१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ जेठ ५ शनिबार o६:४२:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

ढाड सेक्ने महँगी

Read Time : > 6 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:४२:oo

दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । तरकारीको मूल्य त पछिल्ला तीन महिनामा झन्डै पाँच सय प्रतिशतसम्म वृद्धि भएको छ, खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक सय २५ रुपैयाँ बढेको छ भने सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरिएको छ, तर नियमनकारी निकाय भन्छ– सस्तो गर भन्न सक्दैनौँ

- खानेतेल लिटरमा ६०, चामल बोरामा ७५ र दाल किलोमा ३५ रुपैयाँसम्म महँगियो

दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्ममा नागरिकको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ । तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थलगायतमा छोइनसक्नु महँगी छ । 

पछिल्लो तीन महिनामा तरकारीको भाउ झन्डै पाँच सय प्रतिशतसम्म बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य तीन महिनामा प्रतिसिलिन्डर एक सय २५ रुपैयाँ बढाइएको छ । त्यस्तै, आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पनि डेढ वर्षयता निरन्तर बढाइरहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र बजारलाई नै असर गरेको छ ।

गत साउनबाट लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडादर २८ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै वायुसेवा सञ्चालक संघले कात्तिकमा मात्रै दुईपटक गरेर साबिकको भन्दा ६ सय ६० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ ।

तीन महिनाअघि एक हजार ६ सय ७५ रुपैयाँ पर्ने २५ किलोको जिरामसिनो चामल अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको छ भने किलोको एक सय २५ रुपैयाँ रहेको मुसुरोको दाल एक सय ६० पुगेको छ । त्यस्तै, एक सय १० रुपैयाँ किलोको मस्यौरा दुई सय र ८६ रुपैयाँ प्रतिकिलोको चिनी एक सय पुर्‍याइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अधिकांश वस्तुको सेवा लागत बढेकाले मूल्यवृद्धि भएको बताए । उत्पादन घटेका कारण तरकारी तथा फलफूलमा महँगी बढेको मन्त्रालयको दाबी छ भने खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय कारण देखाएको छ । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक सवारी र हवाई भाडादर वृद्धि भएको बताएको छ । 

वस्तु तथा सेवाका आपूर्तिकर्ताले एक–अर्कालाई दोष देखाएर मूल्यवृद्धि गरिरहँदा सबैभन्दा ठूलो मारमा भने उपभोक्ता परेका छन् । सर्वत्र मूल्यवृद्धि हुनुमा सरकारी संयन्त्रको दोष रहेको उपभोक्ताकर्मी माधव तिमिल्सिनाले बताए । ‘सरकारको कुनै संयन्त्रले मूल्य नियन्त्रणका लागि पहल गरेका छैनन्,’ उनले भने । मूल्य नियन्त्रणका लागि गठित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग दसैँअघिबाट नेतृत्वविहीन छ । यद्यपि, विभागले दैनिक दुई–तीनवटा टोली पठाएर बजार अुनगमन गरी मूल्यसूची संकलन गर्ने, कैफियत भेटिएकालाई सामान्य जरिवाना गर्ने काम गरिरहेको छ । 

कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठका अनुसार दैनिक मागअनुसारकै ६–७ सय टन तरकारी भित्रिरहेको छ । ‘आलु, प्याज ठूलो मात्रामा आइरहेको छ । अन्य सिजनल तरकारी भने मागको तुलनामा केही कम नै छ,’ उनले भने।

कालिमाटी बजारका अनुसार उपत्यकाआसपासका किसानको बारीमा रहेको गोलभेँडा मात्रै आइरहेकाले मूल्यमा असर परेको हो । ‘तराईको गोलभेँडा आउने वेला भएको छ । १०–१५ दिनमा तराईको गोलभेँडा आउँछ, त्यसपछि मूल्य नियन्त्रण हुन्छ,’ श्रेष्ठले भने । 

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेका कारण नेपाली बजारमा बाध्य भएर बढाइएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा समायोजन गरिएको हो । यसलाई आमउपभोक्ताले बुझिदिनुपर्छ,’ उनले भने ।

खाद्यान्नको भाउ उच्च बिन्दुमा पुगेर स्थिर
दैनिक उपभोग्य खाद्यवस्तुको भाउ भने अहिले उच्च बिन्दुमा पुगेर रोकिएको छ । दसैँअघि अकासिएको दाल, चामल, गेडागुडी, तेल, चिनी, मैदालगायतको भाउ पछिल्लो समय भने स्थिर छ । खुद्रा व्यापार संघका कार्यबाहक अध्यक्ष रामकृष्ण मानन्धरका अनुसार पछिल्लो तीन महिनामा मैदाको भाउ प्रतिबोरा दुई सय रुपैयाँ बढेर दुई हजार पाँच सय पुगेको छ । 

खुद्रा व्यापार संघका अनुसार तीन महिनाको अवधिमा ताइचिन चिउरा १० रुपैयाँ बढेर एक सय ४० रुपैयाँ पुगेको छ । तिहारको छेउमा डाल्ला घिउको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेर दुई सय ३० रुपैयाँ प्रतिकिलो पुर्‍याइएको थियो ।

तीन महिनाअघि एक हजार ६ सय ७५ रुपैयाँ पर्ने २५ किलोको जिरामसिनो चामल अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको छ भने किलोको एक सय २५ रुपैयाँ रहेको मुसुरोको दाल एक सय ६० पुगेको छ । त्यस्तै, एक सय १० रुपैयाँ किलोको मस्यौरा दुई सय र ८६ रुपैयाँ प्रतिकिलोको चिनी एक सय पुर्‍याइएको छ । 

तेलको मूल्य पनि बढेको छ । तीन महिनाअघि तीन सय रुपैयाँ प्रतिलिटर रहेको धारा तोरीको तेल अहिले तीन सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, दुई सय ३० रुपैयाँ लिटरको भटमासको तेल दुई सय ६०, सनफ्लावर तेल दुई सय ४० रुपैयाँबाट बढेर दुई सय ६० र तोरीको तेल दुई सय ३० बाट दुई सय ६० रुपैयाँ लिटर पुगेको छ । त्यस्तै, खुर्सानी पाउडर ती सय २० रुपैयाँबाट चार सय ५० पुगेको छ । 

संघ अध्यक्ष मानन्धरले तत्काल मूल्य ओरालो लाग्ने कुनै संकेत नदेखिएको बताए । ‘धेरै खाद्यवस्तुको मूल्य अस्वाभाविक रूपमा बढेर बसेको छ । यसको मूल्य तत्कालै घट्ने पनि देखिँदैन,’ उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले अधिकांश वस्तुको सेवा लागत बढेकाले मूल्यवृद्धि भएको बताए । ‘बजारको एउटा प्रणाली हुन्छ । त्यसले खर्च, कुल लागत र मुनाफा जोडेर वस्तुको उपभोक्ता मूल्य निर्धारण हुन्छ । मुनाफा कतिसम्म लिन पाउने भनेर कानुनले तोकेको छ । त्यसमा तलमाथि भए हामी हेर्छौँ । तर, अहिले अधिकांश वस्तु तथा सेवाको लागत नै बढेको छ,’ उनले भने, ‘वाणिज्य विभाग वा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लागतमा कानुनबमोजिमको मुनाफाबाहेक अरू जोडिएको छ कि छैन भनेर हेर्ने हो । यसरी हेर्दा कहीँकतै अस्वाभाविक देखियो भने कानुनअनुसार चासो राख्छौंँ, तर लागत नै बढी पर्न गएको छ भने सस्तो बनाएर वस्तु तथा सेवा बिक्री गर भन्न हामी सक्दैनौँ।’

तीन महिनामा छोइनसक्नु भयो तरकारीको भाउ : २५ रुपैयाँ किलोको करेला र ३०–३० रुपैयाँको भिन्डी तथा बोडी १२० रुपैयाँ पुग्यो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ भदौमा २५ रुपैयाँ किलो रहेको करेला ४ मंसिरमा झन्डै पाँचगुणा बढेर एक सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । हजार रुपैयाँ प्रतिकिलो रहेको कुरिलो तीन महिनापछि तीन हजार रुपैयाँ पुगेको छ । 

१ भदौमा ३० रुपैयाँ प्रतिकिलो रहेको घिरौला शनिबार ९० रुपैयाँ पुगेको छ । तीन महिनाअघि ३०–३० रुपैयाँ किलोमा बिक्री भइरहेको बोडी र भिन्डी अहिले एक सय २० रुपैयाँ पुगेको छ । त्यस्तै, ४० रुपैयाँ प्रतिकिलोको घिउसिमी एक सय ४० रुपैयाँ पुर्‍याइएको छ ।

गोलभेँडाका मूल्य अस्वाभाविक रूपमा अकासिएको छ । तीन महिनाअघि २५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय गोलभेँडा अहिले ९५ रुपैयाँ, टनेलको गोलभेँडा २८ रुपैयाँबाट बढेर एक सय पाँच रुपैयाँ र ठूलो गोलभेँडा ७० रुपैयाँबाट एक सय ३० रुपैयाँ प्रतिकिलो पुगेको छ । कालिमाटी तरकारी बजारका अनुसार तीन महिनाअघि ३० रुपैयाँ प्रतिकिलो रहेको चिचिन्डो ६०, लामो भेन्टा २५ रुपैयाँबाट ७०, ८० रुपैयाँ किलोको भेडेखुर्सानी एक सय २०, एक सय ६० रुपैयाँ किलोको सुकेको लसुन एक सय ९०, प्याज ४८ रुपैयाँबाट ५५ रुपैयाँ प्रतिकिलो र ७० रुपैयाँ किलोको परबल ८० रुपैयाँ पुगेको छ ।

सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि : हवाई भाडा एक महिनामा दुईपटक गरेर ६६० रुपैयाँसम्म बढाइयो

गत साउनबाट लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडादर २८ प्रतिशतले बढाइएको छ । जसकारण छोेटो दूरीमा यात्रा गर्ने यात्रुले पनि कम्तीमा २० रुपैयाँ तिर्नुपरिरहेको छ । यसअघिको भाडादरमा यात्रुले कम्तीमा १५ रुपैयाँ तिर्दा पुग्न थियो । यातायात व्यवस्था विभागले तय गरेको रुटअनुसार सबैभन्दा लामो दूरी (काठमाडौं–धनगढी) ८ सय ९९ किलोमिटरको भाडादर चार सय ७७ रुपैयाँ बढेर दुई हजार तीन सय ५० रुपैयाँ कायम गरिएको छ । तर, व्यवसायीले निर्धारितभन्दा बढी भाडा असुल्दै आएका छन् ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आपसी छलफलपछि सार्वजनिक सवारीसाधनको भाडादर बढेको हो । २९ असार ०७८ बाट लागू भएको भाडादरअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २६ प्रतिशत भाडादर वृद्धि गरिएको छ । मालबाहक ट्रकको ढुवानी भाडादर वृद्धि गर्दा सम्पूर्ण बस्तुको खरिद मूल्य नै वृद्धि भएको छ । त्यस्तै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै वायुसेवा सञ्चालक संघले कात्तिकमा मात्रै दुईपटक गरेर साबिकको भन्दा ६ सय ६० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । पछिल्लोपटक २८ मंसिरदेखि बढाइएको भाडादरमा अधिकतम दुई सय २० रुपैयाँसम्म वृद्धि गरिएको छ । त्यसअघि १६ कात्तिकदेखि लागू हुने गरी साबिकको तुलनामा चार सय ४० रुपैयाँसम्म हवाई भाडा वृद्धि गरिएको थियो ।

एलपी ग्यासमा प्रतिसिलिन्डर १२५ रुपैयाँ बढाइयो

पेट्रोलियममा एक वर्षदेखि निरन्तर मूल्यवृद्धि
खाना पकाउने एलपी ग्यासको मूल्य तीन महिनामा प्रतिसिलिन्डर एक सय २५ रुपैयाँ बढाइएको छ । ७ भदौमा एक हजार चार सय ५० रुपैयाँ सिलिन्डर रहेको ग्यास २४ कात्तिकमा एक हजार पाँच सय ७५ पुर्‍याइएको थियो । त्यस्तै, आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पनि डेढ वर्षयता निरन्तर बढाइरहेको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ३६, डिजेल र मट्टीतेल समान एक सय १९ तथा आन्तरिक हवाई इन्धन एक सय एक रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै बाह्य हवाई इन्धन आठ सय ९५ डलर प्रतिकिलोलिटर छ ।

पछिल्ला तीन महिनामा मात्रै तीनपटक मूल्यवृद्धि भई पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर आठ–आठ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन १७ रुपैयाँ प्रतिलिटर महँगिएको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीले भर्ने हवाई इन्धनको भाउ एक सय ४१ डलर प्रतिकिलोलिटर बढेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र बजारलाई नै असर गरेको छ । आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेका कारण नेपाली बजारमा बाध्य भएर बढाइएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा समायोजन गरिएको हो । यसलाई आमउपभोक्ताले बुझिदिनुपर्छ,’ उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई भन्छन्–लागतभन्दा सस्तोमा बेच भन्न सक्दैनौँ
बजारको एउटा प्रणाली हुन्छ । त्यसले खर्च, कुल लागत र मुनाफा जोडेर वस्तुको उपभोक्ता मूल्य निर्धारण हुन्छ । मुनाफा कतिसम्म लिन पाउने भनेर कानुनले तोकेको छ । त्यसमा तलमाथि भए हामी हेर्छौँ ।

तर, अहिले अधिकांश वस्तु तथा सेवाको लागत नै बढेको छ । वाणिज्य विभाग वा वाणिज्य तथा आपूर्ति मन्त्रालयले लागतमा कानुनबमोजिमको मुनाफाबाहेक अरू जोडिएको छ कि छैन भनेर हेर्ने हो । यसरी हेर्दा कहीँकतै अस्वाभाविक देखियो भने कानुनअनुसार चासो राख्छौंँ, तर लागत नै बढी पर्न गएको छ भने सस्तो बनाएर वस्तु तथा सेवा बिक्री गर भन्न हामी सक्दैनौँ ।

ad
ad