मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ मङ्सिर ४ शनिबार १६:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फोहोरबाट मोहर कमाउँदै युवाहरू 

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ मङ्सिर ४ शनिबार १६:०७:००

रामेछाप सदरमुकाम मन्थली बजारबाट दैनिक रूपमा निस्कने फोहोरले बजार नै प्रदूषित भइरहेका वेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले सातजना युवाहरू मिलेर फोहोर कागज संकलन गरी प्रशोधित गरेर आम्दानी गर्न थालेका छन्।

सातजना युवाहरूले जनही १० लाखको दरले रकम संकलन गरेर ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेड नामको उद्योग दर्ता गरी उक्त उद्योगमा दर्जनाैँ युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । बजारबाट निस्कने फोहोरले बजार दैनिक रूपमा कुरूप बन्दै गएपछि उक्त फोहोरजन्य कागज, कार्टुन, किताब, कापी र पत्रिकालगायतका कागजन्य फोहोर संकलन गरी प्रशोधन गरेर अन्डा राख्ने क्रेट निर्माण गरी उनीहरूले मनग्गे आम्दानी गरेका छन् । 

दैनिक रूपमा निस्कने फोहोरलाई कसरी व्यस्थापन गर्ने भन्ने विषयमा स्थानीय सरकारले कुनै पहल नगर्दा समस्या झेल्दै आएका मन्थलीका व्यवसायीहरूले त्यतिकै फाल्ने फोहोर संकलन गरेर पैसा कमाउन थालेको ग्रिन हाइलाइट नेपाल प्राइभेट लिमिटेडका सञ्चालक जयराम मानन्धरले बताए । फोहोरको उचित व्यवस्थापन अभावमा वातावरण प्रदूषण भइरहेको भन्दै युवाहरूले फोहोरका रूपमा फालिएका कागज, किताब, कापी, पत्रिका, कार्टुनलगायतलाई प्रशोधन गरी क्रेट बनाउने गरेका छन् । कम्पनीले कागजको गुणस्तर हेरी बजार क्षेत्रका व्यवसायी, कवाडी सामाग्री संकलकहरू र फोहोर उठाउने ठेकेदारसँग प्रतिकिलो ८ रुपैयाँसम्ममा खरिद गर्ने गरिएको उद्योग सञ्चालक विश्वास श्रेष्ठले बताए । 

उनले भने, ‘बजारमा दैनिक रूपमा निस्कने फोहोरले बजार दुुर्गन्धित हुन थालेपछि हामी केही युवाहरू मिलेर यसलाई परिमार्जन गरी केके वस्तु निर्माण गर्न सकिन्छ भनेर सल्लाह गर्‍याैँ। अन्य जिल्लामा फोहोरबाट के–कस्ता सामाग्री उत्पादन हुँदोरहेछ भन्दै चितवन पनि गयौँ, बजारमा फालिएको फोहोर कागज संकलनबाट प्रशोधन गरी कार्टुन र अन्डा राख्ने क्रेट उत्पादन गरेको देखेपछि हामीले पनि यो व्यवसाय आफ्नै जिल्लामा सञ्चालन गरेका हौँ ।’

उद्योग सञ्चालन भएपछि रामेछापबाट निस्कने कागजजन्य फोहोरले १० प्रतिशत मात्रै धान्ने भएकाले उद्योग सञ्चालकहरू छिमेकी जिल्ला दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूबाट कागजजन्य फोहोर खरिद गरेर ल्याउने तयारीमा छन्। त्यस्तै, उद्योगबाट अहिले दैनिक तीन हजार थान क्रेट उत्पादन हुने गरेको छ। उत्पादित क्रेट जिल्लामा खोलिएका कुखुरा फार्म र छिमेकी जिल्लाहरू तथा बढी कुखुरा पालिने जिल्लाहरू चितवन, काठमाण्डौं र तराईका विभिन्न जिल्लामा बिक्री–वितरण गर्ने तयारी सञ्चालकहरूले गरेका छन् । अहिले उत्पादन गरेको क्रेट प्रतिगोटा पाँचदेखि सात रुपैयाँसम्ममा बिक्री–वितरण हुँदै आएको छ। 

गाउँमै उद्योग सञ्चालन भएपछि सदरमुकामआसपासका युवाहरूले रोजगारीसमेत पाएका छन् । गाउँमै खोलिएको उद्योगमा रोजगारी पाउँदा आफूलाई पैसा कमाउन बाहिर जानुपर्ने बाध्यता हटेको मन्थली नगरपालिका वडा नम्बर ४ सालुका हेमराज काफ्लेले बताए । 

उनले भने, ‘पहिला गाउँमा रोजगारी पाउन गाह्रो थियो। रोजगारीकै लागि केही वर्ष मलेसिया बसेर बिदामा घर फर्किए । तर, अहिले गाउँमै उद्योग सञ्चालन भएपछि विदेशमा कमाउने पैसा गाउँमै कमाउन थालेपछि यहीँ बसेँ।’