मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ मङ्सिर ८ बुधबार ०६:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ट्रान्सपोर्ट कम्पनीको विवादले तातोपानी नाकाको आयात प्रभावित

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ मङ्सिर ८ बुधबार ०६:५८:००

ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले तातोपानी भन्सारको आयातमा समस्या उत्पन्न भएको छ । ट्रान्सपोर्ट कम्पनीहरूबीच लाइनमा रहेका कन्टेनरको पालो मिलाउने र भन्सार जाँचपास गर्ने विषयमा विवाद हुने गरेको हो । विवादका कारण खासा क्षेत्रमा एक सातादेखि दुई सय गाडी लाइनमा छन् । अधिकांशले स्याउ बोकेका छन् । उत्तरको अर्को नाका केरुङमा पाँच सय ६० गाडी लाइनमा छन् ।

केरुङबाट दैनिक नौ गाडी आयात हुन्छन् । पछाडि रहेका कन्टेनरको पालो आउन केही महिना लाग्ने भएकाले रेडिमेड सामान बोकेका कन्टेनर केरुङबाट डाइभर्ट भएर खासा पुगेका छन् । पालो कुरेर बस्दा विलम्ब शुल्क बढी तिर्नुपर्ने भएकाले ट्रान्सपोर्ट कम्पनीबीच पहिला जाँचपास गर्ने विषयमा विवाद हुने व्यवसायीहरूको भनाइ छ । जाङ्मुपोर्ट (खासा)मा आइपुगेका सामान चिनियाँ भन्सार जाँचपासपछि नेपालका लागि निर्यात गरिन्छ ।

गत महिना ल्हासामा नेपाल–चीन अधिकारीबीच तातोपानी र केरुङ दुवै नाकाबाट दैनिक २०–२० गाडी आयात गर्ने सहमति भएको थियो । तातोपानीबाट अहिले दैनिक १५ देखि २० ट्रेलर सामान आयात हुन्छ । चिनियाँ एक ट्रेलरबराबर नेपाली दुई कन्टेनर हुन्छ । तातोपानीमा ‘हुक एन्ड ड्रप’ प्रणालीबाट आयात हुँदै आएको छ ।

नाकामा चीनपट्टि तिब्बत सिल्क, मुसा र खासा ट्रान्सपोर्ट क्रियाशील छन् । नेपालपट्टि सिल्क, नमस्ते र रेवाङ कम्पनीले काम गर्छन् । ट्रान्सपोर्ट कम्पनीबीच हुने विवादले आयात प्रभावित भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । चिनियाँ भन्सारमा जसको पहिला जाँचपास हुन्छ, त्यही कन्टेनर मितेरीपुल आउँछ । त्यही पालोमा नेपालमा सामान ढुवानी गर्ने व्यवस्था मिलाउने उनले प्रस्ट्याए ।