मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Friday, 14 August, 2026
२o७८ मङ्सिर १ बुधबार १४:१८:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पुसुडाँडाको चौतारीमा झल्किएको धार्चे 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार १४:१८:oo

उत्तरी गोरखाको धार्चे गाउँपालिका पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना भएको क्षेत्र हो। गुरुङ जातिको बाहुल्य रहेको धार्चे मानवनिर्मित विभिन्न पार्क, परम्परागत घरहरूसँगै प्राकृतिक सौन्दर्यताले पनि भरिपूर्ण छ। आन्तरिक तथा बाह्य पर्यटकलाई भुलाउने तिनै मनमोहक पर्यटकीय गन्तव्य र स्थानीय जनजीवन झल्काउने गरी स्थानीय चित्रकार दुर्गा गुरुङले एउटै चौतारीमा सबै अटाउने गरी चौतारी रंग्याएका छन्। 

बारपाकबाट माम्चे डाँडा हुँदै लाप्राकको एकीकृत नमुना बस्ती पुग्नु अगावै पुसुडाँडाको चौतारीमा उक्त आकृति सजिलै देख्न सकिन्छ। चौतारीको माथिल्लो सिढीमा एकै ठाउँमा एकै प्रकारका पाँच सय ७३ घर भएको लाप्राक एकीकृत नमुना बस्ती, भूकम्पको केन्द्र बिन्दु (इपिसेन्टर), करिब तीन हजार मिटर उचाइमा रहेको धार्चे हिल र गण्डकी प्रदेशको पहिलो सगरमाथा आरोही इमानसिं पार्क देख्न सकिन्छ। पछिल्लो समयमा प्रसिद्धि कमाएको रुपीनाला पदमार्ग, गोठालो पार्क, नौली खोला झरना र क्यानोनिङ स्थल, धार्चे चिंगारलगायत पर्यटकीय स्थलहरू चित्रमा देख्न सकिन्छ।

 

 

त्यस्तै, ०७२ सालमा गएको भूकम्पको वेला चुङकाङ डाँडाबाट निस्किएको धुँवा, लेकबाट बेसी झर्दै गरेको एक हुलसहितको भेडीगोठ, स्थानीयहरू चौतारीमा भारी बिसाइरहेको चित्रमा देख्न सकिन्छ। भिरालो जमिनमा मान्छेले हलो तान्दै गरेको र हिमालको काखमा स्थानीय महिलाहरू दाउराको भारी बोक्दै गाउँतिर फर्किरहेको दृश्य पनि चित्रमा छ। पुसुडाँडाबाट देखिने बौद्ध, गणेश, श्रृंगी हिमालका साथै चैत र वैशाखको समयमा लालीगुराँस रातै हुने गरी ढपक्कै ढाकिएको डाँडाहरू गुरुङले पाँच दिन लगाएर चित्रमा उतारेका छन्। 

 

 

लाप्राक घुम्न आउने पर्यटकहरूलाई मौसमले साथ नदिएमा वा बादलले ढाकेको वेला चौतारीमा रहेको आकृतिबाट वरिपरि रहेका पर्यटकीय गन्तव्य हेर्न सकिने चित्रकार गुरुङले बताए। 

 

 

वडाको बजेटबाट चौतारी निर्माण गरिएको हो। चित्रमार्फत धार्चेको पर्यटन प्रवर्द्धनमा धेरै सहयोग पुग्ने धार्चे गाउँपालिका– ४ लाप्राकका वडाध्यक्ष राज गुरुङको धारणा छ। धार्चेका पर्यटकीय गन्तव्य र पुसुडाँडाबाट देखिने वरिपरिका सबै प्राकृतिक सौन्दर्यलाई चित्रमा उतारिएको उनले बताए। उक्त चौतारीमा अहिले स्थानीय तथा पर्यटकहरूका साथै  फोटो खिच्ने र टिकटक बनाउनेहरूको भिड लाग्ने गरेको छ।

पुसुडाँडाको चौतारीलाई स्थानीयहरूले इपिसेन्टर चौतारीकाे नामले समेत चिन्ने गरेका छन्।