१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:४९:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण

पुस्तान्तरणको दबाबमा एमाले

Read Time : > 4 मिनेट
नयाँ पत्रिका रश्मि आचार्य
२o८१ बैशाख २४ सोमबार o७:४९:oo

०४६ पछि पार्टी–जीवनमा समाहित भएको पुस्ता अझै निर्णायक तहमा पुगेको छैन । उनीहरूलाई निर्णायक तहमा पुर्‍याउने मुख्य चुनौती यस महाधिवेशनका सामु छ ।


०७४ को आमनिर्वाचनपछाडि र मूलतः पार्टी एकतापछि लथालिंग भएको नेकपा एमालेको पार्टी–जीवन अनेक धक्का खाँदै पुनः पुरानै लयमा फर्कने यात्रामा छ । गत कात्तिक ६ गते एकै दिन देशभरका वडा अधिवेशन र १३ गते पालिका अधिवेशन गरेर एमालेले पार्टी–जीवनमा नयाँ रक्तसञ्चार मात्रै सिर्जना गरेको छैन, एकै दिन यति धेरै अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने नयाँ इतिहाससमेत रचेको छ । एकाधबाहेक सबै ठाउँमा नेतृत्व सर्वसम्मतिले छानिनु, अधिवेशनहरूमा आमजनसमुदाय र पार्टीपंक्तिको उल्लेख्य सहभागिता हुनु र अधिकांश ठाउँमा नयाँ पुस्ता नेतृत्वमा आउनुले यी अधिवेशनमार्फत एमालेले पुनरुदयको उद्घोष गरेको छ । स्वभावैले यी अधिवेशनहरूको गहिरो प्रभाव आगामी मंसिर १०–१२ चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा पर्ने नै छ । 

विभाजनको असर आधारभूत तहमा न्यून 

नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा मूल पार्टीबाट विभाजित भएर बनेका पार्टीहरू स्थापित हुनै नसकेको र अन्ततः विभाजित हाँगा एक निर्वाचनपछि मूल धारमै मिसिएको इतिहास ताजै छ । चाहे ०५४ मा एमाले विभाजनपछि बनेको माले ०५६ को निर्वाचन परिणामपछि ०५८ मै एमालेमा एकाकार भएको सवाल होस् वा कांग्रेस विभाजन भएर बनेको प्रजातान्त्रिक कांग्रेस पुनः कांग्रेसमै एकाकार भएको सन्दर्भ किन नहोस्, विभाजनपछि बनेका अधिकांश पार्टी र त्यसका अगुवाले यो गोलचक्कर पूरा गरेका छन् ।

यो गोलचक्कर पूरा गर्ने पालोमा अब नेकपा (एकीकृत समाजवादी) रहेको स्पष्ट सन्देश एमालेका यी अधिवेशनहरूले निर्वाचनअगावै पूर्वघोषणा गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टी रोज्ने सन्दर्भमा देखिएको अनिच्छाको विस्तारित रूप पार्टीका यी अधिवेशनहरूमा पुनः प्रकट भएको छ । नवौँ महाधिवेशनको समयमा रहेका दुई लाख ६५ हजार संगठित सदस्यमध्ये ९० प्रतिशतभन्दा बढी सदस्यले अधिवेशनमा भाग लिनु र नयाँ सदस्य बन्नेको संख्या पनि तीनगुणा वृद्धि हुनुले विभाजनको असर आधारभूत तहमा ज्यादै न्यून छ भन्ने तथ्य उजागर गर्छन् ।

हाल पार्टीका संगठित सदस्यको संख्या आठ लाख नाघ्नु र थपिनेमा युवाहरूको बाहुल्यता रहनुले एमालेप्रतिको जनआकर्षण गुणात्मक तवरले वृद्धि भएको पुष्टि हुन्छ । जनता र मतदाताको तहमा विभाजनको असर नगण्य छ भन्ने अनुमानलाई यसरी अनेकौँ तथ्यहरूले सत्य साबित गरिदिएका छन् । नेकपा एमालेको पार्टी संरचनामा सोलीको आकारमा विभाजन भएको चित्रलाई पुष्टि गर्न यी अधिवेशनहरू पूर्णतः सफल भएका छन् । 

आधारभूत तह बढ्ता जिम्मेवार 

एमालेको अधारभूत तहमा पार्टी भावना ज्यादा सघन छ भन्ने स्पष्ट सन्देश यी अधिवेशनले पुनः स्थापित गरेका छन् । वास्तवमा पार्टी जोगाएकै आधारभूत तहका कार्यकर्ताले हो भन्ने तथ्य यी अधिवेशनपश्चात् पुनर्पुष्टि भएको छ । टुक्रिएको पार्टी नरोजेर मात्र होइन, भएको पार्टीभित्र एकता कायम गर्न दबाब सिर्जना गर्ने कामसमेत आधारभूत तहका अधिवेशन र तिनको नेतृत्व चयनमा देखिको सर्वसम्मतिको अवस्थाले उद्घाटित गरिदिएको छ । वास्तवमा स्थानीय अधिवेशन र राष्ट्रिय माहाधिवेशनको प्रतिनिधि चयनमा देखिएको सर्वसम्मति यसको एउटा सूचक हो । यो कदम उपल्लो नेतृत्वको दबाबबाट भएको भन्दा पनि आधारभूत तहकै जिम्मेवारीपनको उपज हो ।

निर्वाचनजस्तो लोकतान्त्रिक प्रणालीमा पनि अभ्यस्त हुँदै गरेको एमालेले निर्वाचन र सर्वसम्मति दुवैलाई सँगसँगै लैजान सक्नु अर्को सफलता हो । यसरी विगत लामो समयदेखि पार्टीभित्र देखिएको गुटबन्दी र समूहबन्दीको अवस्था चिरिँदै जानु पार्टी–जीवनका लागि ऊर्जादायी र सुखद परिघटना हो । त्यसैगरी, अधिवेशनहरूबाट छानिएका कमिटीमा ३३ प्रतिशत महिला नेतृत्व स्थापित गर्नु अर्को महत्‍वपूर्ण उपलब्धि हो । पार्टी संरचनाहरूमा महिलाको प्रतिनिधित्वबारे संविधानले निर्धारण गरेको कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने पहिलो पार्टी एमाले नै बन्नु एमालेकोे श्रेष्ठतालाई थप उचाइ हो । 

यसपटकको अधिवेशनहरूबाट अधिकांश ठाउँमा नयाँ पुस्ता नेतृत्वमा आएको छ । कतिपय पालिकामा नयाँ पुस्ताले सकारात्मक हस्तक्षेप नै गरेर नेतृत्व पुस्तान्तरण भएको छ भने अधिकांश ठाउँमा समग्र पार्टीपंक्ति नै नेतृत्व पुस्तान्तरणका लागि सर्वसम्मतिले तयार भएको देखिन्छ । यसको प्रतिच्छाया राष्ट्रिय महाधिवेशनमा पनि स्वतः पर्नेछ ।

अवसरका लागि जे गर्न पनि तयार हुने, आफैँले वर्षौं दुःख गरेर बनाएको पार्टीको खरानीमा भविष्य देख्नसमेत पछि नपर्ने कालीदास प्रवृत्तिविरुद्ध एमालेको आधारभूत तहका जिम्मेवार कार्यकर्ताहरूले अधिवेशनमार्फत गतिलो झापड हानेका छन् । कार्यकर्तामा लोभ छैन र कुनै प्रकारको फाटो छैन, केवल पार्टी भावना मात्र छ भन्ने स्पष्ट भाव अधिवेशनहरूले बुझिने र सुनिने गरी प्रवाह गरेका छन् । एक प्रकारले भन्ने हो भने यी परिदृश्यले चौतर्फी दबाब दिएका छन् । महाधिवेशनमा नेतृत्व चयन गर्दा पुस्ताहरूको उचित प्रतिनिधित्व सुनिश्चित गर्दै सबैलाई समेटेर जान आधारभूत तहले आह्वान गरेको छ । सर्वसम्मति वा निर्वाचन जुन विधिबाट नेतृत्व छनोट गरे पनि पुस्ताहरूको वैज्ञानिक फ्युजन अपरिहार्य छ भन्ने सत्यता आधारभूत तहका कमिटीहरूले अभिव्यक्त गरेका छन् । देशभरका कार्यकर्ताको वस्तुपरक र विवेकसम्मत यस फैसलालाई राष्ट्रिय महाधिवेशनले अनदेखा गर्न सक्ने अवस्था छैन । 

पुस्तान्तरणको दबाब 

खुला राजनीतिको तीन दशकदेखि उही अनुहार र उस्तै पात्रहरूको बोलवाला रहेको र उनीहरूको चुम्बकत्व घट्दो क्रममा रहेको तथ्य लुकेको विषय होइन । ०४८ देखि ०७८ सम्मको तीन दशकमा एउटै पुस्ता हावी हुनु, नयाँ चुनौतीहरूको सामना गर्न उनीहरूमा सिर्जनशीलताको कमी हुनु, प्रविधि विकासको गतिअनुसार आफूलाई परिष्कृत गर्न नसक्नु, गतिशीलतासँगै नेतृत्व विकासको मार्ग पछ्याउन नसक्नु, समाजविज्ञानका अनेक पहलुहरूसँग अन्तरसम्बन्धित पक्षबारे गहिरो गरी घोत्लिन नसक्नुजस्ता कारणहरूले गर्दा आज हरेक पार्टीभित्र नयाँ कोर्सको जरुरत भइसकेको छ ।

नेतृत्वको पुस्तान्तरण, पुस्तान्तरित नेतृत्वमा राजनीतिक वैचारिक क्षमताको अभिवृद्धि र समृद्धिको स्पष्ट रोडम्यापसहितको नेपाली विशेषताको समाजवाद निर्माण नै नयाँ कोर्सका अभिन्न आयाम हुन् । एमालेले आफूलाई अब यो दिशामा हिँडाउन यही महाधिवेशनबाट पाइला चाल्न आवश्यक छ । 

एमालेका आधारभूत तहका अधिवेशनले स्थापित गरेको अर्को महत्‍वपूर्ण तथ्य पुस्तान्तरण हो । पार्टी–जीवनमा यो परिघटनाको निकै ठूलो अर्थ छ । यसपटकको अधिवेशनहरूबाट अधिकांश ठाउँमा नयाँ पुस्ता नेतृत्वमा आएको छ । कतिपय पालिकाहरूमा नयाँ पुस्ताले सकारात्मक हस्तक्षेप नै गरेर नेतृत्व पुस्तान्तरण भएको छ भने अधिकांश ठाउँमा समग्र पार्टीपंक्ति नै नेतृत्व पुस्तान्तरणका लागि सर्वसम्मतिले तयार भएको देखिन्छ । यसको प्रतिच्छाया राष्ट्रिय माहाधिवेशनमा पनि स्वतः पर्नेछ ।

आजको एमालेभित्रको नेतृत्व संरचना हेर्दा ०४६ पहिले भूमिगत राजनीतिमा संलग्न पुस्ताकै वर्चस्व छ । त्यसबाहेक एकाध विद्यार्थी पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका अनुहार देख्न सकिन्छ । ०४६ पछि पार्टी–जीवनमा समाहित भएको पुस्ता अझै निर्णायक तहमा पुगेको छैन । उनीहरूलाई निर्णायक तहमा पुर्‍याउने मुख्य चुनौती यस महाधिवेशनका सामु छ । त्यति मात्र होइन, ०६२ पछि विकास भएको पुस्तालाई केन्द्रीय कमिटीमा एकतिहाइ हिस्सेदार बनाउँदै सँगसँगै हिँडाउने, उनीहरूलाई खार्ने र भविष्यद्रष्टाहरू तयार गर्ने युगीन अभिभारासमेत यसै महाधिवेशनको काँधमा छ ।

०४६ अघिको पहिलो पुस्ता, ०४६ पछि ०६२/६३ सम्मको अर्को पुस्ता र तत्पश्चात्को तेस्रो पुस्ताको बराबरी संयोजन अर्थात् हरेक पुस्ताको एकतिहाइ प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी बनाउन सक्नु नै १०औँ महाधिवेशनको मुख्य अभिभारा हो । अनुभवी, अनुभव बटुल्दै खारिँदै गरेको र युवा गरी तीनै समूहको फ््युजनविना पार्टी कदापि बलियो बन्न सक्दैन । यसका लागि कमिटीमा प्रवेश र कमिटीबाट सम्मानजनक बिदाइको वैज्ञानिक ढाँचा निर्माण गर्न अब ढिलाइ गर्नुहुँदैन ।

खासगरी, एउटा व्यक्ति कतिपटकसम्म केन्द्रीय कमिटीमा सदस्य/पोलिट्ब्युरो/स्थायी कमिटी सदस्य भएर रहने ? यसको सीमा नतोक्ने हो भने नयाँको प्रवेश कसरी सुनिश्चित गर्ने ? नेतृत्व निर्माण र विकासका लागि यतिवेला पेचिलो प्रश्न बनेको छ, यो । जब कि कार्यकारी जिम्मेवारीमा दुईपटकभन्दा बढी उम्मेदवार हुनसमेत नपाउने नीति पार्टीले विधान अधिवेशनबाट पारित गरिसकेको पृष्ठभूमिमा कुनै पनि कमिटीमा नयाँको प्रवेश र पुरानाको ससम्मान बिदाइबारे पार्टीले नीति नै बनाउन आवश्यक छ । यसका लागि निर्वाचन समाधानको एउटा माध्यम त हो, तर पूर्ण समाधान भने होइन । यसको वैज्ञानिक समाधानका लागि बहसको जरुरी छ । 

समाजको प्रतिबिम्ब राजनीतिक पार्टीमा पनि झल्कनुपर्ने यथार्थलाई स्वीकार गर्दै करिब ४० प्रतिशत युवा जनसंख्या भएको देशको सबैभन्दा ठूलो र जिम्मेवार पार्टीको हिसाबले एमालेले यी तमाम तथ्यलाई आत्मसात् गर्नैपर्छ । नेपालका राजनीतिक पार्टीहरूमध्ये एमालेको सांगठनिक अभ्यास र संस्कृतिलाई पछ्याउनेहरूको संख्या क्रमशः बढ्दै गएको परिदृश्यलाई समेत ख्याल गरेर नयाँ उचाइको एमाले संस्कृति निर्माणमा यस महाधिवेशन कोसेढुंगा बन्न सक्नुपर्छ ।

समाजको वास्तविकता, समयको पदचाप र युगको आवश्यकतालाई बोध गरी सशक्त एमाले बनाउने मार्ग सुनिश्चित गर्न नेतृत्व पुस्तान्तरणको ज्वलन्त सवाललाई पार्टीले तार्किक निचोडमा पुर्‍याउनैपर्छ । यो नयाँ पुस्ताको मात्रै एजेन्डाभन्दा पनि महाधिवेशनको सार्थकतासँग जोडिएको अभिन्न विषय हो ।

ad
ad