गरिएको छ । तेस्रो, उद्घाटन समारोहको व्यवस्थापनका सन्दर्भमा चउरका सातवटा खण्डमध्ये उत्तरतिरको खण्डबाट भिआइपी प्रवेश गराएर मञ्चमा लैजान्छौँ । बाँकी खण्डहरूबाट महाधिवेशन प्रतिनिधि र जनसमुदायहरू प्रवेश गर्नुहुनेछ । 

महाधिवेशनको उद्घाटनमा पार्टी नेताहरू र विदेशी पाहुनाहरूको कस्तो सहभागिता हुँदै छ ? 
उद्घाटन समारोहमा सातवटा पार्टीका प्रमुख नेताहरू आउने निश्चित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदै हुनुहुन्छ । नेकपा माओवादी केन्द्रबाट पनि नेता आउनुहुन्छ भन्ने जानकारी प्राप्त भएको छ, तर को आउनुहुन्छ, त्यो नाम उपलब्ध भइसकेको छैन । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट महन्थ ठाकुर, राप्रपाबाट कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाबाट पनि नेता सहभागी हुनुहुनेछ । त्यस्तै, विदेशी अतिथिहरू पनि आउनुभएको छ । उहाँहरूलाई हामीले खुलासत्रमा आसनग्रहण मात्र गराउनेछौँ । बन्दसत्रमा ११ मंसिर बिहान उहाँहरूले शुभकामना दिनुहुनेछ । उद्घाटनसत्रमा चाहिँ पार्टीका नेताहरूले मात्र बोल्नुहुनेछ ।

पाँच लाख जनसमूह उतार्ने तयारी छ भन्नुभयो, सुरक्षालगायतका प्राविधिक तयारी के छन् ? 
सुरक्षा–प्रबन्धका लागि मूलतः राज्यका सुरक्षाकर्मीहरू नै परिचालित हुनुभएको छ । सुरक्षा–व्यवस्थाका लागि जनपद प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीको संख्या समन्वयमा विस्तार भएको छ । १३ ठाउँमा पार्किङको व्यवस्था गरेका छौँ । जिल्ला र त्यसभन्दा माथि एआइजी सहकुल थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएको छ । गण्डकी र बागमती प्रदेशका डिआइजीहरू पनि अहिले सुरक्षा व्यवस्थापनका लागि चितवनमै खटिएर आउनुभएको छ । उहाँहरूले आ–आफ्नो प्रदेशको समन्वय गर्नुहुनेछ । त्यस्तै, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट पनि एआइजीकै नेतृत्वमा सुरक्षा अधिकारीहरू आउनुभएको छ । कुनै सवारी बिग्रिएर बाटोमा आउन कठिन हुन्छ कि भन्ने लागेर उद्घाटनका लागि आउने गाडीलाई प्राथमिकता दिएर अरू हेभी गाडी ५ बजेसम्म रोकेर उद्घाटनसत्रका लागि आउने जनसमुदायलाई प्राथमिकता दिने गरी ट्राफिक प्रहरीले समन्वय गरिरहेको छ । 

उपस्थित जनसमुदायको स्वास्थ्य र सुरक्षालाई ख्याल गरेर दमकल, एम्बुलेन्सको व्यवस्था गरिएको छ । नदीमा केही भइहालेमा उद्धारका लागि मोटरबोटहरू तयारी हालतमा राखिएका छन् । ठाउँठाउँमा गाडी बिग्रिएको अवस्थामा साइड लगाउन क्रेनको व्यवस्था गरेका छौँ र सम्पूर्ण हिसाबले तयारी भएको छ । बन्दससत्रमा स्वागतद्वार बनेका छन्, सेभेन स्टार होटेलमा बन्दसत्र हुन्छ, मतदानस्थल पनि निर्माण गरिसकेका छौँ । 

महाधिवेशन सुरु भइसक्यो, अध्यक्षले सर्वसहमतिमै नेतृत्व चयन गर्ने भन्दै आउनुभए पनि अब त्यो सम्भावना टरेको हो ? 
त्यस्तो होइन, दशौँ महाधिवेशनलाई सर्वसहमतिकै बनाउने प्रयास चलिरहेकै छ । सबै नेताले पार्टीविशेष परिस्थितिमा रहेको हुनाले यसपटक नेतृत्वमा सर्वसहमति गरौँ र आउने चुनौतीलाई सम्बोधन गर्नेगरी जाऔँ भन्नुभएको छ । पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने गरी एउटा स्पष्ट आह्वानका साथ महाधिवेशन सम्पन्न गर्नुपर्नेमा नेताहरूले जोड दिइरहनुभएको छ । 

उद्घाटनसत्रमा जनसमुदायलाई आगामी निर्वाचनमा एमाले एक्लैले जित्न किन आवश्यक छ, हाम्रासामु कस्ता जिम्मेवारी र चुनौती छन् भन्ने अवगत गराएर पार्टीलाई एकताबद्ध बनाउने उद्घोष गरिनेछ । त्यसबाट पार्टीका तमाम कार्यकर्ता, समर्थक, शुभेच्छुक सबै एउटा आत्मविश्वास र रक्तसञ्चारका साथ आ–आफ्ना जिम्मेवारीमा फर्किनेछन् । अहिले त्यो संकल्प पूरा गर्ने गरी नेतृत्व चुनिनुपर्छ र सहमतिबाटै भयो भने त्यसले नयाँ रक्तसञ्चार, उत्साह र बल प्रदान गर्नेछ भन्ने हिसाबले प्रयास भइरहेको छ । त्यसका लागि अझै समय आइसकेको छैन, समय आएपछि त्यो पनि हुनेछ ।

ad
ad