मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०६:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेको ओरालो यात्रा कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०६:४३:००

मंगलबार पनि सेयर बजारसूचक नेप्से ओरालो यात्रामा देखिएको छ । यस दिन नेप्से परिसूचक दुई हजार सात सय २० बिन्दुसम्म ओर्लिएर पुनः फर्किने क्रममा रह्यो । यद्यपि, बजार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २९ अंकले घटेर दुई हजार सात सय ३३ बिन्दुमा पुगेको छ । यस दिन बजारमा दुई सय २७ प्रकारका धितोपत्र, ऋणपत्रलगायतका कारोबार हुँदा चार अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिनभन्दा २४ करोड रुपैयाँले कारोबार रकममा वृद्धि भएको हो । अन्तिम समयतिर खरिददारीसमेत बढेको बजारमा २२ किसिमका धितोपत्र र ऋणपत्रलगायतको मूल्य बढेर कारोबार भएको छ । एक सय ९४ वटा धितोपत्र र ऋणपत्रको भने मूल्य घटेर कारोबार भएको हो । 

नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंकलगायतको सेयर कारोबारमा वृद्धि भएको छ । यी कम्पनीका १० देखि ४१ करोड रुपैयाँसम्मको सेयर खरिद–बिक्री भएको हो । तल्लो इन्द्रावतीको अनुपतिपत्र पुनः पाएको खबरले नेसनलमा लगानीकर्ता आकर्षित हुन थालेका हुन् । कम्पनीले अन्य आयोजनाहरूको सम्भाव्यता अध्ययनसमेत गरिरहेको छ । हाल भने कम्पनी ३५ करोड रुपैयाँ सञ्चित नोक्सानीमै छ । मानुषी लघुवित्तमा केही दिनदेखि लगातार मूल्य बढेर सर्किट ब्रेक लागिरहेको छ ।

आइसिएफसी, नारायणी नेसनल डेभलपमेन्टलगायतको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । नारायणी नेसनलको चालू आवको पहिलो त्रैमासमा नौ लाख ११ हजार रुपैयाँ नोक्सानमा र २१ करोड ९२ लाख रुपैयाँ सञ्चित नोक्सानमा छ । कम्पनीको केही समयअघिसम्म प्रतिकित्ता करिब १२ सय रुपैयाँसम्म कारोबार भइरहेको थियो । हाल नौ सय रुपैयाँमा सेयर किनबेच भइरहेको छ । नेपाल टेलिकम सूचीकृत ‘अन्य’ समूहगत परिसूचकबाहेक यस दिन सबै समूहगत परिसूचक घटेका छन् । 

 सेयर गतिविधि
गणपति लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले १९ प्रतिशत बोनस सेयर र बाँकी कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो । मेगा बैंकले २८ मंसिरमा साधारणसभा आयोजना गर्ने भएको छ । मंसिर १४ गते बुक क्लोज मिति तय गरेको बैंकमा १३ मंसिरसम्म लगानी हुनेले १० प्रतिशत बोनस सेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।

 २१ दशमलव ४८ प्रतिशत बोनस र कर प्रयोजनका लागि एक प्रतिशत नगद घोषणा गरेको नेरुडे लघुवित्तले १० पुसका लागि साधारणसभा डाकेको छ । २५ मंसिरसम्म कम्पनीमा लगानी हुनेले लाभांश प्राप्त गर्नेछन् ।  ह्यात होटेल कम्पनीको सञ्चालकमा आइसिटिसी होल्डिङ कम्पनीको प्रतिनिधि फेरबदल भएको छ । आइसिटिसीबाट जेडी श्रेष्ठ होटेलको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि डिजा श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकी थिइन् ।