मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार ०८:१५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२४ सय जनाबराबर एक किलोमिटर राष्ट्रिय राजमार्ग

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार ०८:१५:००

एक किलोमिटर रणनीतिक सडक (राष्ट्रिय राजमार्ग)मा दुई हजार तीन सय ९० जना मानिसले उपभोग गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक अध्ययनले देखाएको छ । यो नेपालको कुल जनसंख्यालाई रणनीतिक सडकको लम्बाइले भाग लगाउँदा आउने योगफल हो । यस अध्ययनका लागि राष्ट्रिय जनगणना २०६८ सालको जनसंख्या (दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारजना) राखिएको छ । त्यस्तै, रणनीतिक सडकको लम्बाइ २०२०/०२१ का अनुसार ११ हजार एक सय ७८ दशमलव ९२ किलोमिटर छ । 

एक किलोमिटर रणनीतिक सडकको प्रयोग करिब दुई हजार चार सय मानिसले गर्नुपर्ने अवस्था अन्य देशको तुलनामा न्यून रहेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । ‘तर, स्थानीय र प्रदेशमा निर्माण भएको सडकलाई समेत समेट्ने हो भने दक्षिण एसियामा नराम्रो अवस्था भने छैन,’ उनले भने । 

यसअघि सन् २०१७/०१८ मा गरिएको अध्ययनले एक किलोमिटर सडकलाई एक हजार नौ सय ७० जना मानिसले प्रयोग गर्नुपर्ने देखाएको थियो । अहिलेको तथ्यांकले रणनीतिक सडकको लम्बाइ घटेको देखाउँछ । यसअघि रणनीतिक सडकमा राखिएको फिडर सडक निकालिएको र त्यसले रणनीतिक सडकको लम्बाइ घटाएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए । सन् २०१७/०१८ मा फिडर सडकसहित रणनीतिक सडकको लम्बाइ १३ हजार चार सय ७७ किलोमिटर थियो । अहिले फिटर सडकले ओगट्ने दुई हजारभन्दा बढी सडक रणनीतिक सडकबाट निकालेपछि लम्बाइ घटेको हो । 

देशका सात प्रदेशमध्ये प्रदेश नम्बर २ का पाँच हजार नौ सय २६ जना मानिसको भाग एक किलोमिटर रणनीतिक सडक परेको छ । त्यसो हुनुमा त्यो प्रदेशमा धेरै जनसंख्या एउटा कारण हो । यो राष्ट्रिय संख्याभन्दा पनि धेरै हो । त्यस्तै, सबैभन्दा न्यून कर्णाली प्रदेशमा एक हजार ८९ जनाको भागमा एक किलोमिटर सडक परेको छ । 

नेपालमा एक वर्ग किलोमिटर क्षेत्रफलमा रणनीतिक सडकको घनत्व ७५ दशमलव ८ मिटर पुगेको छ । यो अघिल्लोपटकको भन्दा न्यून हो । यसअघि सन् २०१७/०१८ मा एक वर्गकिलोमिटर क्षेत्रफलमा फिडर सडकसहित रणनीतिक सडकको घनत्व ९१ दशमलव ४ मिटर रहेको थियो । अहिले जिल्ला जोड्ने फिडर सडक विभागमातहत नहुँदा रणनीतिक सडकको घनत्व घटेको विभागका अधिकारीको भनाइ छ । यसलाई योजनामा रहेका र निर्माणाधीन सडक निर्माणलाई तीव्रता दिएर घनत्व वृद्धि गर्ने योजना छ ।